नेकपा एमालेले गलहत्याएर निकालेपछि डा. भीम रावल राजनीतिक विकल्प खोज्दै हिँडेका छन् । आगामी राजनीतिक यात्रामा अघि बढेका रावललाई एमालेले अझै खेदो खत्र नछोड्दा एमालेबाट असन्तुष्ट पक्ष र राजावादीको भने उनलाई साथ मिलेको छ । तर, उक्त साथले राष्ट्रिय राजनीतिमा प्रभावकारी भूमिका खेल्न सक्छ ? भत्रेमा प्रश्न उठेको छ ।
साधारण सदस्यसमेत नरहने गरी नेकपा एमालेको कारबाहीमा परेका डा.भीम रावल अहिले अभियान नै चलाएर राजनीतिक गतिविधिमा सक्रिय छन् । गत पुस १७ गते संघीय राजधानी काठमाडौंमा पत्रकार सम्मलेन गर्दै पूर्वउपप्रधानमन्त्रीसमेत रहेका रावलले देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने घोषणा गरेका थिए । सोही बाचा अनुसार नै पहिलो यात्रा एमालेको किल्ला रहेको कोशी प्रदेशबाट थाल्दा उनलाई झड्का लागेको छ ।
मातृभूमि जागरण अभियानको पहिलो औपचारिक कार्यक्रम हुनु अगावै एमाले बाधक बनेपछि पहिलो गाँसमै ढुङ्गाको सामना गर्नु प¥यो । खासमा सुनसरीको भरौल भेट्रान क्लबले आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय आमन्त्रण भरौल भेट्रान गोल्ड कप फुटबल प्रतियोगिताको उद्घाटनमा रावललाई प्रमुख अतिथिको रुपमा निम्तो दिइएको थियो । तर रावल सहभागी हुने भएपछि एमाले नेताहरूकै दबाबका कारण उक्त उद्घाटन कार्यक्रम नै सार्नु परेको थियो ।
कार्यक्रम स्थगित भएको सूचना पाएपछि रावल बिचबाटोबाटै फर्किएका थिए । कार्यक्रममा अवरोध सिर्जना गरेपछि बोलेका रावलले एमालेलाई इङ्गित गर्दै स्वतन्त्र रुपमा लेख्ने, बोल्ने अधिकार कुल्चिएको टिप्पणी गरे । रावलले आफ्नो अभियानबाट डराएको एमालेले दबाबको सामना गर्नु परेको अभिव्यक्ति दिएका छन् ।
पूर्वसहयात्री माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र राजावादीहरु डा. रावलको पक्षमा देखिएका छन् । रावललाई विराटनगर विमानस्थलमा स्वागत गर्न यी दुई संस्थासँग जोडिएका व्यक्तिहरू पुगेका थिए । यस्तै ओलीको कार्यशैलीबाट असन्तुष्ट भएर बनेको एकीकृत समाजवादीका नेताहरूसँग रावलको भेटघाट पनि बाक्लिएको छ । आइतबार मात्रै कोशी प्रदेशको पूर्वमुख्यमन्त्री राजेन्द्र राई लगायतका नेतासँग रावलले भेटघाट गरेका छन् ।
त्यस्तै राजतन्त्र फर्काउने भन्दै व्यवस्थाविरुद्ध अभियान चलाइरहेका दुर्गा प्रसाईंका समर्थकहरू रावलको पक्षमा खुलेरै लागिरहेका छन् । एमालेबाट हटिसकेपछि आफू कम्युनिस्ट नरहेको बताउँदै आएका रावलले राजावादीको उपस्थितिलाई रिझाउने क्रममा २०६२÷६३ को दोस्रो जनआन्दोलनमा गणतन्त्र र धर्मनिरपेक्षता ल्याउने कुनै एजेन्डा नै नभएको दाबी गरेका छन् ।
२०४७ सालमा संवैधानिक राजतन्त्र भएको बखत राजाकै अगाडि आफूले मन्त्रीको शपथ लिएको स्मरण गरेका उनले बाहिरबाट घुसपैठ भएर नेपालमा गणतन्त्र आएको भन्न भ्याए ।
एकीकृत समाजवादी र राजावादीहरूको साथ समर्थन रावलमाथि देखिँदा एमालेका असन्तुष्ट पक्षलाई पनि आफूतिर जोड्ने तरखरमा उनी छन् । आमनिर्वाचन र उपनिर्वाचनमा काठमाडौं र तनहुँबाट निर्वाचित हुन नसकेपछि ओली र सर्वेन्द्र खनालबीचको दूरी बढ्दो छ ।
पार्टीमा भूमिकाविहीन बनेका सर्वेन्द्रले केन्द्रीय सदस्य पनि नबनाएको झोंकमा पार्टी मात्रै छोडेका छैनन् कि रावलकै अभियानमा सामेल हुने चर्चासमेत चुलिएको छ । तर, सबै हारेका नेतालाई साथमा लिएर अघि बढ्न खोजेका रावल राजावादी हुन खोज्नुलाई भने पत्याइहाल्ने अवस्था छैन ।
एमालले रावललाई पार्टीबाट निकालिसकेपछि पनि खेदो खन्न छोडेको छैन । कार्यक्रम बिथोल्नेदेखि भीम रावललाई कटाक्ष गर्दै नेताहरू सामाजिक सञ्जालमा सक्रिय बनेका छन् । एमालेकै टोपी, धोती अनि गुन्युचोली लगाएर बढेको भन्दै गोकुल बाँस्कोटाले खाएकै थालमा चुठ्ने संस्कार वाहियात भएको टिप्पणी गरेका छन् ।
सुरुवाती चरणमा राजावादी, एकीकृत समाजवादी र एमालेका असन्तुष्ट पक्षहरूको साथ रावलमाथि देखिएको छ । तर, पाँच दशक कम्युनिस्टकै पृष्ठभूमिबाट राजनीतिक गरेका उनलाई विकल्पको रुपमा पत्याउनेदेखि राजनीतिक धार नै फेरेर स्थापित हुन भने त्यति सहज देखिँदैन ।
प्रतिक्रिया