मनोरञ्जन

विवादको भुमरीमा फस्दै कार्साङ चलचित्र

संस्कार संस्कृति नबुझी चलचित्र निर्माण


काठमाडौँ – असोज २६ गतेदेखि प्रदर्शनमा रहेको नेपाली चलचित्र कार्साङ प्रति शेर्पा समुदायले आपत्ति जनाएको छ

याम शेर्पाको निर्देशन र लेखनमा सिन्धुपाल्चोक जिल्लाको यार्सा गाउँको शेर्पा समुदायको संस्कार संस्कृतिमा निर्माण गरिएको कार्साङ चलचित्रमा देखाइएको बलि दिने प्रथा र छेवर गर्ने प्रचलन शेर्पा समुदायको संस्कार, संस्कृतिभित्र नरहेको भन्दै शेर्पा समुदायले विरोध जनाएको हो ।

चलचित्रको टिजर र ट्रेलर सार्वजनिक भएपछि सो चलचित्रको बारेमा शेर्पा समुदायले सामाजिक सञ्जाल मार्फत गलत कथावस्तु प्रस्तुत गरिएको भन्दै चौतर्फी रूपमा विरोध जनाएको हो ।

शेर्पाहरू विशेषगरी बुद्ध धर्ममा आस्था राख्ने समुदाय रहेकोले शेर्पाको संस्कार संस्कृतिमा निर्माण गरिएको चलचित्रमा बलि दिने प्रथा शेर्पा समुदायको हो भन्न खोज्नु गलत भएको भन्दै शेर्पा चलचित्र संघले आपत्ति जनाउँदै विज्ञप्ति नै निकालेको छ । विज्ञप्ति मार्फत संघले चलचित्रबाट (Based on Sherpa culture) अर्थात् शेर्पा संस्कृतिमा आधारित भन्ने शब्द हटाउनुपर्ने माग राखेको छ । चलचित्र निर्माण पक्षले परम्पराको शेर्पा संस्कृति र परम्पराको दुरुपयोग गरेको भन्दै सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग राखेको छ ।

विज्ञप्ति र चौतर्पी विरोध भएपछि निर्माण पक्षले (Based on Sherpa culture) अर्थात् शेर्पा संस्कृतिमा आधारित भन्ने शब्द चलचित्रको ब्यानरबाट हटाइएको छ ।

चलचित्रको निर्देशक तथा लेखकसमेत रहेको याम शेर्पाले भने यो कथावस्तु समग्र शेर्पा समुदायको नभएर एउटा भूगोलको मात्रै रहेको दाबी गर्दै आएको छ । तर शेर्पा ले अहिलेको लागि चलचित्र एउटा भूगोलको मात्रै भएपनि कालान्तरमा यो चलचित्र शेर्पा समुदायको परम्परा र संस्कृति बुझ्ने एउटा आँखी झ्यालको रुपमा स्थापित हुने भएको हुँदा यस्ता गलत कथावस्तुहरुलाई बेलामा सच्याउनुपर्ने शेर्पा समुदायको माग रहेको छ।

चलचित्रका कलाकारहरूले विभिन्न संचार माध्यममा अन्तर्वार्ता दिने क्रममा कार्साङ नै शेर्पा समुदायको पहिलो चलचित्र रहेको दाबी गर्दै आएको छ । तर शेर्पा संस्कार संस्कृतिमा आधारित पहिलो चलचित्र खाङ्ग्री हो हो भने पछिल्लो समय कुसुम र टिन्छेन फामा जस्ता चलचित्रसमेत निर्माण भइसकेकोले यो चलचित्र पहिलो भन्न नमिल्ने कुसुम चलचित्रका निर्माता फाराडेन्डी शेर्पाले बताउनु भएको छ । शेर्पाले शेर्पा संस्कार संस्कृतिको बारेमा अध्ययन अनुसन्धान नगरी चलचित्र निर्माण गर्नु र हचको भरमा अन्तर्वार्ता दिँदै हिँड्नु ठिक नभएको बताउनुभयो ।

शेर्पा संस्कृतिको अनुसन्धानकर्ता समेत रहेका लेखक सेर्कु शेर्पाले शेर्पा जातिले बौद्ध धर्म अवलम्बन गर्ने भएको हुँदा शेर्पा परम्परा र संस्कृतिमा बलि दिने प्रथा नरहेको बताउनुभयो । शेर्पा समुदायका धर्मगुरुहले यस्ता चलचित्रले आगामी दिनमा सांस्कृतिक विचलन ल्याउने बताउनुभयो ।


शेर्पा समुदायमा चलचित्रमा देखाएको जस्तो धामी झाँक्रीमा भन्दा पनि लामामा बढी विश्वास राख्ने बताउनु भयो । अहिलेको लागि चलचित्र एउटा भूगोलको मात्रै भएपनि कालान्तरमा यो चलचित्र शेर्पा समुदायको परम्परा र संस्कृति बुझ्ने एउटा आँखी झ्यालको रुपमा स्थापित हुने भएको हुँदा यस्ता गलत कथावस्तुहरुलाई बेलामा सच्याउनुपर्ने शेर्पा समुदायको माग रहेको छ।

शेर्पा समुदायले यो चलचित्र नेपाली कथानाक चलचित्र भन्न सकिने तर शेर्पा संस्कृति र संस्कार आधारित चलचित्र भन्न नहुने जिकिर गर्दै आइरहेको छ ।

दयाहाङ राईसहित जितु नेपाल, सिर्जना निङलेखु र दीया मास्केको यसमा शीर्ष भूमिका छ । ६ महिनापछि दयाहाङ अभिनित फिल्म हलमा लागे पनि खासै सोचेजस्तो व्यापार गर्न सकिरहेको छैन।

पछिल्लो समय समुदायको कथावस्तुमा आधारित निर्माण गरिएको चलचित्रहरूले राम्रो व्यापार गर्न थालेपछि प्रायजसो निर्देशक निर्माताको नजरमा गाउँको कथावस्तु पर्ने गरेको छ ।