काठमाडौं — सशस्त्र प्रहरीमा एक हजार भन्दा धेरै जनाका लागि भर्ना खुलेको छ । सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) देखि चर्मकर्मीसम्मका लागि भर्ना खुलेको हो । सशस्त्र प्रहरी निरीक्षकमा ६८ जना, सशस्त्र प्रहरी सहायक निरीक्षकमा ८३ जना र सशस्त्र प्रहरी जवानमा ९४१ जनाका लागि भर्ना खुलेको छ । यसैगरी भान्छे २० जना, कूचिकार १९ जना, सूचिकार १० जना, केशकर्तक २४ जना र चर्मकर्मी १४ जनाका लागि पनि सशस्त्र प्रहरीमा जागिरको अवसर छ ।
दरखास्त दिने म्याद पुस २४ गतेदेखि माघ २४ गतेसम्म छ । सूचनामा लेखिएअनुसार दरखास्त फाराम भरेकाहरुको सम्पर्क मिति फागुन ६ गते तोकिएको छ । तर सम्पर्क राख्ने स्थान भने पदअनुसार फरक फरक छ । सशस्त्र प्रहरी निरीक्षकमा आवेदन दिएकाले सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोक काठमाडौंमा र सहायक निरीक्षकमा आवेदन दिएकाले दरखास्त फाराम दर्ता गरेका सम्बन्धित कार्यालयहरुमा, जवानहरुले परीक्षा सन्चालन हुने सम्बन्धित कार्यालयहरुमा सम्पर्क राख्नुपर्ने छ । अरु पदकालाई सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोकमा सम्पर्क राख्नुपर्ने सूचनामा उल्लेख छ ।
प्रतिक्रिया