अन्तर्राष्ट्रिय

तहसनहस अमेरिका, विपदसँग हार्यो विश्व शक्ति


अमेरिकाको क्यालिफोर्निया राज्यको प्रमुख सहर लस एन्जलसमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । सुख्खा मौसम र तीव्र गतिमा चलेको हावाले आगो थप फैलिने क्रम रोकिएका छैन ।

अमेरिकाको क्यालिफोर्निया राज्यको प्रमुख सहर लस एन्जलसमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । जनवरी ७ देखि सुरु भएको आगलागीमा परी अहिलेसम्म २५ जनाको मृत्यु भइसकेको छ भने ३० जनाभन्दा बढी बेपत्ता रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । आगलागी सुरु भएको ९ दिन बित्यो । आगो नियन्त्रणमा ल्याउन अमेरिकाले छिमेकी मुलुक क्यानडा र मेक्सिकोकोसमेत सहयोग पाई राखेको छ ।

पीडितहरु हारगुहार गरिरहेका छन् तर विश्वकै शक्ति राष्ट्र अमेरिका आँधी सरी फैलिएको आगो नियन्त्रण गर्न असफल र निरीह बनेको छ । आफ्नो ज्यान जोगाएका पीडितहरु जलेर खरानी भएका बस्ती पुगेर भावविवहल बनेका दृष्यले सबैको ध्यान तानिरहेको छ । आफूहरुमाथि परेको बज्रपातमा उनीहरु आफैँ मन बुझाउन बाध्य छन् ।

प्यासिफिक प्यालिसेड्स, इटन हस्ट, पासाडोना, अल्टडेनासहित दक्षिण क्यालिफोर्निया क्षेत्रमा आगो थप तीव्र रुपमा फैलिरहेको छ । सुख्खा मौसम र तीव्र गतिमा चलेको हावाले आगो नियन्त्रणमा लिन असफल भइरहेका बेला मंगलबारदेखि ‘सेन्टा ऐना विन्ड्स’ तीव्र गतिको हावा सुरु भएपछि अवस्था झन नाजुक बन्दै गएको छ ।

ठूलो जनघनत्व र मुख्यतः हलिउड स्टारहरुको बसोबास रहेको विश्व चर्चित लस एन्जलस आगलागीबाट खरानीमा परिणत भएको छ । समुद्र तथा स्वीमिङ पुलबाट समेत पानी ओसारेर हेलिकप्टर तथा विमानहरुले आकाशबाट पानी खसाले पनि आगो निभाउने सबै प्रयासहरु बिफल भइरहेका छन् ।

लस एन्जलसका बस्तीहरुमा डढेलो सल्केर विपत्ति आइपरेका बेला लुटपाटका घटनासमेत बढेका छन् । अहिलेसम्म लुटपाटमा संलग्न दुई दर्जनभन्दा बढीलाई प्रहरीले पक्राउ गरिसकेको छ । यो डढेलोलाई क्यालिफोर्नियाको इतिहासकै सबैभन्दा विनाशकारी मानिएको छ । तत्काल आगलागी पीडितहरुका लागि सरकारले ७ सय ७० अमेरिकी डल उपलब्ध गराउने घोषणा गरिसकेको छ । यसबाहेक विभिन्न अन्तर्राष्ट्रिय कम्पनीहरुलेसमेत सहयोगको घोषणा गरेका छन् । कोमकाष्ट, एमाजोन, नेटफिल्क्स सहितका कम्पनीले १० मिलियन अमेरिकी डलर सहयोगको घोषणा गरेका छन् । वार्नर ब्रदर्श–डिस्कभरीले १५ मिलियन अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ । सोनी चिप्सले ५ मिलियन र पारामाउन्ट एन्ड फक्स एक मिलियन डलर दिने घोषणा गरेका छन् । यसैगरी डिज्नीले १५ मिलियन सहयोग गर्ने जनाएको छ । अन्य विभिन्न माध्यमबाट सहयोग संकलन भइरहेको छ । भीषण आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आइसकेको छैन । यद्यपि, डढेलोले खरानीमा परिणत भएको लस एन्जलस फेरि पुरानै अवस्थामा फर्किन कति समय लाग्छ ? त्यो भने अहिले नै निश्चित छैन ।