काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति रवि लामिछानेको बयान सुरु भएको छ । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा लामिछानेको बयान सुरु भएको हो ।
लामिछाने बिहान १० बजेअघि नै अदालतमा उपस्थित भएकाहुन । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत अपचलन प्रकरणमा पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । उक्त मुद्दामा दुईजना धरौटी तिरेर रिहा भइसकेका छन् । लामिछाने उपस्थित भएसँगै बयानपछि थुनछेक बहस हुनेछ ।
बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश नितिजकुमार राईको इजलासले लामिछाने सहित ७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
पोखराको सूर्यदर्शन सहकारी संस्थाको बचत अपचलन मुद्दामा कास्की अदालतले बिहीबार लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गरेको थियो । लामिछानेले आफै काठमाडौं अदालत उपस्थित हुने भनेपछि कास्की प्रहरीले पार्टी र परिवारको जिम्मा लगाएको थियो ।
लामिछानेविरुद्ध काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीको अभियोगमा पनि मुद्दा दर्ता भएको थियो । स्वर्णलक्ष्मीबाट गोर्खा मिडिया नेटवर्कमा कानुन विपरीत ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ गएको प्रहरी अनुसन्धानले देखाएको छ । सरकारी वकिलले रविलाई सो रकम बिगो मागदाबी राखेका छन् ।
प्रतिक्रिया