Breaking

विपिनको रिहाइमा पहल गरिदिन इजरायली सरकारलाई परराष्ट्रमन्त्री राणाको आग्रह


काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले विपिन जोशीको रिहाइका लागि पहल गरिदिन इजरायली सरकारलाई आग्रह गरेकी छन् ।

परराष्ट्रमन्त्री डा. देउवाले नेपालका लागि इजरायली राजदूत समुलिक एरी बासमार्फत इजरायल सरकारसँग हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि आग्रह गरेकी छन् । आज मन्त्रालयमा भेटवार्ताका क्रममा राजदूत बाससँग उनले नेपाली विद्यार्थी विपिनको अवस्थाका बारेमा जानकारी लिँदै हमासको नियन्त्रणबाट मुक्त गराउन पहल गर्न इजरायल सरकारसँग आग्रह गरेकी हुन् ।

हमास समूहले आफ्नो नियन्त्रणमा रहेकामध्ये ३४ जनालाई अपहरण मुक्त गर्न लागेका भन्ने समाचार आएकाले जोशीको रिहाइलाई विशेष प्राथमिकतामा राख्न मन्त्री राणाले राजदूत बासमार्फत इजरायल सरकारलाई आग्रह गरिन् ।

सन् २०२३ को अक्टोबरमा इजरायली भूमिमा आक्रमण गरी प्यालेस्टाइनी हमास समूहले १० जना नेपालीसहित एक हजारभन्दा बढी व्यक्तिको हत्या गरेका थिए । त्यसलगत्तै उनीहरुले केही व्यक्तिलाई अपहरण गरी लागेकामा विपिन जोशी पनि छन् ।