नेकपा (माओवादी केन्द्र)ले संघीय संसद्को अधिवेशन आह्वान नभए सरकारलाई दबाब दिने जनाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको स्थायी कमिटीको बैठकपछि प्रवक्ता अग्नि सापकोटाले सरकारले नियतवश संघीय संसद्को अधिवेशन आह्वान नगरेको निष्कर्ष निकालेको जानकारी दिए ।
माओवादीले संसद्मा रहेका सबै दलसँग छलफल गरेर दबाब सिर्जना गर्ने तयारी गरेको छ । उनले संसद् छलेर सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन खोजेको पनि बताए ।
सापकोटाका अनुसार, बैठकमा ३० जना स्थायी कमिटी सदस्यले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौखिकरूपमा राखेको राजनीतिक प्रतिवेदनमाथि धारणा राखेका थिए । उनीहरूले समसामायिक परिस्थिति, पार्टी रूपान्तरण, अहिलेको सरकारको क्रियाकलापबारे, संविधान संशोधनबारे धारणा सापकोटाको भनाइ छ । उनीहरूले समाजवादी विचारधारको विकासका लागि सबै पालिकाहरूमा समाजवादका आधारशीला खडा गर्ने गरी तयारी गर्नुपर्नेमा जोड दिएका छन् ।
बैठकमा प्रचण्डले देशका सबै तहका जनतामाझ पुगेर समस्या बुझ्ने गरी विभिन्न अभियान सञ्चालन गर्ने र त्यसमा अध्यक्षसहित सबै केन्द्रीय नेतासमेत सहभागी हुने बताए ।
स्थायी कमिटी बैठक शनिबार पनि बस्ने तय भएको छ । पुस २१ गतेदेखि सुरु हुने केन्द्रीय कमिटीको तयारीका लागि माओवादीको स्थायी कमिटीको बैठक निरन्तर बसिरहेको छ ।
प्रतिक्रिया