आज माघ एक गते । हरेक वर्ष यस दिन मकर संक्रान्ति, माघे संक्रान्तिको रुपमा विभिन्न समुदायले मनाउने गरेका छन् । थारु र मगर समुदायले विशेष महत्वका साथ यो पर्व मनाउने गर्दछन् । थारु र मगर समुदायको नयाँ वर्षसमेत रहेको माघे संक्रान्ति यस वर्ष पनि देशभर हर्षोल्लासका साथ मनाइएको छ ।
माघ महिनाको पहिलो दिन मंगलबार देशभर ‘मकर संक्रान्ति’ पर्व मनाइएको छ । ज्योतिष शास्त्र अनुसार सौरमासको हिसाबलेसूर्य धनु राशिबाट मकर राशिमा प्रवेशगर्ने हुनाले यसलाई ‘मकर संक्रान्ति’ भनिएको हो । ‘पुसको पाक्य माघमा खाक्य’ भन्ने उक्ति अनुसार नै हिजो पुसमा पकाएको तरुल लगायतको कन्दमुल आज माघ लागेसँगै खाएर मनाइएको छ । माघे संक्रान्ति पनि भनिने यो पर्वलाई मगर र थारु समुदायले नयाँ वर्षको रुपमासमेत लिने गर्छन् । यसअवसरमा आआफ्नो परम्पराअनुसारगोरु जुधाउनेदेखि देशभर विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइएको हो ।
मकर संक्रान्ति,माघे सकराती तथा माघी नामले चिनिने यो नेपालको प्रमुख एक चाड हो । मगर समुदायको मुख्य पर्व माघे सकराती पर्वलाई नयाँ वर्षको रुपमा मनाउने गरेका छन् । मगर समुदायले आफ्ना पितृहरुलाई सम्मान गर्ने, प्रकृतिलाई पुज्ने र आफ्ना चेलीहरूलाई पुज्दै पारिवारिक रुपमा हर्षोल्लासका साथ यो पर्व मनाउने गरेका छन् ।एक–आपसमा शुभकामना साटासाट गरेर यो पर्व मनाइन्छ । आ–आफ्नो भेषभुषा तथा गरगहनामा सजिएर मगर समुदायले यस पर्व हर्षोल्लासका साथ मनाउने छन् । यस अवसरमा मगर समुदायले काठमाडौंको टुँडिखेलमा महोत्सव नै आयोजना गरेर माघे सकराती पर्व मनाएको छ । महोत्सवमा मगर समुदायको विभिन्न झाँकी तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । मौलिक संस्कार, संस्कृतिको संरक्षण र संवद्र्धन गर्दै पुस्तान्तरण गर्न माघे सकरातीले विशेष भूमिका खेलेको मगर समुदायका अग्रजको भनाइ छ ।
माघे संक्रान्तिलाई थारु समुदायले माघी पर्वको रुपमा मनाउने गर्दछन् । माघमा सबै काम सकेर नयाँ अन्न भित्र्याउने गरेसँगै थारु समुदायले माघीलाई नयाँ वर्षका रूपमा मनाएका छन् । आगोको धुनी बाल्दै डफ र मादलसँगै धुमरी गाउँदै रातभर जाग्राम बस्ने चलन छ । माघी पर्वको दिन बिहान सबेरै नजिकैको नदी तथा तालतलैयामा स्नान गरिन्छ । स्नानपश्चात पूजा र भाकल गरे सन्तान सुख प्राप्ति र मनोकांक्षा पूरा हुने यस समुदायको विश्वास छ । यस दिन ठूलाबडासँग आशीर्वाद लिने, मुखिया चुन्ने र आगामी दिनमा नयाँ सोचका साथ अघि बढ्ने कामनासहित विभिन्न परिकार खाएर मनाउने गरिन्छ । ढिक्री, अण्डिक भात, खिचरी, तिलको लड्डु, लाईमुरी, भुजा, अन्डी जाँडको झोल, सखरखण्ड, खरिया, सुँगुर÷बँगुरको मासु, परेवाको मासु, माछा, घोंघी, गङ्गटो आदिको परिकारहरु खाएर थारुहरुले रमाइलो गर्ने गर्छन् । माघीपर्वमा तयार गरिने थारु परिकार पछिल्लो समय भने यस समुदायभित्र मात्रै सीमित नभई अन्य समुदायमा पनि रुचाइन थालिएको छ । जसले थारु परिकारका साथै संस्कार, संस्कृतिको प्रचार भइरहेको थारु अगुवाहरुको भनाइ छ।
नेपाली समाजमा माघ १ गतेकोछुट्टै विशेषता रहँदै आएको छ । कसैले मकर संक्रान्तिको रुपमा मनाउँछन् त थारु समुदायले माघी र खिचरा पर्व, मगर समुदायले माघे सकराती, किरात समुदायले येले थोचे अर्थात् नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । त्यस्तै माघ एक गतेलाई नेवार समुदायले घिउ चाकु खाने दिनको रुपमामनाउँछन् । मितिले माघ एक भए पनि पर्वका हिसाबले यसका विविध आयाम छन् ।
मकर संक्रान्तिलाई समुदाय अनुसार फरक नामले सम्बोधन गरिए पनि यसको उल्लास भने देशभर हुने गरेको छ । माघी, माघे संक्रान्ति जस्तो पर्वहरुले नेपाली संस्कृतिलाई जोगाउन महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । यसका साथै सांस्कृतिक विविधता हस्तान्तरण र पुस्तान्तरणमा यस्ता पर्वहरु महत्वपूर्ण बन्ने गरेका छन् । साथै मौलिक चाड, पर्वको संरक्षण र सम्र्वद्धनमा आ–आफ्नो समुदायबाट भइरहेको कार्य निक्कै सरहानीय रहँदै आएको छ ।
प्रतिक्रिया