काठमाडौं — नेता वामदेव गौतमले आफूसहित नेकपा एकता राष्ट्रिय अभियानको ठूलो समूह एमालेमा प्रवेश गर्ने र बाँकी केही सदस्य माओवादी केन्द्रमा जाने बताएका छन् । आइतबार प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटार निवासमा भेटेका गौतमले अब आफू एमालेमै फर्किने पक्का भएको बताएका हुन् । नेता गौतमले एमालेमा प्रवेश गर्न २ वर्ष प्रयत्न गरेको तर प्रधानमन्त्री ओलीले वास्तै नगरेको पनि बताएका छन् ।
उनले प्रधानमन्त्री ओलीबाट छिटै मिति, समय र स्थानको जानकारी आउने भन्दै बाँकी कुरा उतै सोध्न भनेका छन् । उनका अनुसार प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले गौतमजस्तो इतिहास भएको पुरानो नेता फेरि सक्रिय भएर काम गर्ने अपेक्षा गरेका छन् । गौतमले अब एकीकृत समाजवादीसँग यो बीचमा गरेका वार्ताहरूको औचित्य सकिएको भन्दै एमालेमै लाग्ने बताए ।
प्रतिक्रिया