Breaking

देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः पानी पर्ने पूर्वानुमान


हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज बिहान कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनााएको छ।तराईका थोरै भू–भागमा हुस्सु लागेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान गरिएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव काठमाडौंमा पनि हल्का पर्ने मौसमविद्हरूले जनाएका छन् ।

काठमाडौंमा साँझ खण्डित वर्षा हुने पूर्वानुमान गरिएको छ । यस्तै, उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।