Breaking

अमेरिकामा डर लाग्दो आगलागी,नियन्त्रणका प्रयास असफल,बाइडेनले विदेश यात्रा रोके (भिडियो)


अमेरिका । विश्वकै शक्तिशाली मानिने अमेरिका क्यालिफोर्निया राज्यको लसएन्जलस क्षेत्रमा फैलिएको डढेलो सामू निरीह सावित भएको छ । प्यासिफिक प्यालिसेड्समा मंगलबार बिहानदेखि सुरु भएको डढेलो फैलिने क्रम रोकिएको छैन । डढेलो भयावह बन्दा लसएन्जलस शहरको ठूलो क्षेत्र जलेर खरानी भएको बीबीसीले जनाएको छ ।

कयौं घर, पसल, स्कुल, प्रार्थनास्थल, होटलहरू जलेर नष्ट भएका छन् ।हेलिकप्टर र दमकलबाट डढेलो निभाउने प्रयास जारी रहे पनि प्रभावकारी देखिएको छैन । डढेलो नियन्त्रणका लागि गरिएका प्रयास लगभग पूरै विफल भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । पानीको समेत अभाव हुन थालेको बीबीसीले जनाएको छ । हालसम्म ५ जनाको मृत्यु भइसकेको छ भने कम्तिमा एक लाखजना व्यक्ति घर छाड्न बाध्य भएका छन् ।

अहिलेसम्म एक हजारभन्दा बढी घर तथा भवनहरू क्षतिग्रस्त भएका छन् । एरिजोनासहित क्यालिफोर्निया बाहिरका कर्मचारीहरु पनि लस एन्जलसका अग्नि नियन्त्रकलाई सहयोग गर्न खटिएका छन् । आगलागीका कारण ३० हजार भवनहरू जोखिममा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । केही भिडियोहरूमा प्यासिफिक पेलिसाडेस क्षेत्र छेउका घरहरू नजिकबाट धुवाँको मुस्लो उठिरहेको देखिएको छ । उक्त क्षेत्रमा बस्ने मानिसहरू सुरक्षित स्थानतर्फ भागेका देखिन्छन् । आगो नियन्त्रणमा लिन अमेरिका सरकारले हेलिकप्टरको प्रयोग गरिरहेको छ ।

यता क्यालिफोर्नियाका लाखौँ मानिसहरूका लागि चेतावनी जारी गरिएको छ । आगो नियन्त्रणमा आउन नसकेकाले थप क्षेत्रमा फैलने खतरा कायम रहेको अधिकारीहरूले बताएका छन् । आगलागी प्रभावित क्षेत्रहरूबाट एक लाखभन्दा बढी मानिस विस्थापित भएका छन् । आगलागी नियन्त्रणका लागि एरिजोनासहित क्यालिफोर्निया बाहिरबाट समेत अग्नि नियन्त्रक मगाइएको छ । आगलागीपछि सो क्षेत्रमा आपतकाल घोषणा गरिएको छ । यसैबीच, ह्वाइट हाउसबाट बाहिरिन लागेका राष्ट्रपति जो बाइडेनले आफ्नो कार्यकालको अन्तिम विदेश भ्रमणको रुपमा रहेको इटालीको यात्रासमेत रद्द गरेका छन् ।

बाँकि भिडियो सहित