राजनीति

हमासले बन्धक छाड्ने आशा, विपिनका लागि आरजुको दौडधुप


सन् २०२३ अक्टोबर ७ देखि युद्धरत इजरायल–हमासबीच युद्धविराम र बन्धकहरुको रिहाइ सम्बन्धी सम्झौतामा सहमति भइसकेको छ । यो सम्झौतासँगै बन्धकहरुको रिहाइ सर्वत्र चासोको विषय बनेको छ ।

सन् २०२३ अक्टोबर ७ देखि युद्धरत इजरायल र हमासबीच गत बुधबार कतारको दोहामा युद्धविराम गर्ने सहमति जुट्यो । अमेरिका र कतारको मध्यस्थतामा इजरायल, हमास, अमेरिका र कतारका अधिकारीहरूले गाजा युद्धविराम र बन्धक रिहाइ सम्बन्धी सम्झौतामा औपचारिक रुपमा हस्ताक्षर गरेका थिए । आइतबारदेखि कार्यान्वयनमा आउने गरी भएको उक्त सम्झौता कार्यान्वयन हुन इजरायली मन्त्रिपरिषदले अनुमोदन गर्नु पर्नेछ । अनुमोदनका लागि इजरायली मन्त्रिपरिषदमा शुक्रबार मतदान हुँदैछ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले हमाससँग बन्धक रिहाइ सम्बन्धी सम्झौतामा सहमति भइसकेको दाबी गरेको छ । विहीवार नै अनुमोदन गर्ने भनिए पनि नेतन्याहूले गाजा युद्धविराम र बन्धक रिहाइ सम्बन्धी सम्झौतामा हमासले आफ्ना नयाँ शर्तहरू थप्न चाहेको भन्दै उक्त सम्झौता अनुमोदन शुक्रबारलाई सारिएको थियो । गठबन्धन सरकारको प्रधानमन्त्री नेतन्याहू सुरक्षामन्त्रीको दवावमा छन् ।

इजरायलको राष्ट्रिय सुरक्षामन्त्री इटामार बेन गभिरले मन्त्रिपरिषद्ले उक्त सम्झौता अनुमोदन गरे आफ्नो दल सत्ता गठबन्धनबाट बाहिरिने धम्की दिँदै आएका छन् । गठबन्धनका दलहरुको फरक मत रहे पनि उक्त सम्झौता अनुमोदन हुने पक्का छ । गठबन्धनभित्र मतान्तर रहे पनि अनुमोदन गर्नुको विकल्प इजरायल सरकारसँग छैन । किनभने अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार सम्हाल्नुअघि बन्धक रिहाइ सम्झौता कार्यान्वयनमा आउनु पर्ने दबाब नै दिएपछि यो सम्झौता भएको बुझ्न सकिन्छ । ट्रम्प जनवरी २० मा दोस्रो पटक ह्वाइट प्रवेश गर्ने तरखरमा छन् ।


युद्धविराम र बन्धकहरु रिहाइको सम्झौतामा सहमति भएसँगै हमासको कब्जामा विगत १५ महिनादेखि बन्धक रहेका व्यक्तिहरुका आफन्त तथा परिवारमा खुसी छाएको भने लामो समयदेखि छुटिएका परिवारको सदस्यलाई भेट्ने प्रतिक्षा थप व्यग्र बनेको छ । सम्झौता अनुसार बन्धक रिहाई १९ जनवरीदेखि नै हुने छ । इजरायल, अमेरिका, बेलायत, मेक्सिको, थाइल्यान्डका नागरिक लगायत झन्डै २ सय ५० भन्दा बढीलाई हमासले बन्धक बनाएको तथ्याङ्क छ ।

हमासले रिहा गर्ने बन्धकहरुमा वृद्ध, महिला र बालबालिकालाई पहिलो प्राथमिकतामा राखिएको छ । हमासले बन्धकमुक्त गर्ने एक इसरायली नागरिकको बदलामा इसरायल सरकारले ३० प्यालेस्टिनी कैदी र एक महिला सैनिकको बदलामा ५० जना कैदी रिहा गर्नेछ । त्यसको एक सातापछि हमासले चार जना बन्धक रिहा गर्नेछ भने त्यसको बदलामा तोकिएअनुसारको कैदी इसरायलले रिहा गर्ने सम्झौतामा उल्लेख छ । त्यसपछि एक एक सातामा हमासले बन्धक रिहा गर्ने र इसरायलले प्यालेस्टिनी कैदी रिहा गर्ने सम्झौता भएको छ । ४२ दिनपछि हुने दोस्रो चरणको युद्धविराममा गाजामा दिगो शान्ति घोषणा गर्ने र हमासले बाँकी भएका बन्धकहरू रिहा गर्ने सम्झौतामा उल्लेख छ ।

दोस्रो चरणको युद्धविरामपछि इसरायली सैनिक गाजा क्षेत्रबाट फर्कने भनिएको छ । नेपालका विपिन जोशीसमेत हमास समूहको कब्जामा छन् । विपिनको रिहाइका लागि परराष्ट्रमन्त्री आरजु राणा देउवाले गत मंगलबार कतारका विदेश राज्यमन्त्री डा. मोहम्मद बिन अब्दुलाजिज अल खुलाइफीसँग फोनवार्ता गरेकी थिइन् । कतारले युद्धविरामका लागि मध्यस्थता गरिरहेकाले परराष्ट्रमन्त्री राणाले विपिनको रिहामा पहल गरिदिन आग्रह गरेकी हुन् । सोही दिन साँझ मन्त्री राणाले इजरायली विदेशमन्त्रीसँग फोनवार्ता गर्दै विपिनको रिहाइका लागि पहल गरिदिन इजरायल सरकारसँग आग्रह गरेकी थिइन् । लामो समयदेखिको जारी युद्ध रोक्न दुई पक्षबीच सम्झौता भए पनि इजरायलले गाजामा आफ्नो आक्रमणलाई अझै रोकेको छैन । युद्धविराम सम्झौता भएपछि इजरायलले निरन्तर गरेको आक्रमणमा परी एक सय जनाभन्दा बढी प्यालेस्टिनी मारिएका छन् ।