Breaking

रवि लामिछाने जोडिएको सहकारी मुद्दामा आज सरकारी वकिलले जवाफी बहस गर्दै


कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहितको मुद्दामा आज सरकारी वकिलले जवाफी बहस गर्दै छन् ।

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी प्रतिवादीहरू र जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीको बहस सकिएको छ । सरकारी वकिलले जवाफी बहसपछि निर्णय आउने कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए।

न्यायाधीश नीतिज राईको इजलासमा यही पुस १६ गतेदेखि उक्त मुद्दाका सातजना प्रतिवादीहरुको थुनछेक बहस जारी छ।थुनछेक बहसपछि प्रतिवादीहरुलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने भन्ने आदेश हुनेछ।

यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। लामिछानेसहित १९ जनाविरुद्ध संगठित अपराधमा समेत मुद्दा लागेको छ।