स्थानीय तहमा स्वतन्त्र रुपमा उदाएका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ नगरबासीलाई सहज ढंगले पानी खुवाउन नसक्दा रित्तो गाग्री बोकेर काठमाडौं आएका छन् । स्टण्ड र चटक गर्न माहिर मेयरसाम्पाङले घुमाउरो पारामा रित्तो गाग्री बोकेर सरकारमाथि व्यंग्य गरेका छन् । उनको यो शैलीलाई केहीले भने अपरिपक्वता र अव्यवहारिकताको रुपमा चित्रण गरेका छन् ।
स्पिकर बोकेर अभियन्ताका नाममा उदाएका हर्क साम्पाङ धरानको मेयर बने पश्चात एकाएक चर्चामा आए भने ढुंगा बोकेर झनै चर्चा कमाए । हाल उनी रित्तो गाग्री बोकेरप्रधानमन्त्रीसँग पानी माग्न भन्दै काठमाडौं आएर चर्चामा छन् । धरानदेखि पानी माग्न काठमाडौं आएका मेयर साम्पाङ मंगलबार सिंहदरबार पुगे । सिंहदरबार छिरेका उनले विभागीय खानेपानी मन्त्रीदेखि अर्थमन्त्रीसम्मलाई भेट गरे ।
तर, प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने उनको चाहना भने पूरा भएन । प्रधानमन्त्री ओलीसँग भेट्ने कार्यक्रम नै तय नभएको तथा व्यस्त सेड्युलका कारण मेयर साम्पाङले भेट्न नपाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मंगलबार प्रधानमन्त्रीको कार्यालयसमेत रहेको सिंहदरबारमा रित्तो गाग्रीसहित पुगेका साम्पाङको गाग्री भने प्रहरीले गेटमै खोसेको थियो ।
स्टण्ड र चर्चाका पर्यायी मेयर साम्पाङ केही महिना पहिले सिंहदरबारका विभिन्न अड्डा धाएर धरान फर्किएका थिए । उनलाई अघिल्लो सरकारका मन्त्रीहरुले खानेपानी सुविधाका लागिकेही आश्वासन दिएका थिए । जुन कार्यान्वयन नभए पछि उनी पुनः दोस्रो पटक काठमाडौं आएका हुन् । यसपटक उनले आफूले गर्दै आएको र जानेको स्टण्डलाई निरन्तरता दिँदै, रित्तो गाग्री बोकेर काठमाडौं आएका छन् । स्थानीय सरकारका प्रमुखसमेत रहेका साम्पाङ विधि र प्रक्रियाबाट काम नगरी चटक र स्टण्डबाट काम गर्न उद्यत देखिन्छन् ।
उनलेव्यंग्य र कटाक्ष गर्दै रित्तो गाग्री बोकेर सिंहदरबार आउँदा धेरैले चटक र चर्चाका रुपमा टिप्पणी गरेका छन् । राज्य नियम, पद्धति र प्रक्रियामा चल्छ भन्ने ज्ञान साढे दुई वर्षभन्दा बढीसमय उपमहानगरपालिका सञ्चालन गरेका मेयर साम्पाङलाई राम्रोसंग थाहा हुनु पर्ने हो । तर उनले चटककै भरमा सरकारलाई दबाब दिन खोजेको देखिन्छन् । स्वतन्त्र उम्मेदवार बनेर धरानको मेयरमा निर्वाचित भएकासाम्पाङ नगरबासीलाई राम्रोसंग खानेपानीको सुविधा दिन नसक्दा चौतर्फी दवाबमा छन् ।
बर्सौंदेखि मेलम्चीको सपना देखाएर काठमाडौंबासीलाई पटक पटक झुट बोलेको राजनीतिक नेतृत्वले धरानदेखि गाग्री बोकेर आएका मेयर साम्पाङलाई पानी भरेर पठाउँछ भन्नेमा शंशय छ ।श्रमदानमार्फत खानेपानी आयोजना बनाएर धरानबासीलाई पानी खुवाएको प्रचार गरेका मेयर साम्पाङ पानीकै विषयमा प्रधानमन्त्री ओलीसँग भेट्न चाहन्थे ।
