वाशिङ्टन डिसी । पेशागत पत्रकारहरूको स्वतन्त्र, साझा, र छाता संगठनका रूपमा अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिका स्थापना भएको छ । अमेरिकामा दर्ता भई सर्वसम्मत रूपमा पहिलो कार्य समिति गठन पनि गरिएको छ ।
अमेरिकाको प्रचलित नियम कानुन अनुसार स्थापित र गठित संस्था अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिका पत्रकारहरूको अन्तर्राष्ट्रिय छाता संगठन हुने छ र यसले पत्रकार र पत्रकारिता क्षेत्रका लागि स्वतन्त्र र निष्पक्ष ढंगले काम गर्ने उद्देश्य लिएको छ। संस्थाको प्रधान कार्यालय भर्जिनिया, अमेरिकामा रहने छ भने संसार भर विभिन्न देशहरूमा देश स्तरीय शाखाहरू स्थापना गर्ने तयारी महासंघले गरेको छ।
पुरानादेखि नयाँ सम्म अधिकांश वरिष्ठ पत्रकारहरू कार्य समितिमा रहेका छन् भने आगामी दिनमा महासंघ लाई बिस्तार गर्दै लगिने र संस्थामा पेशागत पत्रकारहरू मात्र रहने महासंघले स्पष्ट गरेको छ।
कान्तिपुर राष्ट्रिय दैनिकका संस्थापक प्रधान सम्पादक एबम अग्रज पत्रकार योगेश उपाध्याय, हिमालय टाइम्स राष्ट्रिय दैनिकका प्रधान सम्पादक, नेपालबाणी, राष्ट्रपुकारका पूर्व प्रधान सम्पादक एबम राससका पूर्व अध्यक्ष तथा महाप्रबन्धक अग्रज पत्रकार प्रा. पुरुषोत्तम दाहाल, मोफसलका अग्रज पत्रकार, दैनिक पत्र, जन संघर्ष, स्वाधीनका प्रधान सम्पादक एबम राससका पूर्व अध्यक्ष डा. बालकृष्ण चापागाईँ, यसै गरी गोरखापत्र संस्थान तथा राससका पूर्व अध्यक्ष, जनहित, विमर्शका पूर्व सम्पादक, अग्रज पत्रकार पुरु घिमिरे, कान्तिपुर दैनिकदेखि विभिन्न मिडियाहरू हुँदै हाल हिमालय खबरका प्रधान सम्पादक समेत रहेका वरिष्ठ पत्रकार विजय घिमिरे महासंघको सल्लाहकार रहेका छन्।
अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिकाको नव गठित कार्य समितिको अध्यक्षमा नेपाल मदर डट कमका प्रधान सम्पादक, एभेन्ज्युज खबर टेलिभिजनका अमेरिका सम्पादक जो रेडियो नेपाल, नेपाल टेलिभिजन, विभिन्न राष्ट्रिय स्तरका पत्र पत्रिका र अन्य मिडियाहरूका पूर्व प्रधान सम्पादक एबम वरिष्ठ पत्रकार, गायक तथा कलाकार रामप्रसाद खनाल छानिएका छन्।
महासंघको उपाध्यक्षमा क्रमशः अन्नपूर्ण राष्ट्रिय दैनिकका प्रधान सम्पादक, लोकपत्रदेखि विभिन्न पत्र पत्रिकामा लामो समयदेखि पत्रकारिता गरेका वरिष्ठ पत्रकार अखण्ड भण्डारी, योहो टेलिभिजनका प्रमुख, समकालीनदेखि धेरै मिडियाहरूमा लामो समय पत्रकारिता गर्दै आएका वरिष्ठ पत्रकार जीवराम भण्डारी, एभेन्युज खबर टेलिभिजनका समाचार प्रमुख, कैयौँ टेलिभिजनहरू, पत्र पत्रपत्रिका सम्पादकको रूपमा काम गरेका वरिष्ठ पत्रकार केदार कोइराला र नेपाल समाचार पत्रकाका पूर्व सम्पादक, जनता टेलिभिजनका समाचार प्रमुख, कैयौँ पत्रपत्रिकाका सम्पादक रहिसकेका वरिष्ठ पत्रकार टंक पन्त छानिएका छन्।
यसै गरी उपाध्यक्षमा पत्रकारितामा लामो समयदेखि क्रियाशील पत्रकार, अमेरिकाबाट प्रकाशित नेपलिज डायस्पोराका प्रधान सम्पादक सतिश चापागाईँ रहेका छन्।
यसै गरी महासंघको महासचिवमा स्वतन्त्र पत्रकार, खोज पत्रकारिताका धरोहर, माइक्रोसफ्टका सफ्टवेयर इन्जिनियर समेत रहेका चर्चित पत्रकार टंक दाहाल छानिएका छन् भने सचिवमा विभिन्न राष्ट्रिय दैनिकहरू, अनलाइनहरूदेखि स्वतन्त्र पत्रकारितामा पनि उत्तिकै क्रियाशील वरिष्ठ पत्रकार अनिल अधिकारी रहेका छन्। कोषाध्यक्षमा कलाकार समेत रहेका सक्रिय युवा पत्रकार, डिसी नेपाल डटकमका अमेरिका ब्युरो चिफ अर्जुन दाहाल छानिएका छन्।
सबै महादेशहरू बाट प्रतिनिधित्व हुने गरी अन्तर्राष्ट्रिय पत्रकार महासंघलाई पूर्णता दिइने छ। केही समय भित्रै नेपाल, बेलायत, अस्ट्रेलिया, जापान, क्यानाडा लगायतका देशहरूमा शाखा निर्माण गरिने छ भने यसै गरी अन्य देशहरूमा पनि शाखा बिस्तार गरिँदै लगिने योजना छ।
प्रतिक्रिया