राजनीति

कांग्रेसमा भावी महामन्त्री बन्नेको दौड, गुट फेर्नेदेखि कार्यकर्ता फकाउनेसम्म


नेपाली कांग्रेसको महाधिवेशनको मिति टुंगो नलाग्दै महामन्त्री बन्नेहरूको लर्काे लागेको छ । यसअघि पनि उम्मेदवार भइसकेकादेखि पहिलोपटक केन्द्रीय सदस्य भएकाहरूसमेत राजनीतिक र गुटगत लाइन मिलाउँदै महामन्त्रीको दौडमा देखिएका छन् ।

२०८४ सालअघि नैै पार्टीको महाधिवेशन हुने वा नहुने अनिश्चितताकै बीच नेपाली कांग्रेसका केही नेताहरू सभापतिको दाबेदार बनेर देश दौडाहा गरिरहेका छन् । शेखर कोइराला, शशाङ्क कोइराला र गगन थापालाई १५ औं महाधिवेशनको सभापतिको दाबेदारकै रुपमा हेरिएको छ । तोकिएकै समयमा महाधिवेशन गराउनु पर्ने र गर्ने भन्दै माहोल बनाउन व्यस्त सभापतिका आकांक्षीहरूसँगै दर्जनभन्दा बढी अनुहार महामन्त्री बत्रे रेशमा छन् । बाहालवाला पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म नै महामन्त्रीमा उठ्न समीकरण फेर्नेदेखि आफू अनुकूल पर्ने सभापतिका आकांक्षीको पछि लाग्न थालिसकेका छन् । दर्जन भन्दाबढी दोस्रो तहका नेताहरू महामन्त्री बत्रे आशमा बसेका छन् ।

जसमा एनपी साउद, रमेश लेखक, प्रदीप पौडेल, नैनसिंह महरदेखि गुरुराज घिमिरे खुलेरै लागेका छन् । गएको १४ औं महाधिवशेनमा तीन गुटबाट ६ जना महामन्त्रीका लागि भिडेकोमा शेखर समूहका गगन थापा र प्रकाशमान सिंहका विश्वप्रकाश शर्माले बाजी मारेका थिए । जहाँ प्रदीप पौडेल, डा.प्रकाशशरण महत, डा.मिनेन्द्र रिजाल र डा.राजाराम कार्की पराजित भएका थिए ।

त्यस्तै पराजित मध्येका पौडेल महामन्त्रीको बलिया आकांक्षी हुन् भने, गगनको नजिक रहेका उनलाई दाबेदारकै रुपमा हेरिएको छ । महामन्त्रीको घोषणा गरेर लागेका नैनसिंह महरले गएको डेढ वर्षमा ७२ जिल्लामा कार्यक्रम लिएर गएका छन् । महर अहिलेसम्म खुलेर कुनै टिममा जान नसके पनि शेखरतिर लचक छन् । १४औँ महाधिवेशन पछि नै उनले आफूलाई आगामी महामन्त्रीको दौडमा उभ्याउन थालेका थिए । त्यसबेलादेखि नै महामन्त्रीको तयारी थाल्ने घोषणा गरेका उनी ४० प्रतिशत तयारी पूरा भएको बताउँछन् ।

यता, सुदूरपश्चिमका दुई धुरन्धर नेता एनपी साउद र रमेश लेखक सभापति शेरबहादुर देउवाका लागि एक ठाउँमा उभिदै आएका थिए । तर, अब भने दुई नेताको कित्ता क्लियर हुने देखिन्छ । किन भने देउवाले लेखकलाई च्याप्दा साउद बिच्किएका छन् । कञ्चनपुरका दुई नेताकाबीचको राजनीतिक खटपट छताछुल्लै हुँदा अब महामन्त्रीमा पनि यी दुई प्रतिष्पर्धी बत्रे देखिन्छन् ।

लेखक गगन र देउवातिर निकट हुँदा साउद पनि शेखर पक्षतिर उभिने सङ्केत मिलेको छ । १५ औँ महाविधेशनको तयारीका लागि देश भ्रमणमा रहेका साउद लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा कार्यक्रम गरी अब गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही जिल्लाहरूमा कार्यकर्ताको मत बुझ्न जाँदै छन् ।

हाल कांग्रेसमा दुई निर्वाचित महामन्त्रीहरू रहने व्यवस्था छ । साथै आगामी महासमिति बैठकको एजेन्डाका विषयमा समेत चासो बढ्न थालेको छ । महासमिति बैठकको मिति तय हुन सकेको छैन । यद्यपि, पदाधिकारीको संख्या र पदाधिकारीमा अनिवार्य महिला हुनु पर्ने लगायतका एजेन्डा हुने चर्चा हुन थालेको छ । शक्तिशाली एक मात्र महामन्त्री बनाउनेदेखि महिला महामन्त्री थपेर तीन जना बनाउनु पर्नेसम्मका बहस हुने देखिन्छ ।

अहिले सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनादेखि सभापति डा.डिला संग्रौला र देउवा पत्नी डा.आरजु राणासम्म महामन्त्रीको आकांक्षीको रेशमा छन् । यी बाहेक बाँकीका गगन पक्षका जीवन परियार र शेखर गुटमा रहेका बद्री पाण्डे सहितका सात सहमहामन्त्रीहरू पनि स्वभाविक रुपमा महामन्त्रीको दौडमा छन् । यद्यपि, सभापतिको समीकरण पनि नटुंगिएको र महाधिवशेन आउनु ६ महिना अघिसम्म पनि नेताहरूको गुट र समीकरण फेरबदल भइरहने हुँदा ठ्याक्कै यही कित्ता भनेर खुल्न पाएका छैनन् ।

त्यस्तै प्रदेशको सभापतिमा हारेका, पदाधिकारी पनि नबनेका र केन्द्रीय सदस्यमात्रै भएकाहरू पनि महामन्त्री बन्ने दौडमा देखिन्छन् । शेखर समूहबाटै कोशी सभापतिमा एक मतले हारेका गुरुराज घिमिरे र कर्णाली प्रदेश सभापतिमा हारेका भुपेन्द्र जंग शाहीदेखि अहिलेका बाग्मती प्रदेशका सभापति इन्द्र बानियाँ पनि महामन्त्री ताकेर बसेका छन् । महाधिवेशन समयमा नै गराउने भन्दा पनि नेताहरू महामन्त्री हुन जुर्मुराएका छन् । आफ्नो प्यानल क्लियर नहुँदै र महाधिवेशनको टुंगो नलाग्दै कांग्रेसमा महामन्त्री बन्नेको लर्काे सुरु भएको छ ।