राजनीति

एमालेसंग कुनै समस्या छैन : गृहमन्त्री


काठमाडौं — गृहमन्त्री रमेश लेखकले नेपाली काँग्रेस र नेकपा एमाले मिलेर बनेको सरकारमा कुनै समस्या नरहेको दाबी गरेका छन् ।आज नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा निवासमा पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुसँग कार्यप्रगति विवरणबारे जानकारी गराइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले काँग्रेस र एमाले सम्मिलित सरकारमा कुनै बाधा, व्यवधानहरु नरहेको जिकिर गरे ।

उनले सभापतिसँग आफ्नो मन्त्रालयका कामहरु अझ कसरी प्रभावकारी बनाउने भन्नेबारेमा छलफल भएको बताए । नेकपा एमाले र नेपाली काँग्रेसको बीचमा बनेको सात बुँदे सहमतिअनुसार अहिलेको सत्ता समीकरणलाई अघि बढाउने र राम्रो ढंगबाट जनतामा सेवा प्रवाह गर्ने विषयमा छलफल केन्द्रित रहेको बताए । गृहमन्त्री लेखकले पुनः सर्च कमिटी बनाएर संक्रमणकालीन न्यायसँग सम्बन्धित दुई वटै आयोगहरु गठन गर्ने पनि जानरकारी दिए ।