एमाले अध्यक्ष केपी शर्मा ओलीको बचाउमा सबैभन्दा धेरै उभिने पात्र हुन्, शंकर पोखरेल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीसमेत बनेका उनलाई पार्टीको महासचिवमा ओलीले टिका लगाइदिए । विष्णु पौडेललाई निष्क्रिय पार्नेदेखि भीम रावलको कारबाहीलाई प्रतिस्पर्धी पन्छिएको अर्थमा बुझेका पोखरेल के ओलीका उत्तराधिकारी बन्न सक्छन् ?
एमाले अध्यक्ष तथा हालका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पार्टीमा त बोल्ने ठाउँ नै छैन । विपक्षी दलको कुनै नेताले कुनै लान्छाना लगाए सतीसालझैं उभिने पात्र हुन् शंकर पोखरेल । जो अहिले ओलीको उत्तराधिकारीका रुपमा हेरिएका पात्रको शीर्ष एक नम्बरमा छन् । पार्टी जोडिएका विषयमा महासचिव भएका नाताले उनको प्रतिवाद स्वभाविक मान्न सकिए पनि ओलीका व्यक्तिगत विषयमासमेत ओलीभन्दा एक कदम अगाडि बढेर प्रतिवाद गर्न उनी पछि पर्दैनन् । यसबाट उनले उत्तराधिकारीको दौड झनै परिपक्व तवरले गर्न खोजिरहेका छन् । किनकी एमालेको नीतिको समालोचना नभई नेतृत्वको चाकडी गरे मात्र अघि बढ्न सकिन्छ भन्ने कुरा पोखरेलले पनि राम्रोसँग बुझेका छन् । यो क्रम पछिल्लो केही समययता झनै बढेको छ । ओलीलाई टप्नेगरीका प्रतिवाद शंकर पोखरेलबाट सुन्न सकिन्छ ।
त्यसो त ओलीले दशौँ महाधिवेशनदेखि पोखरेल नै आफ्नो उत्तराधिकारी हुन सक्ने भन्दै त्यसैगरीका गतिविधि अघि बढाएका थिए । निकट मानिएका विष्णु पौडेललाई उपाध्यक्षमा सीमित गरी पोखरेललाई महासचिव बनाउनु पनि त्यसैको उपज हो । जसले पोखरेल र पौडेलबीच फाटो ल्याइदिँदा स्पष्ट दुई गुट नै बनाइदिएको थियो । अहिले त्यही दुई गुटमध्ये पोखरेल ओलीको उत्तराधिकारी बन्न लागिपरेको र पौडेल विद्या भण्डारीको अघोषित गुटतर्फ अघि बढेको चर्चा हुन थालेको छ । पोखरेलले आफूलाई उत्तराधिकारीको दौडमा झनै आक्रामक बनाउन खोजेको केही घटनाक्रमले देखाउँछ ।
१. ओलीका हरेक निर्णयमा त्वम् शरणम्
ओलीले महासचिव बनाइदिएकै कारण हरेक निर्णयमा त्वम् शरणम गर्नुपर्ने अवस्था छ । अर्थात, ओलीको ड्यामेज कन्ट्रोलमा उनको भूमिका छ । संसद विघटनका बेलासमेत ओलीले गजब गरेको अभिव्यक्ति दिएका थिए । यतिमात्र नभई अदालतमाथि समेत प्रश्न उठाउँदै उनले कांग्रेसले गर्नेबेला सधैँ सदर र एमालेले विघटन गर्दा सधैँ बदर हुने गरेको भन्दै आक्रोश पोख्ने गरेका थिए । यसबाहेक भीम रावललाई कारबाही गर्ने प्रस्ताव पनि उनैले गरेका थिए । ओलीका हरेक विरोधीलाई विपरीत गुटका ठान्ने उनले तह लाउने नीति लिएका छन् । ओलीका गलत निर्णयको विरोध पोखरेलका लागि सपना मात्र हो ।
२. ओलीलाई टप्ने अभिव्यक्ति
भीम रावल, स्थायी समिति सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनामाथि कारबाही भएयताका पाँच दिनमा उनले ओलीलाई टप्नेगरीका अभिव्यक्ति दिएका छन् । कारबाही भएको एक दिनपछि पुस १२ गते पोखरेलले रुपन्देही पुगेर भीम रावललाई पार्टीले निकालेको नभई आफैँ निस्किएको बताएका थिए । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीलक्षित अभिव्यक्ति दिन थालेपछि घुमाउरो शैलीमा प्रचण्डलाई अराजक करार गर्न पनि उनी पछि परेनन् । ओलीकै भाषा सापटी लिँदै रवि लामिछानेलाई समेत गल्ती गरेर अहिले प्रतिशोध साध्यो भन्ने ? भन्दै प्रश्न गर्न थालेका छन् ।
३. विष्णु गुटसँगको लडाइँ
पोखरेलले ओलीको उत्तराधिकारी बन्न चलाएको अर्को तीर हो, विष्णु गुटसँगको लडाईं । लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्तिमा यो खेल देखिएको थियो । संसदीय दलको नेतालाई लत्याएर पोखरेलले आफ्नो गुटका उपनेता चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाएका थिए । मंसिर ११ गते विष्णु पक्षका लुुम्बिनी प्रदेशसभा सदस्य दुर्गा चौधरी निलम्बनमा परेका थिए । कारण थियो–ओली र पोखरेलको आलोचना । अहिले फेरि विष्णु पौडेललाई अर्थमन्त्रीबाट हटाएर कांग्रेसलाई दिने र गृह मन्त्रालयमा शंकरका भित्रिया ल्याउने खेल चलिरहेको चर्चा छ ।
शंकर अहिले ओलीमाथि हुने आलोचनाको ढाल मात्र बनेका छैनन् । सक्रिय राजनीतिबारे विद्या भण्डारीको चासो र भइरहेका प्रयासबारे समेत उत्तिकै सजक देखिन्छन् । पार्टीको संगठन निर्माणमा समेत पोखरेलको भूमिकालाई नकार्न सकिँदैन । तर, कुनै समय डा. भीम रावल पनि ओलीको उत्तराधिकारीका रुपमा हेरिएकै पात्र थिए । त्यस बेलासम्म रावललाई ओली प्रवृत्ति नै पार्टीको सिद्धान्त लागेको थियो । अहिले त्यही प्रवृत्तिको सिकार उनी आफैँ भएका छन् । पोखरेलको हकमा समेत ओलीको उत्तराधिकारी बन्न नपाउँदै ओलीमाथि नै अर्को पक्षको हस्तक्षेप हुने अवस्था आए पोखरेलको सपना के होला ? त्यसका लागि एमालेमै चलेको कहावत काफी छ– ‘भीम रावल भइएला ।’
प्रतिक्रिया