अन्तर्राष्ट्रिय

ट्रम्पको स्वर्णयुग सुरु, शपथ नै विवादमा, एलन मस्कदेखि बाइबलसम्म


संयुक्त राज्य अमेरिकाको ४७ औं राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्पले शपथ ग्रहण गरेसँगै अमेरिका ट्रम्प युगमा प्रवेश गरेको छ । ट्रम्पले दोहो¥याएर ह्वाइट हाउस सम्हाल्दै गर्दा नीति उल्ट्याउने कार्यकारी आदेशमा हस्ताक्षरमात्रै गरेका छैनन् कि शपथ ग्रहणका क्रममा परम्परा नै तोडेका छन् ।

कुनै पनि अमेरिकी राष्ट्रपतिका लागि सरकारी नीतिमा आफ्नो छाप छोड्न कार्यकारी आदेश एउटा महत्वपूर्ण अस्त्र मानिन्छ । ह्वाइट हाउसमा आफ्नो दोस्रो कार्यकाल सुरु गरेका राष्ट्रपति डोनाल्ड ट्रम्पले यसको भरपूर सदुपयोग गरे । राष्ट्रपतिले सङ्घीय सरकारलाई जारी गरेको लिखित आदेश ‘कार्यकारी आदेश’ हो । यी आदेशहरू नीति उल्ट्याउनेदेखि साधारण सरकारी कामसम्म हुन सक्छन् । जसलाई तल्लो सदन कांग्रेसको स्वीकृतिको आवश्यकता पर्दैन । राष्ट्रपति बनेयता उनले लगभग दुई सय कार्यकारी आदेशमा हस्ताक्षर गरिसकेका छन् ।

यसमा कानुनी रूपमा बाध्यकारी आदेशहरू र सामान्यतः बाध्यकारी नभएका केही घोषणाहरू समावेश छन् । आफ्नो प्रारम्भिक कार्यकारी आदेशमा ट्रम्पले आप्रवासन, टिकटक र घरबाट काम गर्ने सम्बन्धमा प्रमुख निर्णयहरू लिएका छन् । चिनियाँ स्वामित्वमा रहेको टिकटकको सञ्चालन ७५ दिन बढाउने कार्यकारी आदेशमा उनले हस्ताक्षर गरेका हुन् । यो अवधिभित्र ट्रम्पले टिकटकलाई प्रतिबन्धबाट बचाउने र राष्ट्रिय सुरक्षालाई पनि सुरक्षित गर्ने प्रस्ताव अगाडि बढाउने योजना बनाएका छन् ।

यसका साथै ट्रम्पले अन्य देशको तुलनामा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)मा आबद्ध हुँदा अमेरिकाले अनुचित मूल्य चुकाइरहेको भन्दै डब्ल्यूएचओबाट अलग भएको घोषणा गरेका छन् । कोरोना लगायतका महामारीमा असफल भएको दाबी गरेका उनले अमेरिका पेरिस जलवायु सम्झौताबाट पनि बाहिरिएको जनाएका छन् । उनले अमेरिकामा अवैध रुपमा आप्रवासी प्रवेशलाई रोक्न मेक्सिकोसँग जोडिएको सीमा क्षेत्रमा राष्ट्रिय आपतकाल घोषणा गर्ने बताए ।

ट्रम्पले सार्वजनिक र निजी जीवनका हरेक पक्षमा जाति र लिङ्गलाई समावेश गर्ने हालको नीति अन्त्य गर्ने भन्दै अब केबल महिला र पुरुष गरी दुई मात्र लिङ्ग हुने नीति लिएका छन् । राष्ट्रपति ट्रम्पले देशमा जन्मेकै आधारमा नागरिकता दिने व्यवस्थासमेत अन्त्य गर्ने कदम चालेका छन् । ट्रम्पले अघिल्लो राष्ट्रपति जो बाइडेनको पालाका ७८ कार्यकारी आदेशहरु रद्ध गरेका छन् । अमेरिकी जनताबारेमा मात्रै सोच्ने बताएका उनले नयाँ स्वर्णिम युगको सुरुवात भएको बताए । ट्रम्पले कार्यकारी आदेशमा हस्ताक्षर गरेका कलमहरु समर्थकहरुको भिडमा फ्याँकेका थिए ।

अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो दोस्रो पटकको ह्वाइट हाउस प्रवेशका क्रममा शताब्दीऔंदेखि चल्दै आएको परम्परालाई पनि तोडेका छन् । राष्ट्रपति भइसकेपछि बाइबलमा हात राखेर शपथ खाने परम्परालाई ट्रम्पले तोडेका हुन् । ट्रम्पले शपथ ग्रहण गर्ने बेलामा एक हातमाथि उठाउँदा पत्नी मेलानिया दुई हात बाँधेर उभिएकी थिइन् । यसअघि सन् १७८९ मा जर्ज वाशिङ्टनले सुरू गरेको यो परम्परालाई तोड्दै अमेरिकाका छैटौं राष्ट्रपति जोन क्विन्सी एडम्सले बाइबलको सट्टा संविधानमा हात राखेर शपथ लिएका थिए । त्यस्तै, थियोडोर रुजबेल्टले कुनै पनि पुस्तकमा हात नराखी राष्ट्रपतिको शपथ लिएका थिए । अमेरिकी संविधानमा राष्ट्रपतिले शपथ लिनु पर्ने विषय मात्र उल्लेख छ । बाइबलमाथि वा अरु कुनै पुस्तकमाथि हात राख्नुपर्ने भन्ने संवैधानिक व्यवस्था छैन ।