काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफूलाई थुनामुक्त गर्न अदालतसँग याचना गरेका छन् । आज इजलासमा न्यायाधीशले बोल्न समय दिएपश्चात उनले आफ्नो भनाइ राखेका थिए । रविले सहकारीको पैसा फिर्ता गराउन आफूले पहल गर्ने भन्दै बाहिर बसेर मुद्दा लड्न पाउनुपर्ने बताए ।
उनले भने, ‘म गृहमन्त्री हुँदा पनि शक्तिको दुरुपयोग गरिनँ । सहकारीको पैसा फिर्ता गर्न निरन्तर प्रयास गर्छु । प्रत्येक पटक सहकारीपिडितको पक्षमा मैले गरेका कामको फाइल लिएर आउने छु । कम्पनीमा आएको पैसा खर्च गर्नु आफ्नो जिम्मेवारीको कुरा भएको उनले प्रष्ट पारे । संसदीय छानविन समतिले पनि कम्पनी ऐन अनुसार गरिएको र सहकारीबाट पैसा लिने प्रक्रियामा आफ्नो संलग्नता नरहेको निचोड निकालेको उनले सुनाए । कानून मिचेर मुद्दा दर्ता भएको रविले आरोप लगाए ।
पीडितको पक्षमा निरन्तर लागिपर्छु । मलाई छोडिदिनुस श्रीमान । प्रत्येक पटक आउँदा सहकारी पिडितको पक्षमा काम गरेको प्रमाण लिएर आउनेछु,’ रविले भने । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्की जिल्ला अदालतमा जारी सरकारी वकिलको जवाफी बहस सकिएको छ । आरोपी रवि लामिछानेसहित सातै प्रतिवादीमाथिको सरकारी वकिलको जवाफी बहस सकिएको हो ।
जिल्ला सरकारी वकिल कार्यालयकी न्यायाधिवक्ता कमला काफ्ले र उच्च सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता गोविन्द गौलीले जवाफी बहस गरेका हुन् । अब प्रतिवादीलाई आफ्ना कुरा राख्न समय दिइने भएको छ । यो मुद्दाको आजै आदेश आउने सम्भावना रहेकोले सुरक्षा व्यवस्था निकै कडा गरिएको छ ।
प्रतिक्रिया