काठमाडौं —भारतीय सुरक्षा बलको सर्च अप्रेशनमा १४ माओवादी विद्रोहीको मृत्यु भएको छ । मारिनेमा माओवादीका शीर्षमध्येका एक जयराम वा चलपति भनिने कमान्डरसमेत रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । भारतीय गृहमन्त्री अमित शाहले सामाजिक सञ्जालमार्फत यसलाई हालैका लडाईंहरूमध्ये सबैभन्दा ठूलो जित भएको प्रतिक्रिया दिएका छन् । विद्रोहीहरूलाई परास्त गर्न सन् २०२६ मार्चको समयसीमा तय गरेका शाहले ‘नक्सलवादले अन्तिम सास फेरिरहेको’ बताएका छन् । भारतीय गृह मन्त्रालयले मारिएका कमान्डर जयराम वा चलपति भनेर चिनिने नेता भएको र उनको टाउकोमा एक लाख १५ हजार डलरको इनाम रहेको जनाएको छ । नयाँदिल्लीले दशकौँ लामो द्वन्द्व अन्त्य गर्ने प्रयासलाई तीव्र पारेको छ । भारतको छत्तीसगढ राज्यको जङ्गलमा रहेका छापामारहरूको गढमा १६ जनवरीमा पनि १२ जना माओवादी मारिएका थिए ।
भारतको स्रोत सम्पन्न मध्य क्षेत्रमा सीमान्तकृत जनताको अधिकारका लागि लड्दै आएका विद्रोहीहरूले गरेको दशकौं लामो विद्रोहमा १० हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । सरकारी तथ्याङ्कअनुसार सन् २०२४ मा करिब २८७ विद्रोही मारिएका थिए ।
प्रतिक्रिया