Breaking

धान उत्पादन ४ प्रतिशतले बढ्यो


काठमाडौँ – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष धानको उत्पादन वृद्धि हुने जनाएको छ । मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी गत वर्षभन्दा यस वर्ष धान उत्पादनमा उल्लेख्य वृद्धि हुने देखिएको जनाएको हो ।

चालु आर्थिक वर्षमा धान बालीको कुल उत्पादन ५९ लाख ५५ हजार चार सय ७६ मेट्रिक टन हुने प्रारम्भिक अनुमान रहेको र यो गत वर्षको तुलनामा चार दशमलव ०४ प्रतिशतले बढी रहेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

धान बाली लगाइएको क्षेत्रफल घटेको भए पनि उत्पादकत्वमा आएको सकारात्मक वृद्विले उत्पादन वृद्धि भएको मन्त्रालयले जनाएको छ । ‘वर्षे र चैते दुवै गरी चालु आवमा कुल १४ लाख २० हजार छ सय ३६ हेक्टर क्षेत्रफलमा धान लगाइएको अनुमान छ। जुन गत आवको तुलनामा एक दशमलव २८ प्रतिशतले कमि हो’, मन्त्रालयले भनेको छ, ‘औसत उत्पादकत्व चार दशमलव १९ मेट्रिक टन प्रतिहेक्टर पुगी हालसम्मको उच्च विन्दु कायम भएको छ।’

चालु आर्थिक वर्षमा मनसुन औसतभन्दा तीन दिन अगाडि सक्रिय हुन पुगेको र पर्याप्त वर्षा हुँदा उत्पादन बढेको जनाइएको छ । यस्तै, किसानले समयमा रासायनिक मल र उन्नत जातको बीउ पाएका कारण पनि उत्पादन बढेको मन्त्रालयको दाबी छ ।