Breaking

सहकारी ठगी प्रकरण : आजदेखि रवि लामिछानेसहित प्रतिवादी तर्फका वकिलहरूले बहस गर्ने


काठमाडौं — सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित सात प्रतिवादीको थुनछेक बहस जारी छ । कास्की जिल्ला अदालतमा शुक्रबारदेखि लामिछानेसहितका प्रतिवादी पक्षका वकिलहरूले बहस गर्दैछन्।

बिहीबार जाहेरवाला सहकारी पीडिततर्फका वकिलहरुले बहस गरेका थिए। समय अभावका कारण बिहीबार प्रतिवादी तर्फका वकिलहरूले बहस गर्न पाएनन्। मंगलबार र बुधबार सरकारी वकिलले बहस गरेका थिए। सरकारी वकिल र जाहेरवाला पक्षका वकिलहरूले लामिछानेसहित सातै जनालाई पुर्पक्षका लागि थुनामा पठाउन माग गरेका थिए। शुक्रबार प्रतिवादीतर्फ छबिलाल जोशी पक्षको अधिवक्ताहरूले बहस गर्नेछन्। त्यसपछि मात्र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित अन्य प्रतिवादीका कानुन व्यवसायीले बहस गर्ने तयारी भएको लामिछानेका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता नारायण घिमिरेले जानकारी दिए। सहकारी पीडितका कानुन व्यवसायी पराजुलीका अनुसार रवि लामिछानेका तर्फबाट १५ जना, पूर्वडिआइजी जोशीका तर्फबाट ६ जना, लिला पछाईंका १ जना र बाँकी प्रतिवादीका तर्फबाट २÷२ जना कानुन व्यवसायीले बहस गर्नेछन्।