काठमाडौं — कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको मुछिएको आरोप लागेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी हिरासतमा रहने भएका छन् । आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका जोशीको थुनछेक बहस नसकिएकाले उनी हिरासतमै रहेन भएका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले अदालतको आदेश अनुसार उनलाई आज परिसरकै हिरासतमा राखिएको बताए ।
भोलि सोमबार फेरि उनी अदालत उपस्थित हुनेछन् । उनीसहितका व्यक्तिविरुद्ध संगठित रुपमा ठगीको अभियोगमा मुद्दा दायर भएको छ । जोशीविरुद्धको पेशी न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासमा थियो । जोशीविरुद्ध यसअघि कास्की जिल्ला अदालतमा पनि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धिकरणको कसुरमा पनि मुद्दा दायर भएको थियो । कास्की अदालतमा ८८ लाख धरौटी बुझाएर रिहा भएका थिए । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर भएको थियो । यो सहकारीले ६९० बचतकर्ताको एक अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।
प्रतिक्रिया