Breaking

चिसो बढेसँगै तराईँ–मधेशमा शीतलहर, जनजीवन कष्टकर


काठमाडौं । लगातारको चिसोसँगै तराईका विभिन्न जिल्लामा शीतलहरको जोखिम बढेको छ।

लगातार पाँच दिनदेखि हुस्सुले ढाकेको तराईका जिल्लामा चिसोसँगै शीतलहरको असरबाट बच्नका लागि पर्याप्त पूर्वतयारी हुनसकेको छैन। चिसोका कारण तराई–मधेशको जनजीवन कष्टकर बनेको छ ।

शीतलहरका कारण ११ वर्षको अवधिमा करिब एक सय १६ जनाले ज्यान गुमाएको सरकारी तथ्यांक छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०६८ सालदेखि हालसम्म एक सय १६ जनाले मृत्यु भएको छ ।

प्राधिकरणका अनुसार बढी प्रभावित जिल्लामा सुनसरीको दक्षिणी भाग, सप्तरी, सिरहा, धनुषा महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासीपश्चिम र कपिलवस्तु गरी ११ जिल्ला छन् ।

यस्तै, झापा, मोरङ, उदयपुर, चितवन, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलगायत भने कम प्रभावित जिल्लामा पर्छन्।