Breaking

म पनि यो देशको नेतृत्व गर्न चाहान्छु : विप्लव


काठमाडौं — नेकपाका महासचिव नेत्रविक्रम चन्दले क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुलाई ध्रुवीकृत गर्दै यो देशको नेतृत्व गर्न चाहेको बताएका छन् । कांग्रेस, एमाले र माओवादी केन्द्रले पटकपटक सरकारको नेतृत्व गर्दा पनि जनअपेक्षा पूरा गर्न नसकेको भन्दै उनले अब नेकपाले देशको नेतृत्व गर्न चाहेको बताए । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनको डबलीमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै विप्लवले नेकपाले पनि ध्रुवीकरण गर्दै देशको नेतृत्व गर्न चाहेको बताएका छन् ।

कार्यक्रममा मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता जितेन्द्र दाहाललाई विप्लवले आफ्नो पार्टीमा स्वागत गरेका थिए । त्यसलाई उनले क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुको ध्रुवीकरणको सुरुवातको संज्ञा दिए । हालै कपिलवस्तुको शिवगढीमा सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकले क्रान्तिकारी कम्युनिष्ट पार्टीसँग ध्रुवीकरण गर्ने निर्णय गरेको जानकारी गराउँदै उनले आजको कार्यक्रम त्यसकै सुरुवात भएको बताए ।