एमालेबाट निष्कासित भएपछि पूर्वउपाध्यक्ष डा. भीम रावल पहिलो पटक गृह प्रदेश सुदूरपश्चिम पुगेका छन् । पार्टीबाट बाहिरिँदा एक्लै गएका रावलले आफ्नो शक्ति कति देखाउँछन् ? भन्ने जिज्ञासा त छँदैछ । पूर्वमा एमाले कार्यकर्ताको मुखसमेत देख्न नपाई राजावादीको सम्मान लिएर फर्किएका रावलले सुदूरपश्चिममा भने एमालेकै जबरजस्त समर्थन पाएका छन् ।
एमालेबाट निष्कासित भएपछि डा. भीम रावल पहिलोपटक गृह प्रदेश सुदूरपश्चिम पुगे । उनमाथिको कारबाहीबारे त्यहाँका नेता कार्यकर्ताको भूमिका र साथबारे विभिन्न टिकाटिप्पणी भइरहँदा ओली निकटकै कर्ण थापाले सँगै बसेर यात्रा गरे । रावल धनगढी झर्ने बित्तिकै उनको समर्थन र केपी शर्मा ओलीको विरोधमा नारा घन्कियो । रावल भने सुटुक्क भीआईपी कक्ष हुँदै विमानस्थलबाट बाहिर निस्किएका थिए । पूर्वमा एमालेको तिरस्कार भोग्दा राजावादीको सम्मान थापेर फर्किएका रावलले पश्चिममा भने जबरजस्त साथ पाएका छन् । यसले रावलमाथिको कारबाही सुदूरपश्चिमले अस्वीकार गरेको र नयाँ राजनीतिक यात्राका लागि एमाले कार्यकर्ताले नै उनलाई शुभकामना दिएको सन्देशका रुपमा धेरैले बुझेका छन् ।
एमालेले कारबाही गरेपछि अध्यक्ष ओलीको आलोचना गर्दै रावल देश दौडाहामा छन् । धनगढी पुग्नुअघि मात्र रावलले ‘मातृभूमि जागरण अभियानलाई नै पार्टीको रुप दिने र सिद्धान्त गैरकम्युनिस्ट पृष्ठभूमीको हुुने बताएका छन् । गैरकम्युुनिस्ट पार्टी खोल्ने घोषणा गरेका रावलमाथि एक पक्षले राष्ट्रवाद भन्ने शब्दजालमा अल्झिएर समर्थन गर्दा अर्को पक्ष भने पाँच दशक कम्युनिस्ट नामको वकालत गरेर अहिले नाटक गरेको टिप्पणी गरिरहेका छन् । हालै रावल विराटनगर पुग्दा राजावादीको स्वागत पाए ।
उनीहरुको समर्थनले हौसिएका रावलले दोस्रो जनआन्दोलनमा घुसपैठ गरेर राजा फालेकोसम्म भन्न भ्याएका थिए । पृथ्वीजयन्तीको अवसरमा राप्रपा र राप्रपा नेपालले आयोजना गरेको चियापानमा उनी सहभागी भए । तर, रावलले भने यसलाई राजावादीको ट्याग लगाएर हेर्नु आवश्यक नरहेको बताएका छन् । देशको अवस्था परिवर्तन गर्न राजावादी, लोकतान्त्रिक वा कम्युनिस्ट जोसुकैसँग पनि सहकार्य गर्न तयार रहेको उनले बताएका छन् । यतिसम्म कि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसँगसमेत रावलले सहकार्यको अपेक्षा राखेका छन् ।
योभन्दा पनि बढी एउटा तस्वीरले धेरैको ध्यान खिचेको छ । जहाँ भीम रावल र कर्ण थापा हवाई जहाजको सिटमा सँगै बसेका छन् । काठमाडौंबाट धनगढी जाने क्रममा श्री एयरलाइन्सको जहाजमा देखिएको यो दृष्य सल्लाहले हो वा संयोगबस ? भन्ने प्रश्नले एमाले सुदूपश्चिममा हल्लीखल्ली मच्चिएको थियो । एमाले सुदूरपश्चिम प्रदेश कमिटीले रावलमाथि कारबाही गर्दा सुदूरपश्चिममा एमाले कमजोर बन्ने निष्कर्ष निकालेको केही दिनमै देखिएको यो दृष्यले बजार पिट्नु असामान्य पनि होइन । किनकि थापा ओली निकटकै प्रभावशाली नेता हुन् । तर, पछिल्लो समय ओलीसँग थापाको सम्बन्ध खासै राम्रो नरहेको बताइन्छ । थापाले भने यो संयोग मात्र भएकाले अनावश्यक हल्ला नगर्न र राजनीतिक दृष्टिबाट हेर्नुु नै गलत हुुने भन्दै खण्डन गरेका छन् ।
ओलीसँग सहज सम्बन्ध नभएका बेला खुलेर भन्न नसके पनि थापा रावलमाथि भएको कारबाहीको विपक्षमा छन् । आन्तरिक फोरमहरुमा रावलमाथिको कारबाही गलत भएको थापाले बताउने गरेको बुझिन्छ । उनी विद्या भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउने पक्षको क्याम्पमा छिरिसकेको निकटस्थहरु बताउँछन् । रावललाई एमालेमै फर्काउन सो पक्ष लागेको हुनसक्ने अड्कल काट्न सकिन्छ । यस्तो अवस्थामा सचिव लेखराज भट्टलाई तारो बनाइनु, भीम रावलको पक्षमा माहोल बढ्नु तथा ओली पक्षकै नेताहरुको शंकास्पद गतिविधिले सुदूरपश्चिममा एमालेको भविष्यमाथि प्रश्न उठाउने अवस्था रहेको विश्लेषण भइरहेको छ ।
प्रतिक्रिया