मंगलबार करिब दुई घण्टा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कुरेर बस्दा पनि उनले प्रधानमन्त्री ओलीसँग भेट्न पाएनन् ।प्रधानमन्त्रीसँग भेट नभएपछि साम्पाङ निराश भएर फर्किए। उनी प्रधानमन्त्री ओली कार्यालयभित्रै रहेको समयमा पुगे पनि ओलीले भेट दिएनन् । प्रधानमन्त्रीले साम्पाङसँग भेट्न नचाहनुको पछाडि विशेष के कारण थियो त्यो भने खुल्न सकेको छैन ।
यद्यपि, पुराना राजनीतिक दल र नेताप्रति खरो टिप्पणी गर्ने साम्पाङको प्रवृत्तिका कारण प्रधानमन्त्री ओलीले उनलाई इग्नोर गरेको हुन सक्ने विश्लेषण छ । मेयर साम्पाङ मंगलबार अर्थ मन्त्रालय र खानेपानी मन्त्रालयमासमेत पुगेका थिए। खानेपानी मन्त्री प्रदीप यादवसँग उनले भेट पाए । मन्त्री यादवले धरानको खानेपानी समस्या चालु आर्थिक वर्षभित्रै समाधान हुने प्रतिबद्धता जनाए । साम्पाङसँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री यादवले धरानको खानेपानीको समस्या समाधान गर्न खानेपानी मन्त्रालय पहिलादेखि नै लागिरहेको बताए । जग्गा अधिग्रहणको काम बाँकी रहेकाले उपमहानगरपालिकाले जग्गा व्यवस्थापन गरेसँगै छिटै टेण्डर आह्वान हुने उनको भनाइ छ ।
मेयर साम्पाङले मंगलबार अर्थमन्त्री विष्णु पौडेलसँग पनि भेट गरेका छन् । उनले अर्थमन्त्रीसंग धरानलाई बेवास्ता गरिएको भन्दै गुनासोसमेत गरे।मंगलबार विशेष गरेर प्रधानमन्त्रीलाई भेट्ने भनेर सिंहदरबार पुगेका मेयर साम्पाङको दम्भ र अहंकारको घैटो फुटेको छ । ७५३ मध्ये एउटा स्थानीय तहको मेयरले बिना सूचना र तयारी देशको कार्यकारी प्रमुखलाई भेट्न खोज्नु साम्पाङको आलोकाँचोपन प्रष्ट झल्किन्छ । साम्पाङले समन्वय नगरी रित्तो गाग्री बोकेर आएकोमा प्रधानमन्त्री पनि रुष्ट बनेका देखिन्छन् । वर्तमान प्रधानमन्त्री ओलीनयाँ र स्वतन्त्र नेताभनेपछि उति सकारात्मक देखिँदैनन् भने साम्पाङको चटकले झन असन्तुष्टबनेको देखिन्छन् । स्थानीय सरकार प्रमुख यसरी चटक गर्दै बजेट माग्न आउनु नै अपरिपक्वता रहेको जानकारहरु बताउँछन् ।
स्थानीय तहको कार्यकारी प्रमुख नै बजेटका लागि केन्द्र धाउनु पर्ने अवस्थाले मुलुकको संघीयतामाथि समेत प्रश्न उठाएको छ । यसले देशमा तीन तहको सरकार नाममा मात्र सीमित रहेको र संघीयतामाथि नै भद्दा मजाक भइरहेको पुष्टिसमेत गर्छ । स्थानीय तहले ठुला परियोजनाका लागि केन्द्रकै मुख ताक्नु पर्ने अवस्थालेसमेत संघीयतालाई गिज्याएको छ । स्वतन्त्र रुपमा निर्वाचित मेयरसाम्पाङको यो काठमाडौं दौडले कति सार्थकता पाउँछ ? त्यो भने निकट भविष्यले निर्धारण गर्ने नै छ ।
प्रतिक्रिया