राजनीति

चतुुर ऋषिकेष : आफू जोगिए, श्रीमती भगाए, स्वकीयलाई हटाएर नाटक


लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव घुस लिएको काण्डमा मुछिएपछि उनीमाथि अर्काे सङ्कट आइपरेको छ । तर, सङ्कटै सङ्कटका बीच पनि आफूलाई चोख्याउँदै आएका सभापति पोखरेल भाग्यमानी सावित हुँदै गएका छन् ।

नेकपा एमालेका नेता तथा प्रतिनिधिसभा सांसद ऋषिकेश पोखरेललाई यतिखेर सङ्कटै सङ्कटले घेरेको छ । सहकारी ठगी प्रकरणमा श्रीमती अञ्जला कोइरालाको मुद्दाले पार नपाउँदै आफ्ना स्वकीय सचिव अनिलकुमार पोखरेलले लाखौं घुस खाएको समाचार बाहिँरिएपछि उनलाई थप सङ्कटको सामना गर्नु परेको हो । स्वकीय सचिव पोखरेलले पार्टीको कोटाबाट छोरीलाई एमबीबीएसमा नाम निकालिदिने भन्दै सप्तरीका बौआलाल चौधरीसँग ३८ लाख ८० हजार रकम ठगी गरेका थिए ।

पछि नाम ननिस्किएपछि चौधरीले रकम फिर्ता माग्दा उल्टै ५० लाख ऋण लिएको कागजमा जबरजस्ती हस्ताक्षर गर्न लगाएको पीडित दिएको जाहेरीमा उल्लेख छ । पहिले राजनीतिक शक्तिको आडमा जिल्ला प्रहरी कार्यालय मोरङले चौधरीको जाहेरी दर्ता गर्न नमाने पछि उच्च अदालत विराटनगरले पोखरेलविरुद्ध ठगीमा जाहेरी दर्ता गरी अनुसन्धान गर्न प्रहरीलाई परमादेश दियो ।

जसका कारण लेखा समितिका सभापतिसमेत रहेका ऋषिकेशले स्वकीय सचिवबाट पोखरेललाई हटाउन बाध्य भए । आफ्ना नजिकका व्यक्तिहरू नै गैरकानुनी गतिविधिमा संलग्न भइरहँदा सभापति पोखरेलले आफू जस्तोसुकै अनुसन्धानको सामना गर्न तयार रहेका बताउँदै आएका छन् ।

यसअघि पनि सभापति पोखरेल आफ्नी पत्नीका कारण विवादमा तानिएका थिए । उमा गौरी कृषि सहकारी संस्थाको सञ्चालक रहेकी पोखरेलपत्नी अञ्जला ठगी मुद्दामा मुछिँदा उनले श्रीमतीको पक्षमा अनुचित दबाव दिएको आरोप लाग्दै आएको छ । उनीमाथि सत्ता पक्षका नेता भएकै कारण श्रीमतीलाई प्रहरीको हिरासतबाट बचाउँदै आएको आरोप छ । हुन त घटनाक्रमले पनि उनीमाथि लागेको आरोपलाई पुष्टि गर्छ ।

जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी नहुञ्जेलसम्म सँगै रहेका पोखरेल दम्पती पक्राउ पुर्जी जारी हुनासाथ एक्कासी अलग भएको विषयमा पनि उनीमाथि नै प्रश्न तेर्सिएको छ । राजनीतिक दबावकै कारण कोशी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयले कोइरालाको नाम काटेर प्रहरीलाई अनुसन्धान गर्न पत्राचार गरेको थियो भने मुद्दा प्रहरीकोमा हुँदा उनी पक्राउ नपर्नुले श्रीमतीलाई उम्काएको पुष्टि गर्छ ।

अदालतबाट पक्राउ पुर्जी जारी भइसक्दा पनि सभापतिकी पत्नीले अनुसन्धानलाई सहयोग गर्नुको साटो फरार भएर हिडिँरहेकी छन् । अझ पत्नी बिरामी परेको भन्दै अनिश्चितकालका लागि उनले अध्यापन गराउँदै आउको विद्यालयमा इमेल पठाएर सभापति पोखरेल आफैंले बिदासमेत मागिदिएका थिए ।

यतिसम्मको प्रगाढ माया भएका उनीहरूबीच अहिलेसम्म कुनै संवाद नै नहुने भन्ने कुरालाई विश्वास गरिहाल्न सकिँदैन । अदालतले पक्राउ पुर्जी जारी गरेको दुई साता बितिसक्दा पनि नेताकै श्रीमतीलाई समेत पक्राउ गर्न नसकेको गृह प्रशासन भने कसैलाई छोडिँदैन भन्दै ध्वाँस दिने गर्छ ।

सुशासन कायम गर्नु पर्ने र आर्थिक पारदर्शिताको हिसाब खोज्नु पर्ने लेखा समितिका सभापतिले नै हिसाब दिन सकेको छैनन् । आफ्ना सबैभन्दा नजिकका दुई व्यक्ति नै ठूलो आर्थिक अनियमिततामा मुछिँदा पनि उनी जवाफदेही बन्न तयार छैनन् । जसका कारण जवाफविहीन बनेका उनलाई आफ्नै पार्टीका नेतालेसमेत प्रश्न उठाउन थालेका छन् ।

यदि भाग्य मापन गर्ने कुनै यन्त्र हुन्थ्यो भने त्यसको अग्रस्थानमा पक्कै पनि एमालेका नेता ऋषिकेश पोखरेल नै आउँथे । किन भने उनी जस्तोसुकै सङ्कटबाट पार हुने गर्छन् । यहाँसम्मकी उनकी अर्धाङ्गिनी सहकारी ठगी प्रकरणमा मुछिँदा उनी सुनपानी छर्किंदै चोखिरहेका छन् भने आफ्नो स्वकीय सचिवले लाखौं घुस लिँदा पनि जवाफदेही बन्न सकेका छैनन् । यो हिसाबले हेर्ने हो भने उनलाई भाग्यमानी नै मात्रु पर्छ ।

यो विषयमा केही एमाले नेताले बोले पनि पार्टीले भने आधिकारिक रुपमा कुनै धारणा राखेको छैन । बोलेकै भरमा आफ्ना दुई नेतालाई स्पष्टीकरण सोध्ने र एक जनालाई निलम्बन नै गरेको एमालेले पोखरेलमाथि यत्रो प्रश्न उठ्दा पनि स्पष्टीकरण सोध्न आवश्यक ठानेको छैन । अहिलेसम्म चारैतिरबाट बच्दै आएका सभापति पोखरेलको यो यात्रामा कहिले पूर्णविराम लाग्ने हो ? यसै भन्न सकिने अवस्था छैन ।