Breaking

राजावादीलाई एक ढिक्का पार्दै पूर्वराजा, भीम रावल र दुर्गा प्रसाईँ मिसाउने(भिडियो)


काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले विहीवार देशबासीका नाममा भिडियो सन्देश जारी गरे । सन्दर्भ ३०३ औँ पृथ्वी जयन्तीको शुभकामना केन्द्रित थियो तर साढे ११ मिनेटको भिडियो सन्देशमा उनले सभ्य भाषामा गणतन्त्रलाई गाली र राजनीतिक दलप्रतिको तीव्र असन्तुष्टि पोखेका छन् ।

पूर्ण प्रजातन्त्र नेपाली जनताको सपनामा सीमित रहेको टिप्पणी गर्दै स्वतन्त्रता र आवधिक निर्वाचनलाई मात्रै प्रजातन्त्र मान्न नसकिने प्रष्टीकरण दिएका छन् । दिन प्रतिदिन भूराजनीति जोखिमपूर्ण र जटिल बन्दै गएको भन्दै राष्ट्र निर्माता पृथ्वीनारायण शाहको दिव्योपदेश अहिले सान्दर्भिक भएको उल्लेख गरेका छन् । नेपाल कसैको रणमैदान नभएको, तर अहिले सुनको कमण्डलु थापेर सहयोगको भिख माग्नुपरेको भन्दै असन्तुष्टिसमेत व्यक्त गरेका छन् । पछिल्लो राजनीतिक परिदृश्यमाथि असन्तुष्ट पूर्वराजा शाह फेरि एकपटक दलहरु असफल भएको करार गर्न उत्रिएका छन् ।

पूर्वराजा शाहको यो भिडियो सन्देशलाई लिएर अहिले विभिन्न ढंगले टिकाटिप्पणी भइरहेको छ । यद्यपि यस्ता भिडियो सन्देशमा दलहरुको आलोचना गरिनु नयाँ भने होइन । कहिले चाडपर्व त कहिले जयन्ती वा सार्वजनिक समारोहमा सहभागी भएर जनतासँग जोडिने पूर्वराजाका प्रयासहरु सामान्य प्राय बनेका छन् । समय–समयमा देश दौडाहा गर्ने पूर्वराजाको प्राथमिकतामा पछिल्लो समय विदेश दौडाहाको शृङखलासमेत प्राथमिकतामा पर्दै आएको छ ।

केही समय अघि उनले छिमेकी मुलुक भुटानको भ्रमण गरेका थिए । विमानस्थलमै रेड कार्पेट बिछ्याउनेदेखि अघोषित रुपमा राजकीय सम्मानका साथ भुटान भ्रमण गरेका शाह हालै सुटुक्क भारत पुगेर फर्केका हुन् । अघिल्लो साता भारतको लखनउ पुगेका शाहले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट गरेका थिए । यसपछि स्वदेश फर्किनासाथ पूर्वराजा ज्ञानेन्द्रले भिडियो सन्देशमार्फत जनतासँग जोडिने प्रयास गरेका छन् । आफू सक्रिय भएको देखाएर राजावादीहरुलाई उक्साउने उनको प्रयास निरन्तर चल्दै आएको छ ।

राजसंस्थाको विरासत धान्ने धङधङ्गीसहित राजनीतिको रोटी सेक्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीको सदनमा जम्मा १४ सिट छ । यद्यपि आफ्नो विरासत धान्ने धङधङ्गी पूर्वराजामा पनि समय समयमा प्रकट हुने गरेको छ । राजावादी एवं राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, कमल थापादेखि दुर्गा प्रसाईंसम्मको हुल देखेर उनी हौसिँदै आएका छन् । यता पूर्वराजाको सक्रियताले राजावादीहरु हौसिने नै भए । अहिले पूर्वराजाको सक्रियताले हुन सक्छ विभिन्न कालखण्डमा टुक्रिएका राजावादीहरु मिलनको साइत जुराउन जुटेका छन् । राजेन्द्र लिङदेन र कमल थापा एकताको हल्ला पिटिरहेका छन् ।

यसैगरी केही दिनअघि मात्रै एमालेबाट निष्कासित भीम रावललाई समेत आफ्नो कित्तामा तान्ने तयारीमा उनीहरु लागेको हल्ला राजनीतिक वृत्तमा छ । राष्ट्रवादी शक्तिसँग जोडिन सक्ने, एकता गर्न सक्ने सूत्रसहित राजनीतिक रुपमा अघि बढेका रावल मातृभूमी जागरण अभियानमा जुटेका छन् । यद्यपि राजनीतिक रुपमा पृथ्वीनारायण शाहको विचार आत्मसाथ गरे पनि पूर्वराजा वा राजावादीहरु रावलको रोजाईमा परिहाल्ने अवस्था भने कमजोर देखिन्छ ।

बाँकी भिडियो सहित