अन्तर्राष्ट्रिय

किमको मिसाइल मोह, एकपछि अर्को ठूला हतियार प्रक्षेपण, शक्तिशाली देश सशंकित


उत्तर कोरियाले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनको दक्षिण कोरिया आगमनका बीच मिसाइल प्रक्षेपण गरेको छ । यसले सिधै अमेरिकालाई चुुनौती दिन उत्तर कोरियाले जानाजान मिसाइल प्रहार गरेको विश्लेषण भइरहेको छ । केही प्रमुख नेताहरूसँग वार्ताका लागि ब्लिन्केनले सियोलको भ्रमण गर्दैगर्दा मिसाइल प्रक्षेपण भएको हो ।

दक्षिण कोरियामा जारी राजनीतिक उथलपुथलका बीच उत्तर कोरियाले मध्यम दूरीको ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको छ । दक्षिण कोरियाको सेनाका अनुसार प्योङयाङले दुई महिनामा पहिलो मिसाइल प्रक्षेपण गरेको हो । क्षेप्यास्त्र समुद्रमा खस्नुभन्दा पहिले ११०० किलोमिटर टाढा उडेको थियो । यता ब्यालेस्टिक मिसाइल प्रहारको घटनाप्रति दक्षिण कोरियाले कडा निन्दा गरेको छ ।

साथै उत्तर कोरियाले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनको दक्षिण कोरिया आगमनका बीच मिसाइल प्रहार गरेर आफ्नो शक्ति प्रदर्शन गर्न खोजेको देखिन्छ । यसका साथै उत्तर कोरियाले अमेरिकालाई ठाडो चुनौती प्रस्तुत गरेको रुपमा पनि विश्लेषण भइरहेको छ । दक्षिण कोरियाका केही प्रमुख नेताहरूसँग वार्ताका लागि ब्लिन्केनले सियोल भ्रमण गर्दैगर्दा यो प्रक्षेपण भएको हो । विदेशमन्त्री ब्लिन्केनले सियोलमा रहँदा ‘स्वतन्त्र, खुला र समृद्ध इन्डो–प्यासिफिक’ प्रवद्र्धन गर्ने प्रयासलाई कसरी बढावा दिन सकिन्छ भन्ने विषयमा छलफल गर्ने बताइएको छ ।

विदेशमन्त्री ब्लिन्केन जनवरी ४ देखि ९ सम्म दक्षिण कोरिया, जापान र फ्रान्सको भ्रमणमा छन् । ब्लिन्केनले कार्यवाहक राष्ट्रपति चोई संग–मोकसँग भेट गरेका छन् । जहाँ उनले वाशिंगटन र सियोल बीचको गठबन्धनलाई “कोरियाली प्रायद्वीपमा शान्ति र स्थिरताको आधारशिला“ भनेर वर्णन गरेका छन् । दक्षिण कोरियाको सेनाले उत्तरको भावी क्षेप्यास्त्र प्रक्षेपणका लागि निगरानीलाई बलियो बनाएको र अमेरिका तथा जापानसँग प्रक्षेपणको बारेमा जानकारी आदान प्रदान गरिरहेको बताएको छ । पछिल्लो क्षेप्यास्त्र प्रक्षेपण दक्षिण कोरियामा जारी राजनीतिक अराजकताको बीचमा भएको छ ।

गत डिसेम्बरमा निलम्बित राष्ट्रपति यून सुक येओलको अल्पकालीन मार्शल ल प्रयास पछि सांसदहरूले महाभियोगको पक्षमा मतदान गरेपछि अहिले दक्षिण कोरियाको राजनीतिमा उथलपुथल देखिएको छ । राष्ट्रपतिको अधिकार खोसिएका युन अहिले गिरफ्तारीको सामना गरिरहेका छन् । संवैधानिक अदालतले पनि उनलाई पदबाट हटाउने वा नहटाउने भनेर छलफल गरिरहेको छ । यस्तो अवस्थामा उत्तर कोरियाले मिसाइल प्रहार गर्नुलाई अमेरिका र दक्षिण कोरियामाथि जानाजान चुुनौती दिन खोजेको रुपमा हेरिएको छ । उत्तर कोरियाले यसअघि पनि अमेरिकाको सम्पूर्ण शक्तिलाई चुनौती दिँदै युद्ध मैदानमा आउन धम्की दिएको थियो ।