Breaking

रास्वपाको निलम्बनमा परे कोशी प्रदेशका सभापति


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कोशी प्रदेशका सभापति राजेश तिम्सिनालाई निलम्बन गरेको छ ।

निलम्बित महामन्त्री मुकुल ढकाललाई जिम्मेवारीमा फर्काउन पत्र लेखेको र प्रदेशमा सांगठनिक काममा ध्यान नदिएको कारण देखाउँदै रास्वपाले तिम्सिनलाई पार्टीबाट निलम्बन गरेको हो ।

गत १७ पुसमा पूर्व महामन्त्री ढकाललाई जिम्मेवारीमा फर्काउन माग गर्दै तिम्सिनासहित मधेश प्रदेशका सभापति तपेश्वर यादवले कार्यवाहक सभापति डीपी अर्याललाई पत्र पठाएका थिए ।

पार्टी केन्द्रीय अनुसन्धान आयोगका प्रमुख भरतमणी देवकोटाले नियमावली २०८० को परिच्छेद ४ को नियम ४.१ (ख), नियम ४.१.१. (ख) तथा नियम ६.२.३.(झ) का आधारमा उनलाई निलम्बन गरिएको जानकारी गराएका छन् ।

ढकाललाई निष्कासन गरिसकेपछि पार्टी अझै कमजोर भएको कोशीका सभापति तिम्सिनाले पत्रमा उल्लेख गरेका थिए ।

तिम्सिनाले पूर्व महामन्त्री ढकाललाई पार्टीबाट हटाउनका लागि गरेको निर्णयको हस्ताक्षर फिर्ता लिएको समेत पत्रमा लेखेका थिए ।