राजनीति

ओली–देउवा मिलनको नाटक, भित्रभित्रै सत्ता ढाल्ने खेल


संविधान संशोधन, राजनीतिक स्थायित्व र अर्थतन्त्र सुधारको मुख्य उद्देश्यसहित गठन भएको केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले प्रभावकारी रुपमा काम गर्न नसकेको भन्दै जनगुनासो बढ्दै गएको छ । गत असार १५ गते भएको बालकोट सहमति अनुसार बनेको कांग्रेस एमाले सत्ता समीकरणभित्र पछिल्लो समय भने खटपट सुरु भएको छ । दुई दलका शीर्ष नेताबीचको संवादहीनताको अवस्थालेसमेत विभिन्न प्रश्न उब्जाएको छ ।

ओलीको अहंकार, देउवाको दम्भ । यसरी कहिलेसम्म सरकार चल्छ ?सम्झौता र सौदाबाजीमा बनेको वर्तमान सत्ता गठबन्धनको आयुलाई लिएर विभिन्न प्रश्नका साथै विश्लेषण हुन थालेको छ । बाहिर हेर्दा सहमति र सहकार्यमै सरकार चले जस्तो देखिए पनि भित्री रुपमा भने सरकार कमजोरबन्दै गएको टिप्पणी भइरहेको छ ।

दुई ठुला दल मिलेर बनेको वर्तमान सत्ता समीकरण ६ महिनामै ढलपलको अवस्थामा पुगेको छ । सत्ता घटक दलका शीर्ष नेताहरु प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रस सभापति शेरबहादुर देउवाबीचको भेटसमेत पातलिएको छ । देउवा–ओली गत मंसिरदेखि भेटघाट र छलफलमा जुटेका देखिँदैनन् । जसले दुई नेताबीच संवादहीनताको अवस्था देखिएको छ ।

दुई नेताबीचको संवादहीनताको प्रभाव सरकारको कामसमेत देखिन थालेको छ । सरकारमा रहेका मन्त्रीहरुले राम्रोसँग कार्य सम्पादन नगरेको भन्दै ओली आफ्नै मन्त्रीहरुसँग रुष्ट छन्। केही मन्त्रीलाई हेरफेर गर्न ओली उत्सुक देखिन्थे तर प्रमुख सत्ता साझेदार दल कांग्रेस सभापति देउवासँग छलफल नहुँदा यो विषय अलपत्र अवस्थामा छ ।

सरकारको काम बारबाहीलाई प्रभावकारी बनाउने कार्यसम्पादन समितिका साथै सरकार सञ्चालन गर्न बनेको संयन्त्र पनि निष्क्रिय रशिथिल बनेको देखिन्छ । सरकार सञ्चालनका लागि बनाइएका संयन्त्रले चुस्त दुरुस्त रुपमा काम नगर्दा सिंगो सरकारकैकामको नतिजामा प्रभाव परेको छ । यसका साथै संसद अधिवेशन आह्वानमा प्रधानमन्त्रीले देखाएको उदासीनता र अध्यादेशको बाटोमा सरकार हिँड्न खोजेपछि गठबन्धनभित्रै दरार उत्पन्न भएको छ । अध्यादेश ल्याउँदा कांग्रेस सभापति देउवासँग छलफल नै नगरेको चर्चाबीच अध्यादेश पास गराउनकै लागि राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री ओली शीतलनिवास पुगेका थिए ।

गठबन्धनभित्र बढ्दो दूरीका बीच प्रधानमन्त्री ओली भने अहिलेको शक्तिशाली सरकार ढाल्ने आँट कसैसँग नरहेको भन्दै सरकार पूर्ण अवधि चल्ने बारम्बार दोहो¥याउने गरेका छन् ।

मुलुकको राजनीतिलाई स्थायित्व दिने, संविधान संशोधन गर्ने र खस्केको अर्थतन्त्रलाई सुधार गर्ने प्रतिबद्धतासहित गत असार १५ माबालकोटमा भएको सम्झौता अनुसार यो सरकार बनेको हो । तर जुन उद्देश्यका साथ सत्ता समीकरण बनेको हो, त्यसमा सरकार आफैँ चुक्दै गएको छ । संविधान संशोधनको सवालमा त प्रधानमन्त्री ओली स्वयम्ले २०८७ सालमा मात्रै सम्भव रहेको भनेर भाका नै सारिसकेका छन् । यसका साथै विभिन्न काण्डमा मुछिएका सत्ता निकट नेताहरुका कारण पनि सरकार आलोचित बन्दै आएको छ । सहकारी प्रकरणमा नाम जोडिएका सत्ता निकट नेताहरुलाई उन्मुक्ति दिएको सरकारमाथि विभिन्न काण्ड सामसुम बनाउन कांग्रेस एमाले समीकरण बनेको आरोप लाग्दै आएको छ ।

कांग्रेसले सरकार ढल्ने हल्लालाई गलत प्रमाणित गर्न आफ्नो पार्टीबाट सरकारमा सहभागीमन्त्रीहरुको बैठकडाकेर यही सरकार टिक्छ भन्ने बाहिरी सन्देश दिन खोजे पनितिनै मन्त्रीहरुले ओलीसँग काम गर्न कठिन भएको गुनासो गरेका छन् । जसले गठबन्धनभित्र खटपटको संकेत गर्दा कांग्रेस नेताहरु भने दुधको साक्षी बिरालो बनेका देखिन्छन् । आन्तरिक रुपमा किचलो भए पनि बाहिर भने केही नभएको जस्तो उनीहरुले देखाउने गरेका छन् ।

सरकार आफ्नै कारण घेराबन्दीमा पर्दै गइरहेको अवस्थामा हौसिएका प्रतिपक्षी दलहरुसमेत मोर्चा कस्न सक्रिय भएका छन् । विपक्षी सात दललाई जम्मा गरी चौरासी सिट बोकेर माओवादी केन्द्र सरकार ढाल्न उद्यत छ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल विपक्षी मोर्चाकस्न सक्रिय बनेका छन् । उनी जहाँ पुग्छन् त्यहीँ सरकार ढल्ने अभिव्यक्तिलाई बारम्बार जप्ने गरेका छन् ।

यसबीचमा आइतबार एमाले कांग्रेसले एकलौटी रुपमा सरकार चलाएको भन्दै सत्ता साझेदार मधेशवादी दलहरुको सिंहदरबारमा बैठक बस्यो । सत्तामै भएका साना दलहरुलाई समेत पेलेर जाने प्रधानमन्त्री ओलीको रणनीति र यसप्रति उनीहरुले देखाएको असन्तुष्टिले पनि सरकारको आयुमाथि प्रश्न उठाएको छ । भारतले वर्तमान ओली नेतृत्वको सरकारलाई रुचाएको देखिँदैन । सरकार बनेको ६ महिना पुगिसक्दासमेत ओलीलाई भारतबाट भ्रमणका लागि निम्तो आएको छैन । भ्रमणका लागि पटक पटक प्रयास गरेका ओलीको छिमेकसम्बन्धसमेत राम्रो बन्न नसक्दा सरकार संकटमा पर्दै गएको बुझ्न कठिन छैन । यसबीचमा देउवाको दूत बनेरकांग्रेस नेता प्रकाशशरण महत एकाएक दिल्ली पुग्नु र परराष्ट्रमन्त्री आरजु राणा देउवा बैंकक उड्नले पनि सत्ता समीकरणबारे शंशय पैदा गरेको छ ।