Breaking

सूर्यदर्शन सहकारी ठगी मुद्दाः जाहेरवाला तर्फका वकिलले गरे बहस


काठमाडौँ – सूर्यदर्शन सहकारी ठगी मुद्दाको तेस्रो दिनको थुनछेक बहस सकिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा तेस्रो दिनको थुनछेक बहसमा जाहेरवालाको तर्फबाट बहस गरे ।

वरिष्ठ अधिवक्ताद्वय दीनेश त्रिपाठी, डा.सुरेन्द्र भण्डारीसहित अधिवक्ता बेदबहादुर विष्ट, रामचन्द्र गौतम, युवराज पराजुली र हरि कट्टेलले बहस गरेको जिल्ला अदालत कास्कीले जनाएको छ ।

जाहेरवालाको तर्फबाट केही बाकी रहेको र भोलि पुनः हुने कास्की अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए । त्यसलगत्तै प्रतिवादीको तर्फका वकिलले बहस गर्नेछन् ।यसअघि पहिलो र दोस्रो दिन सरकारी वकिलले बहस गरेका थिए । सरकारी वकिलका तर्फबाट न्यायाधिवक्ता कमला काफ्ले, सहायक न्यायाधिवक्ता शान्तिदेवी शर्मा, विपिनराज तिवारी, सुजता पौडेल, उपन्यायाधिवक्ता प्रकाश गौतम र नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मीले बहस गरेका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेसहित पूर्वडिआईजी छविलाल जोशी, लिला पछाईं, आरती गुरुङ, पूर्वसांसद मिना गुरुङ, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङमाथि बहस भएको हो ।

जाहेरवाला तर्फका बहस गरेका कानुनी व्यवसायीले सार्वजनिक रुपमा महत्वपूर्ण पदमा रहेकाले बाहिर निस्कदा प्रमाण नष्ट गर्न सक्ने भएकाले थुनामा राख्नुपर्ने बताएका थिए । प्रमाण, मिसिल हेर्दा यो सामाजिक, आर्थिक, सांगठागिक र सम्पत्ति शुद्धीकरण अपराध रहेको उनीहरुको तर्फ थियो ।

जिल्ला सरकारी वकिल कार्यालय कास्कीले पुस ५ र पुस ७ गते गरी सूर्यदर्शन सहकारी ठगीमा संलग्न ६३ जनाविरुद्ध कास्की अदालतमा मुद्दा दायर गरेको थियो । वकिल कार्यालयले १ करोड ५१ लाखभन्दा बढी विगो माग दाबी गर्दै मुद्दा दायर गरेको हो ।