राजनीति

ओलीविरुद्ध भीम रावलको मिसन, पोल खोल्दै देश दौडाहा


नेकपा एमालका पूर्वउपाध्यक्ष डा. भीम रावल गृह जिल्ला अछाममा छन् । एमालेबाट निष्कासित भएपछि पहिलो पटक गृह जिल्ला पुगेका रावल एमाले नेतृत्वको विरोध गर्दै एमाले नेता कार्यकर्ताकै बलमा आफू स्थापित हुने दौडमा लागेका छन् । आफ्नो सिंगो समूह बोकेर पार्टी खोलेका माधवकुमार नेपालसमेत अस्तित्व संकटको संघर्षमा रहेका बेला सुदूरपश्चिममा रावलको तामझामले राजनीतिमा पुनर्उदय कि एमालेलाई ड्यामेज भन्ने बहस सुरु भएको छ ।

प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध बोलेकै कारण साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित एमालेका पूर्वउपाध्यक्ष डाक्टर भीम रावल अहिले देश दौडाहामा छन् । पार्टीबाट अप्रत्याशित रुपमा निकालिएपछि केन्द्रमा एमाले नेताहरुसँग देखभेट वा दर्शन पाउने कुरै भएन । पार्टीबाट निष्कासित भएलगत्तै पूर्वी नेपाल पुगेका रावलले एमाले नेता कार्यकर्ताको नाकमुखसमेत देख्न पाएनन् । विराटनगर ओर्लिदा पूर्व एमाले अर्थात माधव नेपालका पार्टीका नेता कार्यकर्ता र राजावादीहरुको स्वागतमा चित्त बुझाए ।

पछिल्लो केहि दिन यता उनी गृह जिल्ला अछाममा छन् । गृहप्रदेश सुदूरपश्चिम जाँदा प्लेनमा एमालेकै नेता कर्णबहादुर थापासँगै यात्रा गरेका रावलले धनगढी ओर्लिनासाथ एमालेकै जबरजस्त समर्थन पाए । बरु रावलसँगै जहाजमा देखिएका थापाले आफूहरु सँगैको सिटमा पर्नु संयोग भएको उल्लेख गर्दै भ्रमको खेती नगर्न अपिल नै गर्नु प¥यो ।

एमाले सुदूरपश्चिम प्रदेश कमिटीले रावलमाथि कारबाही गर्दा सुदूरपश्चिममा एमाले कमजोर बन्ने निष्कर्ष निकालेको केही दिनभित्रै देखिएको यो दृष्य असामान्य होइन । विमानस्थलमै भव्य स्वागत थापेर हौसिएका रावल अहिले गृह जिल्ला अछाममा अध्यक्ष ओली र एमाले नेतृत्व पंक्तिको विरोध गर्न व्यस्त छन् । अध्यक्ष ओली र शंकर पोखरेल लक्षित गर्दै ओलीको निरंकुशतालाई गाड्न झापा र दाङमा खाल्डो तयार भएको उनले टिप्पणी गर्न भ्याएका छन् ।

मातृभूमि जागरण अभियान बोकेर जिल्ला पुगेका रावलको समर्थन र ओलीविरुद्धको नाराबाजी मात्र चलेको छैन कि एमालेकै नेता कार्यकर्ताहरु धमाधम पार्टी परित्याग गर्दैै रावलको समर्थनमा देखिन थालेका छन् । जहाँ जहाँ रावल पुगेका छन् त्यहाँ ओलीविरुद्ध नाराबाजी हुने गरेको छ । रावलको किल्ला अछाममा मात्र नभएर स्थानीय तहमै रावल बोक्ने र ओलीलाई दुत्कार्ने गतिविधि सुरु भएको छ । सोमबार मात्र रावलको अभियानमा साथ दिनेभन्दै एमाले केन्द्रीय पर्यटन विभागका रमेशबहादुर कुवरसहित सुदूरपश्चिम प्रदेश कमिटीका ५९ जनाले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

एक विज्ञप्ति सार्वजनिक गर्दै उनीहरुले अध्यक्ष ओलीको स्वेच्छाचारी र निरंकुश प्रवृत्तिका कारण एमाले परित्याग गरेर रावलको अभियानलाई समर्थन गर्ने निर्णय लिएको उल्लेख गरेका छन् । ओली लक्षित लेखराज भट्टको अडियो प्रकरण सेलाउन नपाउँदै रावलसँगै गृह प्रदेश हानिएपछि अनेक टिकाटिप्पणीको खण्डन गर्न भ्याएका कर्णबहादुर थापा पनि ओलीविरुद्ध उभिएका छन् । ओली र सुदूरपश्चिमका एमाले नेताहरुबीचको टकराव र दूरी थप बढ्ने पक्का छ । नेताहरुसँगको दूरी बढ्नु सुदूरपश्चिममा एमाले झन कमजोर हुनु पनि हो । रावलसँग दुस्मनी मोल्दा त्यसको मूल्य सिंगो एमालेले चुकाउनु पर्ने अवस्था आएको छ । रावलकै कारण सुदूरपश्चिममा एमालेको गढ भत्किन सक्ने विश्लेषण भइरहेको छ ।

सुदूरपश्चिममा रावलको सक्रियता एमालेका लागि शुभ संकेत पक्कै होइन । जति जति रावल सक्रिय हुन्छन् त्यसको क्षति एमालेले व्यहोर्नु पर्ने छ । रावल अहिले भात भान्छा नै एमालेको खाएर आफ्नो एजेन्डा स्थापित गर्न तम्सिएका छन् । वैकिल्पक धारको नेतृत्व गर्ने ध्याउन्नसहित उनी हौसिएका छन् । तर उनको योजना कति सफल हुन्छ ? अहिले नै यसै भन्न सकिने अवस्था भने छैन । आफ्नो सिंगो समूह नै बोकेर पार्टी खोलेका माधवकुमार नेपालसमेत राष्ट्रिय राजनीतिमा अझै अस्तित्व रक्षाको संकटमा रहेको अवस्थामा पार्टीबाट एक्लै निकालिएका रावलले पुरानो विरासत फर्काउन सक्छन् वा सक्दैनन् ? चुनौतीको विषय हो ।

पार्टी अध्यक्षसँगको असन्तुष्टि र नेतृत्वको आलोचनाको श्रृंखला चलाएका रावल एमालेबाट निकालिएपछि पछिल्लो समय आफ्नो शक्ति जुटाउन सक्रिय हुँदै गर्दा ओलीको तेजवधमा पनि उत्तिकै जुटेका छन् । एक्लो प्रयासमा नयाँ शक्तिलाई स्थापित गर्नु रावलका लागि पक्कै पनि सहज छैन । तथापि रावलको एकपछि अर्को कदम चासोपूर्ण बन्नु स्वभाविक हो भने सुदूरपश्चिममा एमालेको मात्रै नभएर रावलको भविष्यमाथिसमेत बहस सुरु भएको छ ।