राजनीति

बालेनको नजर यातायातमा, चोकचोक प्रदुषण परिक्षण


काठमाडौं – महागरपालिकाले चार दिनदेखि काठमाडौंका विभिन्न स्थानमा सवारी जाँच गर्दा अहिलेसम्म ५० प्रतिशतभन्दा बढी प्रदूषण गुणस्तरमा फेल भएका छन् । बेलाबेला विश्वका प्रदूषित सहरहरुको सूचीमा पहिलो नम्बरमा आउने काठमाडौंमा ५० प्रतिशतभन्दा बढी सार्वजनिक सवारी साधनले वातावरण प्रदूषण गरिरहेको तथ्यले देखाउँछ ।

काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र गुड्ने सवारीसाधनको प्रदूषण जाँच कार्यलाई तीव्रता दिएको छ । चार दिन अघिदेखि काठमाडौंका विभित्र स्थानमा डिजेल र पेट्रोलबाट चल्ने सवारी साधनको प्रदूषण जाँच सुरु गरेको हो । महानगर अन्तरगतको वातावरण व्यवस्थापन विभागको नेतृत्वमा वातावरण निरीक्षक र वातावरण वरिष्ठ इञ्जिनिरको नेतृत्वमा प्रत्येक दिन २० वटासम्म सवारी साधनको प्रदूषण जाँच भइरहेको छ । बबरमहल, जमल, पानीपोखरी र सिनामङ्गल गरी चार दिनमा ८० वटा सवारी साधनको परीक्षण गर्दा झण्डै ४६ वटा सवारी साधन मापदण्ड बाहिर रहेको भेटिएका छन् ।

पहिलो र दोस्रो दिन समान १४ वटा सवारी साधन प्रदूषण जाँचमा पास हुँदा ६ वटा फेल भएका थिए । तेस्रो दिनको परीक्षणमा ६ वटा मात्रै पास हुँदा १४ सवारी साधन फेल भए । त्यस्तै चौथो दिन शुक्रबार २० मा १० वटा सवारी साधन परीक्षणमा फेल भएका छन् । विभागले ट्राफिक प्रहरी र महानगर प्रहरीको सहकार्यमा सवारी साधनहरूको प्रदूषण जाँच गरिरहेको हो । ठुला यात्रुबस, मिनी बस, माइक्रो बस र सामान ढुवानी गर्ने टिप्परका साथै कालो नम्बर प्लेटमा दर्ता भएका सार्वजनिक सवारी साधनको प्रदूषण जाँच गरिएको थियो ।

मापदण्डमा पेट्रोलबाट चल्ने सवारी साधन र डिजेलबाट चल्ने सवारी साधनका साथै निर्माण अवधिलाई छुट्टाछुट्टै सूचक राखिएको छ । सन् १९८० सम्म उत्पादन भएका चार पांग्रे सवारी साधनको कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ । त्यस्तै सन् १९८१ वा त्यसभन्दा पछि उत्पादन भएका सवारी साधनमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम तीन प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ ।

तीन पांगे्र सवारीको हकमा सन् १९९१ सम्ममा उत्पादन भएका सवारी साधनमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ । दुई पांग्रे सवारी साधनको हकमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ । सन् १९९४ सम्ममा उत्पादन गरिएका सबै किसिमका डिजेलबाट चल्ने सवारी साधनका लागि सवारीको धुवाँको घनत्व (स्मोक डेन्सिटी) अधिकतम् ७५ हर्टिज स्मोक युनिट (एचएसयु) हुनुपर्छ । सन् १९९५ वा सोभन्दा पछि उत्पादन भएका सवारी साधनका लागि सवारीको धुवाँको घनत्व (स्मोक डेन्सिटी) अधिकतम् ६५ हर्टिज स्मोक युनिट (एचएकयु) हुनुपर्छ । जाँचका क्रममा तोकिएको एकाइभन्दा माथिल्लो अङ्क देखियो भने प्रदूषण मापदण्ड बाहिर हुन्छ ।

यातायात कार्यालयमा सवारी प्रदूषण जाँच गराउँदा पास भएका आधाभन्दा बढी सवारी साधन महानगरले गरेको जाँचमा भने फेल भएका छन् । कतिपय सवारी चालकहरूलाई त प्रदूषण जाँच गर्नुपर्छ भन्ने समेत थाहा नभएको फिल्डमा खटिएका कर्मचारीको भनाइ छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६० (३) अन्तर्गत सवारी प्रदूषण मापदण्ड फेल हुने सवारी साधनलाई दुई सयदेखि एक हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था छ ।

तर, विभागले भने प्रदूषण जाँचकाक्रममा फेल भएका सवारी साधनको सबै विवरण टिपेर एक साताभित्र मर्मत सम्भार गरी पुनः सञ्चालन गर्ने भत्रे कबुलियत नामा गराई सचेत मात्रै गराउँदै छाड्ने गरेको छ । प्रदूषण जाँचमा फेल भएका सवारी साधनहरुलाई महानगरले इन्जिन मर्मतका लागि एक सातासम्मको समय दिएको छ ।

वायु प्रदूषणको मुख्य कारकमध्ये सवारीसाधनबाट उत्सर्जन हुने धुवाँ प्रमुख हो । यसले जनस्वास्थ्यमा समेत गम्भीर असर पु¥याउने हुँदा मापदण्ड कार्यान्वयनका लागि प्रदूषण जाँचलाई प्रभावकारी रुपमा अगाडि बढाइएको हो । महानगरपालिकाले वातावरण सुधारका लागि वातावरण तथा प्राकृतिक स्रोत ऐन २०७७, प्रदूषण नियन्त्रण मापदण्ड २०८१, फोहोरमैला सङ्कलन तथा ढुवानी कार्यविधि २०८१ जारी गरेको थियो ।

यी कानुनमा भएका व्यवस्थालाई कार्यान्वयनमा ल्याउँदै सहरमा गुड्ने सार्वजनिक सवारी साधनको प्रदूषण परीक्षण गरिएको हो । महानगरले एक महिनाअघि मात्रै काठमाडौंमा बढ्दै गएको वायु प्रदूषणलाई नियन्त्रण गर्न वायु गुणस्तर निगरानी उपकरण जडान कार्यसमेत सुरु गरेको थियो ।