राजनीति

शेखरको जबरजस्त ‘मुभ’, खाणदेखि साउदसम्मकै साथ !


नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिमा पराजित डा.शेखर कोइरालाले आगामी महाधिवेशनलाई लक्षित गरेर देश दौडाहालाई तीव्रता दिएका छन् । एक्लै लड्दा ४० प्रतिशतभन्दा बढी कांग्रेसी नेताहरूको मन जितेका शेखर अब देउवा पक्षकै नेताहरूलाई आफ्नो कित्तामा तानेर पार्टीको नेतृत्वमा पुग्ने रणनीति बनाइरहेका छन् ।

नेपाली कांग्रेसको १५ औं महाधिवेशनको टुङ्गो नलाग्दै नेताहरूलाई भने महाधिवेशनको चटारोले झ्याप्पै छोपेको छ । कांग्रेसको नेतृत्वमा आउन चाहेका नेताहरू आफ्नो समीकरण बनाउन देश दौडाहादेखि विदेशसम्म पुगिरहेका छन् । जसमा संस्थापनइतर समूहका प्रमुख नेता डा.शेखर कोइराला अग्रपंक्तिमा छन् । सुदूरपश्चिम र मधेश प्रदेशको दौडाहामा अपेक्षाभन्दा बढी न्यायो स्वागत पाएपछि अहिले उनी बेलायत हानिएका छन् ।

महाधिवेशनकै लागि शेखरको दौडाहाले तीव्रता पाइरहँदा आफ्नो पक्षमा भएको जबरजस्तको मुभको फाइदा पनि उनले उठाएका छन् । आगामी महाधिवेशनमा वर्तमान सभापति शेरबहादुर देउवा पुनः नेतृत्वमा नउठ्ने भएपछि देउवा गुटमा रहेका नेताहरूले अहिले नै सुरक्षित अवतरणका लागि शेखरतिर आउँदा उनी हौसिएका छन् । देउवा पक्षकै नेता तानेर उनी आफ्नो कित्ता मजबुत बनाइरहेका छन् ।

एक वर्षअघि अर्थात प्रचण्ड नेतृत्वको सरकारमा देउवाकै कोटाबाट परराष्ट्रमन्त्री बनेका एनपी साउद अहिले शेखर तिर लागेका छन् । सुदूरपश्चिमबाट देउवाले नै अघि बढाएका नेता एनपी साउद अहिले शेखरकै बोली बोल्दै सत्ता गठबन्धनको आलोचनामा उत्रने गरेका छन् ।

कञ्चनपुरबाट प्रतिनिधित्व गर्ने एनपी साउद र रमेश लेखकबीच पार्टीभित्र पहिलेदेखि नै राम्रो सम्बन्ध थिएन । एक अर्काप्रति विरोधीकै छवि बनाएका नेताहरू एकअर्कालाई हराउन लागेको आरोपसमेत लाग्ने गरेको छ । यस्तोमा देउवाले लेखकलाई च्याप्दै गृहमन्त्री बनाएपछि साउद शेखरको कित्तामा खुलेरै लागेका हुन् । कांग्रेसका सभापति देउवाका सदाबहार सहयोगी नेता साउद पछिल्लो समय सरकारको नेतृत्व र सत्ता गठबन्धनप्रति शेखरभन्दा पनि एक कदम अघि बढेर आलोचनामा उत्रिन थालेका छन् ।

बालकृष्ण खाणलाई देउवाको उत्तराधिकारी नै मानिने गरेको थियो । उनी पनि अहिले शेखरलाई नै आफ्नो नेता मानेर हिडिँरहेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा देउवाले बेवास्ता गरेको र शेखरले सहजीकरण गरेको बुझाई हुँदा उनी पत्नी मञ्जु खाणसहित शेखर कित्तामा उभिएका छन् ।

त्यस्तै सिन्धुपाल्चोकबाट सांसद भएका मोहन बस्नेतसमेत देउवा निकट भए पनि अहिले शेखर गुटतिर लागेका छन् । देउवाले नै कांग्रेसको विद्यार्थी भ्रातृसङ्गठन नेपाल विद्यार्थी सङ्घको सभापति बनाएका नैनसिंह महरले पनि उनको साथ छोडेका छन् । आगामी महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बत्र खोजेका महर देउवा गुटबाट पालो नआउने पक्का भएसँगै शेखर तिर लागेको कतिपयको बुझाइ छ ।

महामन्त्री गगन थापाले शेखरको साथ छोडे पनि अर्का महामन्त्री विश्वप्रकाश शर्माको भने साथ पाएका छन् ।
अहिले सभापति देउवाको बहिर्गमनसँगै संस्थापन पक्षको नेतृत्व कसले गर्ने भन्ने विषयमा नेतृत्वको चरम मतभेद देखिन्छ । संस्थापन पक्षलाई एक ढिक्का बनाएर अघि बढाउने विश्वस्त पात्रको तलासमा सभापति देउवाले रणनीति बनाइरहँदा पार्टीमा इतर पक्ष हावी हुँदै गइरहेको छ ।

१४ औं महाधिवेशनमा सँगै रहेका महामन्त्री गगन थापाले साथ छोडेपछि शेखर कमजोर हुने अनुमानका बीच उनी झन् शक्तिशाली हुँदै गएका छन् । एक्लै लड्दा ४० प्रतिशत मत ल्याएका शेखरले महाधिवशेन आउनु अघि नै यस्ता प्रभावशाली नेतालाई आफ्नो पक्षमा पार्न सफल भएका छन् । अझै बाँकी रहेको समयमा अरु नेतालाई पनि आकर्षित गर्न सकेमा महाधिवेशन आउँदासम्म कोइराला थप शक्तिशाली भएर उदाउने देखिन्छन् । तर यति हुँदाहुँदै पनि अन्तिममा कोइराला परिवारलाई नै फकाउन नसक्दा उनलाई अफ्ठ्यारो पर्न सक्ने सम्भावनालाई समेत नकार्न सकिँदैन ।