Breaking

सुप्रिम सहकारी ठगी प्रकरण : लामिछानेसहितका प्रतिवादीविरुद्ध मुद्दा दर्ता गरिँदै


काठमाडौं —बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेसहितका प्रतिवादीविरुद्ध आज मुद्दा दर्ता गरिँदै छ । जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीले मुद्दा दर्ता गर्न लागेको सरकारी वकिल कार्यालयका प्रमुख प्रेमराज पौडेलले जानकारी दिनुभयो । सुप्रिम सहकारीका १० हजार ३९१ जनाले बचत गरेको एक अर्ब ३१ करोडमध्ये ८६ करोड १८ लाखभन्दा बढी रकम अपचलन भएको थियो ।

त्यसमध्ये १४ करोडभन्दा बढी रकम लामिछाने प्रवन्धक रहेको गोर्खा मिडिया नेटवर्कमा गएको दाबी गरिएको छ । प्रहरीले पूर्वगृहमन्त्री लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहित १४ जनालाई मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदनका आधारमा मुद्दा दायर गर्न लागेको हो । यसअघि, लामिछाने पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा ६५ लाख र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा ६० लाख धरौटी तिरेर रिहा भएका थिए ।