काठमाडौं —काठमाडौंको शंखरापुर नगरपालिका– ३ लप्सीफेंदीको बोझेनी भन्ने ठाउँमा स्थानीय र प्रहरीबीच फेरि तनाव सिर्जना भएको छ । नेपाल विद्युत् प्राधिकरणले बनाइरहेको सबस्टेसन र टावरको काम रोक्न माग गर्दै आएका स्थानीयको प्रहरीसँग झडप हुँदा गएरातिसम्मै तनाव सिर्जना भएको हो ।
झडपमा संलग्न भएको भन्दै प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएकोमा चार जनालाई छाडेको छ । १३ जना बौद्ध प्रहरीको हिरासतमा छन् । काममा अवरोध गरेकाले १३ जनालाई हिरासतमा लिइएको काठमाडौं प्रहरीका एसपी नवराज अधिकारीले जानकारी दिए । सबस्टेसन र टावर निर्माणका लागि विहीबार बिहान करिब ११ बजे डोजर पुग्दा स्थानीयले ढुंगा प्रहार गरेर अवरोध गरेका थिए । त्यसपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले रोक्ने क्रममा तनाव सुरु भएको थियो । प्रहरीले विहीबार राति नौ बजेसम्म पनि धरपकड गरेको स्थानीयको आरोप छ ।
नेपाल विद्युत प्राधिकरणले शंखरापुर नगरपालिका–३ स्थित बोझेनीमा तामाकोशी तथा सुनकोशी नदी र तिनका सहायक खोलाहरुमा निर्माण भएका तथा हुने जलविद्युत आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याउन र स्थानीय रुपमा आपूर्तिका लागि ४००÷२२०÷१३२÷११ केभी सबस्टेसन निर्माण गर्न लागिरहेको छ ।
प्रतिक्रिया