राजनीति

ओली तह लाउन विद्याको सहारा, गुहार्न पुग्छन् पदाधिकारी


काठमाडौँ – एमालेको सक्रिय राजनीतिमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी फर्किने चर्चा झनै उत्कर्षमा पुगेको छ । उनकै सक्रियताको आशले ओलीका निर्णयमा पार्टीभित्रै फरक मत देख्न थालिएको छ भने तल्लो तहमा समानान्तर गतिविधिकै झिल्को देखिएको छ । यही बीचमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र भण्डारीबीच दुई घण्टा लामो अर्थपूर्ण भेटवार्ता भएको छ ।

विपक्षीसँग पौठेजोरी खेलेर शक्ति आर्जन गरेका एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली एक पात्रसँग झस्किएका छन् । ती हुन्, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी । सक्रिय राजनीतिमा आउने भण्डारी स्वयंकै ग्रीन सिग्नल र आफू नै संकटमा पर्नेगरी भइरहेका गतिविधिले ओलीलाई झस्काएको छ । फलतः झनै दबाबमा पर्न सक्ने महसुस गरेका ओलीको महत्वपूर्ण क्षणमा भण्डारीसँगको भेट बाक्लिन थालेको छ । यसै क्रममा ओली भण्डारीलाई भेट्न उनकै निवास बुढानीलकण्ठस्थित चपली पुुगे । जसले एमालेमात्र नभई राष्ट्रिय राजनीतिकै ध्यान तानेको छ । उसो त ओली प्रधानमन्त्री भएपछि भण्डारीसँग भएको यो दोस्रो भेट हो । गत असार २८ गते प्रधानमन्त्री नियुक्त भए लगत्तै ओली भण्डारीलाई भेट्न पुगेका थिए ।

केही दिनअघि मात्र नेतृत्वको आलोचना गरेकै कारण तीन नेतामाथि भएको कारबाहीले विद्यालाई झन् हौसला मिलेको तथा ओलीबाट पेलानमा परेकाहरुले उनलाई समग्र कम्युनिस्ट एकताको सूत्रधारका रुपमा ओलीको प्रतिस्पर्धी बनाउन खोजिरहेका छन् । यही बीचमा ओली र भण्डारीबीच लामो समयपछि दुई घण्टा अथपूर्ण वार्ता भएको हो । संयोग हो वा तयारी नै त्यस्तो थियो, दिउँसो पार्टीको सचिवालय बैठक सकेर ओली चपलीतिर लागेका थिए ।

विद्याले पछिल्लो समय राजनीतिक दौडधूप तीव्र पारेकी छन् । उनले सहभागी हुुने हरेक कार्यक्रम एमालेसँग सम्बन्धित हुन्छन् । अभिव्यक्तिमा भने पूर्वराष्ट्रपतिकै झल्को दिए पनि एमाले बाहेकका मञ्च रोज्न नचाहनुले ओलीलाई सांकेतिक सन्देश दिइरहेको देखिन्छ । ओलीसँग भेटेकै भोलिपल्ट शुक्रबार भण्डारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पुस्तक विमोचन कार्यक्रममा पुगेकी थिइन् ।

त्यहाँ पनि यो भेटबारे चर्चा गर्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले उनलाई सक्रिय राजनीतिमा नआउनै सुझाव दिए । किन कि विद्या सक्रिय राजनीतिमा नफर्किउन् भन्ने नै ओलीको चाहना देखिन्छ । गत बैशाखमा भण्डारीलाई ‘गणतन्त्र गौरव’ले सम्मान गरियो । यसलाई नै धेरैले विद्यालाई स्वतन्त्र भएरै बस्न गरिएको सम्मानका रुपमा अथ्र्याए । तर, विद्याले सार्वजनिक मञ्चहरुमा सक्रियता बढाउन छाडिनन् । सक्रियता बढ्न थालेपछि गत साउन २८ मा ओलीले भण्डारी सम्मानित भएर बस्नुपर्ने भन्दै राजनीतिमा आउने चर्चा एमाले विरोधीहरूको षड्यन्त्र भएको प्रतिक्रिया दिए । भदौ १० मा बोली सच्याउँदै ओलीले पार्टीमा फर्कन नरोक्ने तर, इच्छा राख्नुपर्ने बताए । फेरि मंसिर अन्तिम साता एमाले संगठन विभागको एक कार्यक्रममा ओलीले अनावश्यक रुपमा ‘बल लगाएर नतान्न’ पार्टी नेताहरूलाई चेतावनी दिए । पुस १२ गते मात्र महासचिव शंकर पोखरेलले भण्डारीलाई सक्रिय राजनीतिमा स्वागत गर्ने बताए । विद्यालाई राजनीतिमा नतान्न ओलीको चेतावनीका बाबजुद पनि केही पदाधिकारी नै उनको पछि लागेको चर्चा हुने गरेको छ । विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकुल बास्कोटाको नामै लिइने गरिए पनि पुस १० गते बिन्दा पाण्डे र उषाकिरण तिम्सेनामाथिको कारबाहीको विपक्षमा उभिएका १० भाइबहिनी विद्यातिरै लचक भएको चर्चा चल्न थालेको छ ।

यतिमात्र नभई केही जिल्लाहरुमा भइरहेको समानान्तर अभ्यास, विद्या सक्रिय भएपछि नेतृत्वविरुद्ध पार्टीमै बढ्न थालेको घेराबन्दी र यसले पार्टीमै फाटो आउन सक्ने बुझेका ओलीले विद्यासँग समयमै सजकता र सौहार्द वातावरण बनाउने प्रयास गरेको बुझिन्छ । ओली स्वयंले अझै २० वर्ष एमालेको नेतृत्व गर्ने र आफू हुँदासम्म अध्यक्षको विकल्प नखोज्न सांकेतिक रुपमा सार्वजनिक अभिव्यक्ति नै दिइसकेका छन् । यही अवस्थामा ओलीको पेलानमा परेका र एमाले बाहेककका कम्युनिस्ट घटकहरुले विद्यालाई थप टेको दिइरहेका छन् ।

विद्याकै कारण कम्युनिस्ट एकता सम्भव रहेको बुझेका माओवादी अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्डले पूर्व उपराष्ट्रपति नन्दबहादुुर पुनलाई उपाध्यक्षकै पदमा फर्काउने तयारी गरिरहेका छन् । फलतः पुन पार्टीको औपचारिक बैठकहरुमा सहभागी हुन थालेका छन् । त्यसो त मुलुकको अभिभावकीय भूमिकामा रहेका व्यक्तिलाई फेरि पार्टी राजनीतिमा सक्रिय गराउँदा आलोचना खेप्नु पर्ने डरमा कतिपय नेता छन् । जसले गर्दा पुनलाई पहिले राजनीतिमा ल्याएर ट्रायल गर्ने र पछि विद्यालाई पनि पार्टी राजनीतिमा फर्काउन बाटो खोल्ने रणनीति बुनिँदैछ । अर्कोतर्फ ओलीले अध्यक्षमा दोहोरिनकै लागि मुकुन्द न्यौपानेलाई पार्टी प्रवेश गराउने बहानामा ७० वर्षे उमेरहद हटाएका थिए । विद्याले राजनीतिमा फर्कन चाहेको हुटहुटी र रेड कार्पेट ओछ्याउन चाहनेहरुको संख्या बढ्दा ओलीको दोस्रोपटक अध्यक्ष बन्ने सपना, सपनामै तुहिने त होइन ? गम्भीर प्रश्न जन्मिएको छ ।