एमालेमा अध्यक्ष केपी शर्मा ओलीमाथिको प्रश्न बलियो बन्दै गएको छ । खासगरी व्यक्तिवादी सोच र शैली तथा बोलेकै कारण कारबाहीको लहर चलाएपछि उनीविरुद्ध पार्टीभित्रै आवाज बढ्न थालेको छ । त्यसमाथि पूर्वमाओवादी नेताहरुले जिम्मवारी नपाएको गुनासो गरिरहेकै समय ओलीसँग जुध्न नसकिने भएकाले चुप लागेको भन्दै सचिव लेखराज भट्टले भडास पोखेको भिडियो सार्वजनिक भएको छ ।
एमालेका सचिव तथा पूर्वमाओवादी नेता लेखराज भट्टको भिडियो काण्डले बजार तताएको छ । एमालेमा रहेका पूर्वमाओवादी नेताहरुमध्ये सक्रिय रहेका एक्लो वृहस्पति लेखराज मात्र हुन् । टोपबहादुर रायमाझी जेलमा छन् । छोराले जेलको हावा खाइसकेपछि रामबहादुर थापा बादल निष्क्रिय जस्तै छन् । यही अवस्थामा सार्वजनिक भिडियोले एक्ला वृहस्पति भट्टको राजनीतिक जीवनमासमेत ग्रहण लगाइदिने जोखिम बढेको छ । किनकि उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीको शैलीमाथि प्रश्न उठाएका छन् । एमालेमा पार्टीका फोरमबाहेक एमाले नेतृत्वविरुद्ध बोल्न पाइँदैन ।
यसरी बोलेकै कारण डा. भीम रावलसहित तीन पार्टी सदस्य कारबाहीमा परिसकेका छन् । त्यसको एक महिना बित्न नपाउँदै सार्वजनिक भिडियोमा भट्टले ओलीसँग सिंगौरी खेल्न नसकिने र एमालेमा व्यक्तिवादी प्रवृत्ति हाबी भएको भन्दै ओलीप्रति असन्तुष्टिको विस्फोट गरेका छन् ।
हुन त भीम रावल पार्टीबाट निष्कासित भएको भोलिपल्टै लेखराजसहित ४६ जनाले एकैपटक एमाले छाडेको हल्ला चल्यो । भट्ट जनयुद्ध लडेका खाँटी माओवादी हुन् । तर, २०७७ सालमा सर्वोच्च अदालतले नेकपा फुटाइ दिएपछि उनले एमाले रोजे । भीम रावललाई पाखा लगाएरै भट्ट एमालेको सुदूरपश्चिम इन्चार्ज बनेकाले यो खबर खासै पत्याउँदो थिएन । पछि ४६ नेताहरुले नै हस्ताक्षर दुरुपयोग भएको स्पष्ट पारेपछि यो संकट टरेको थियो ।
तर, भट्टले ओलीसँग सिधै जुध्न नसकिने, एमाले नेताहरुमा अहंकार भरिएको लगायत शब्द प्रयोग गरेका छन् । संयोग पनि कस्तो मिलेको छ भने यी घटनाक्रम भएयता भट्टले अस्वभाविक सक्रियता बढाएका थिए । आफूले एमाले नछाडेको, नेतृत्वसँग राम्रै सम्बन्ध रहेको तथा ओली नेतृत्वको सरकार नढल्ने स्पष्टीकरण दिन कुनै कसर बाँकी राखेका थिएनन् ।
अहिले सार्वजनिक भिडियो भट्टकै निवास कैलालीस्थित अत्तरियामा खिचिएको हो ।
एमालेकै सदस्यले खिचेको भिडियो अहिले भीम रावल पक्ष र माओवादीले सार्वजनिक गरेको स्रोत बताउँछ । लेखराजले भने यो अभिव्यक्ति प्रदेश अधिवेशनका बेला दुई वर्षअघि नेताहरुले आफ्नो पोजिसन सोधेपछि कन्भिन्स गर्ने क्रममा बोलेको स्वीकारेका छन् । आफूलाई प्रदेश इन्चार्ज भएको हेर्न मन नपराएकाहरुले यस्तो हर्कत देखाएको उनको टिप्प्णी छ ।
‘भन्न त भा छैन, कसैलाई थाहा छैन’ भनेझैँ एमालेमा पूर्वमाओवादीहरु पेलिएको गुनासो १० औँ महाधिवेशनदेखि नै रहँदै आएको छ । माओवादी र जनयुद्धमाथि एमालेले निर्मम प्रहार गर्दा असोज ९ गते लेखराज स्वयं पनि यो भुंग्रोमा परेका थिए । महासचिव शंकर पोखरेलले माओवादीले भन्ने जनयुद्ध हिंसा मात्र नभई आतङ्क भएको जिकिर गर्दा भट्टसँग शिर निहुराउनुबाहेक विकल्प थिएन ।
पुस २३ गतेको केन्द्रीय कमिटी बैठकमासमेत पूर्व माओवादी नेताहरुलाई नेतृत्वले हेपेको कुरा उठ्दा पार्टी अध्यक्ष ओलीले एमालेमा आइसकेपछि कोही पूर्व नभएको टिप्पणीसमेत गरेका थिए । तर, उचित भूमिका दिने भन्दै ओलीले पार्टीमा भित्र्याए पनि जिम्मेवारी नदिएको आरोप लगाउने गरेका छन् । यीनै गतिविधिले एमालेका १० भाइ र पूर्वमाओवादी नेताहरुको हबिगत एउटै हुने चिन्तासमेत देखिन्छ । अर्कोतर्फ यीनै घटनाक्रमले ओलीको ड्यामेज झनै बढाइरहेको जानकारहरु बताउँछन् ।
माओवादी आन्दोलन कमजोर भएको र त्यसको मूल जड प्रचण्ड नै भएको भन्दै माओवादी छाडेका भट्ट अहिले एमालेमा पनि त्यही नियतिको सिकार भएका छन् । भट्टको यो असन्तुष्टिसहितको भडास ओली क्याम्पमा पुगिसकेको हुनुपर्छ । भिडियो सार्वजनिक गर्नेको खोजी गरिरहेको खगराजले योहो टेलिभिजनलाई बताएका छन् । तर, भिडियो र स्क्रिनसट संग्रह गरी राख्ने समूहमार्फत ओलीको कानमा लेखराजको आवाज गुन्जिए रेडलिस्टको सूचीमा लेखराजको नाम थपिने पक्का छ ।
प्रतिक्रिया