सत्तामा रहेर चाहेजस्तो काम गर्न नसकेको स्वीकारेका प्रधानमन्त्री केपी शर्मा ओली ड्यामेज कन्ट्रोलमा लागिपरेका छन् । एमालेको आठौं केन्द्रीय कमिटी बैठकमा उनले प्रस्तुत गरेको ४७ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा गुटविरुद्ध उभिएका छन् । यसबाहेक सत्ता साझेदार कांग्रेससँग नरम रअरुसँग आक्रामक देखिएका उनले गरेको संकेत के के हुन् त ?एक रिपोर्ट…
पार्टीभित्रै र सत्तामा पनि चेपुवामा परिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदनमार्फत आफ्नो आगामी बाटोको संकेत गरेका छन् । एमालेको आठौं केन्द्रीय कमिटी बैठकमा ४७ पृष्ठ लामो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उनले गुटविरुद्ध कडा हुने प्रष्ट्याएका छन् । अहिले एमालेमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिबारे चासो छ । त्यस्तै ओली नेतृत्वमा बनेको पछिल्लो सरकारले गति लिन नसकेकोमा पनि एमालेमा असन्तुष्टि छ भने उपनिर्वाचनमा प्राप्त उपलब्धिमाथिसमेत प्रश्न छ । यी सबै विषयको छिनोफानो गर्नैपर्ने अवस्थामा रहँदा एमालेका लागि यो केन्द्रीय कमिटी बैठक महत्वपूर्ण छ ।
यही कारण नेपाली कांग्रेससँगको सत्ता गठबन्धनपछि बसेको यो पहिलो बैठकमा एमालेले केन्द्रीय सदस्यहरूलाई खुला छलफलको बाटो खोलेको छ । यसअघि समूहगत छलफल मात्र हुने गरेकोमा यो केन्द्रीय कमिटी बैठकमा सदस्यहरूलाई बोल्न तीन मिनेट समय दिने तय भएको छ । यसले बैठकमा घनिभूत छलफल हुने आशा गरिँदामहासचिव शंकर पोखरेलले बैठकको सुरूमै थप एक दिन बस्ने मानसिकता बनाउन केन्द्रीय सदस्यहरूलाई आग्रह गरेका छन् ।तर पहिलो चासो नेतामाथिको कारबाहीबारे एमालेले चलाखी गरिसकेको छ । केन्द्रीय सदस्यहरूले बोल्नुअघि नै डा.भीम रावल, विन्दा पाण्डे र उषाकिरण तिम्सेनामाथिको कारबाही निर्णय पारित गरेको हो ।
सचिवालयको यो निर्णयमा असन्तुष्ट रहेका केन्द्रीय सदस्यहरूले प्रश्न उठाउन सक्ने भएकाले केन्द्रीय सदस्यलाई बोल्न समय दिनुअघि नै महासचिव पोखरेलले सचिवालय बैठकका निर्णय बैठकमा पेस गरेका थिए भने केन्द्रीय कमिटीबाट अनुमोदन पनि भइसकेको छ। त्यस्तै बैठक अघि नै विद्यादेवी भण्डारीलाई भेटेर एक भएको सन्देश दिन खोजेका ओलीलेआफ्नाविरुद्ध मुख खोल्नेलाई कारबाही गरेरै छाड्ने र त्यसले तलैबाट पार्टीमा शुद्धीकरण हुने ठहर गरेका छन् । पार्टीका आन्तरिक विषय सार्वजनिक खपतका लागि प्रस्तुत नगर्न केन्द्रीय सदस्यहरूलाई सचेत गराएका उनले प्रष्ट शब्दमा लोकतन्त्रका नाममा पार्टीभित्र गुटबन्दी गरेर भाँडभैलो मच्चाउने कार्य स्वकार्य नहुने उल्लेख गरेका छन् ।
यसबाहेक अरु दलका सम्बन्धमा सत्तारुढ नेपाली कांग्रेससँग उनी केहीनरम देखिँदारास्वपा, राजावादी र माओवादीप्रति आक्रामक सुनिएका छन् । अहिलेको समयमा राजावादीहरू सलबलाएर अराजकता ल्याउन खोजेको उल्लेख गरेका उनले राजावादीसँग प्रमुख प्रतिपक्षी नेता पुष्पकमल दाहाल प्रचण्ड र उनी नेतृत्वको दलले उठबस गरिरहेको पनि ठहर गरेका छन् । ओलीले ०८१ असार १७ गते राति कांग्रेस र एमालेबीचको सात बुँदे सहमतिबारे पनि माओवादी र राजावादीले भ्रम फैल्याएको बताएका छन् ।तर कांग्रेससँगको सहकार्यले नागरिकमा आशा पलाएको,राजनीतिक स्थायित्वको सन्देश गएको र सहकारी समस्या जस्तामा निर्णायक हुन सकिएको औँल्याइएको छ । त्यस्तै भ्रष्टाचारका सवालमा आफ्नाविरुद्ध उठेका जुनसुकै प्रश्नको पनि जवाफ दिने र आफूविरुद्ध लागेको अभियोगबाट सफाइ लिने दायित्व सम्बन्धित व्यक्तिकै हो भन्ने निष्कर्षमा एमाले पुगेको देखिन्छ ।
कांग्रेस फकाउने एमालेले देखाएको तदारुकताले नै ओली सरकारको स्थायित्वप्रति सचेत रहेको प्रष्ट पारेको छ । यद्यपि यसले वामधुव्रीकरणको सम्भावनामा केन्द्रीत बहसमाथि भने प्रश्न उब्जाएको छ । यसबाहेक पार्टीभित्र निर्णायक र कठोर भएर जाने अर्को संकेतसमेत ओलीले गर्दा सहकारी प्रकरणमासडकमा उफ्रिँदैमा अदालतले उन्मुक्ति दिँदैन भन्ने सन्देश रास्वपलाई दिन भ्याएका छन् ।
प्रतिक्रिया