काठमाडौँ – सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतमा जारी थुनछेक बहस लम्बिँदा पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने आज पनि न्यायिक हिरासतमा पठाइने सम्भावना देखिएको छ ।
न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बहस जारी छ । सरकारी वकिलका तर्फबाट गरिने बहस सकिएपछि जाहेरवाला पक्षका कानून व्यवसायी बहस गरिरहेका छन् । यो समाचार सम्प्रेषण भएको समयमा वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले बहस गरिरहेका छन् । यसपछि जाहेरवालाकै तर्फबाट अर्का वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र त्यसपछि स्वागत नेपाललगायतले बहस गर्न बाँकी छ । जाहेरवालाका तर्फबाट वकालतनामा पेश गर्ने कानुन व्यवसायीको संख्या बढिरहेको छ ।
जिल्ला अदालतस्रोतका अनुसार कार्यालय समयभित्र मात्रै बहस गराइने र नसकिए बुधबारमात्रै गराइने तयारी छ । लामिछानेको तर्फबाट बहस गर्न पुगेका पूर्वमहान्यायाधीवक्ता रमणकुमार श्रेष्ठले न्यायाधीश अधिकारीसँग आफ्नो पालोबारे सोधे ।
न्यायाधीशले ‘नआत्तिनुस्’ मात्रै भने । रास्वपा अनुशासन आयोगका पूर्वउपप्रमुख तथा अधिवक्ता यज्ञमणि न्यौपानेले अदालतको राम्रो नियत नरहेको शंका व्यक्त गरे । नेपाल प्रेससँग कुरा गर्दै उनले भने, ‘आज त नसकिएला, पर्सि पनि कसो कसो गरेर लम्ब्याउने बुझिन्छ ।’भोलि मंगलबार माघे संक्रान्तिको अवसरमा सरकारी बिदा दिइएको कारण अदालत खुल्दैन । यदि बहस नसकिएर रवि न्यायीक हिरासतमा राखिए भने बुधबारसम्म उनले फेरि त्यहीँ बस्नुपर्छ ।
विहान इजलास बस्नुअघि दुई घण्टामा बहस सिध्याउन न्यायाधीश अधिकारीले कानुन व्यवसायीहरुलाई आग्रह गरेका थिए । तर, त्यति समयमा सरकारी वकिलकै बहस सकिएन । दिउँसो २ बजे खाजा समयपछि यति बेलासम्ममा एकजनाले मात्रै बहस गरिरहेका छन् ।
प्रतिक्रिया