उत्तरी छिमेकी चीनले हालै मात्र भारतको सीमा नजिकै विश्वको सबैभन्दा ठूलो बाँध परियोजनालाई अघि बढाउने अनुमति दिएको छ । चीन सरकारको यो निर्णयले छिमेकी देशहरुमा चिन्ता बढाएको छ ।
चीनको तिब्बतस्थित पूर्वी भागमा विश्वकै ठूलो बाँध बनाउने तयारीमा चीन जुटेको छ । भारतको सीमा नजिकै विश्वकै ठूलो बाँध परियोजनालाई अघि बढाउन चीन सरकारले अनुमति दिएको हो । यस बाँधले भारतमा कयौँ किसिमका चुनौती सिर्जना गर्न सक्ने भन्दै बहस छेडिएको छ । यो बाँध यारलुङ्ग साङ्गबो नदीमा बन्ने भएको छ । जुन नदीलाई भारतमा ब्रह्मपुत्रको नामले परिचित छ भने तिब्बत हुँदै अरुणाचल प्रदेशतर्फ सोझिन्छ । चीनमा उत्पत्ति भएर भारत हुँदै बंगालको खाडीमा पुगेर यो नदी समुद्रमा मिसिन्छ । यस बाँधबाट हरेक वर्ष ३०० बिलियन अर्थात (३ खर्ब) किलोवाट प्रतिघण्टा बिजुली उत्पादन हुनेछ । यस योजनालाई लिएर भारत र बंगलादेशको चिन्ता बढेको छ । उता चीनले भने बाँध बनाउने आफ्नो योजनाको बचाउ गर्दै यस परियोजनाबाट तल्लो क्षेत्रमा कुनै असर नहुने जनाएको छ ।
दशकौँको शोध र अध्ययनपछि सुरक्षासँग जोडिएका सबै समस्या समाधान गरेर चीन बाँध निर्माणमा अघि बढेको चीन सरकारको भनाइ छ । यारलुङ्ग जाङ्गबो नदी आफ्नो ५० किलोमिटरको छोटो दूरीमा २००० मिटर उचाइबाट झर्छ । तिब्बतको पहाड बिजुली उत्पादनका लागि खास सहयोगी बनेको छ । यस्तो ठूलो परियोजना बनाउन पनि ठूलै इन्जिनियरिङ चुनौती पनि छ । यस बाँधको निर्माण खर्च थ्री गर्जेज बाँधभन्दा पनि धेरै हुने सम्भावना छ । थ्री गजेर्ज बाँधमा करिब २५४.२ अर्ब युआन (३४.८३ अर्ब डलर) खर्च भएको थियो । यस परियोजनाले १४ लाख मानिसलाई विस्थापित गरेको थियो । तिब्बतको यस नयाँ बाँध बनाउँदा कति मानिस विस्थापित हुन्छन् एकीन भएको छैन ।
तर चीनका अधिकारीले यो परियोजनाले पर्यावरणमा ठूलो असर नगर्ने बताएका छन् । साथै यसबाट नदीको पानीको बहावमा पनि खासै असर नगर्ने उनीहरूको तर्क छ । तर स्थानीय पारिस्थितिकी र विस्थापित हुने मानिसको संख्याबारे केही एकीन भएको छैन । चीनको यो परियोजनालाई लिएर भारत र बंगलादेशले गम्भीर सवाल गरेका छन् । दुवै देशले बाँधका कारण नदीको प्राकृतिक बहाव फेरिन सक्ने चिन्ता जनाएका छन् । यसका कारण भारतको अरुणाचल प्रदेश र असममा कृषि तथा जल आपूर्ति प्रभावित हुन सक्छ । परियोजनाको लागत ः यस परियोजनाको लागत १३७ बिलियन डलर छ । यो विश्वकै सबैभन्दा ठूलो परियोजनाका रुपमा स्थापित हुने छ । २०२० को अन्त्यमा चीन सरकारले घोषणा गरेका थिए ।
चीनले यस परियोजनाबारेमा पर्याप्त जानकारी दिएको छैन । जसका कारण भारतका लागि सोचेभन्दा धेरै चिन्ताजनक अवस्था उत्पन्न हुन सक्छ । यस बाँधका कारण अचानक बाढीको समस्या आउन सक्छ । अर्कातिर बाँधले नदी रोकेपछि भारतको पूर्वीक्षेत्रमा पानीको अभाव हुन सक्छ । जसका कारण भारतलाई जल आपूर्तिमा समस्या सिर्जना हुन सक्छ । भू–राजनीतिक तनाव ः यो परियोजना भारत र चीनबीच तनाव बढाउने माध्यम बन्न सक्छ । यसले दुवै देशबीच जल युद्धको सम्भावनालाई जन्म दिन सम्भावना छ । चीन यस बाँधबाट पानीको प्रवाह नियन्त्रित गर्न सक्छ । युद्धको स्थितिमा चीनले सीमा क्षेत्रमा बाढी ल्याइदिन सक्ने विश्लेषण समेत हुन थालेको छ ।
प्रतिक्रिया