अंग्रेजी वर्ष २०२४ लाई बिदाइ गर्दै विश्वले नै नयाँ वर्ष २०२५ लाई स्वागत गर्न तम्तयार अवस्थामा छ । सन् २०२४ मा विश्वभर निकै उतारचढावहरु भए । जसमा केही घटनाक्रमले भने विश्वको ध्यान खिच्यो । विश्वको ध्यान खिचेका घटनाक्रमबारे एकपटक फर्केर हेरौँ ।
सन् २०२४ लाई बिदाइ गर्दै नयाँ वर्ष २०२५ को स्वागतका लागि विश्व तम्तयार अवस्थामा छ । नयाँ वर्षको स्वागतका लागि तयारी भइरहँदा बिदाइ हुन लागेको २०२४ लाई एकपटक फर्केर हेरौँ । नयाँ वर्षलाई आकार दिने महत्त्वपूर्ण घटनाहरु प्रतिबिम्बित गर्ने यो राम्रो समय पनि हो । सन् २०२४ मा विश्वभर विभिन्न संकटहरु देखिएको वर्ष बन्यो । २०२४ मा ठूला घटना र प्रकोपका साथै तिनले पारेको प्रभाव सम्भवतः लामो समयसम्म महसुस भइरहने छ । सन् २०२४ मा चर्चित केही घटनाहरु भए । तीमध्ये केही घटनाले खुसी दियो भने केहीले कहिल्यै नबिर्सिने खालका चोट लगाएका छन् ।
नम्बर १. डोनाल्ड ट्रम्पको राष्ट्रपति पदमा जबर्जस्त पुनरागमन
सन् २०२४ ट्रम्पका लागि अत्यन्तै सुखद रहृयो । ट्रम्पले एक पटक फेरि अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुँदै विश्वलाई चकित पारेका छन् । चार अभियोग र आपराधिक सजायको सामना गरेका ७८ वर्षीय ट्रम्पको दुई पटक असफल हत्या प्रयास भयो । यद्यपि राष्ट्रपतिमा निर्वाचित उनी सन् २०२५ जनवरी २० मा ह्वाइट हाउस प्रवेश गर्ने छन् ।
नम्बर २. मध्यपूर्वको युद्ध
हमासले इजरायलमाथि एक्कासी गरेको आक्रमणपछि मध्यपूर्वमा युद्धको आगो सल्किएको छ । त्यसो त सन् २०२३ को अक्टोबरमा हमासले इजरायलमाथि आक्रमण गरेपछि युद्ध चर्किए पनि यो क्रम सन् २०२४ भर नै चल्यो र अझै जारी छ । इजरायलले गाजामा आफ्नो युद्ध जारी राख्यो । इजरायलको आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीहरुको संख्या अहिले ४५ हजार नाघेको छ भने उत्तरी गाजा अनिकालको संघारमा पुगेको छ । सन् २०२४ लाई बिदाइ गर्दैगर्दा मध्यपूर्वको युद्ध भने अन्त्य हुनेमा अझै अन्योल कायम छ ।
नम्बर ३. बसर अल–असदको पतन
सिरियामा इस्लामवादी विद्रोही समूह हयात ताहरिर अल–साम एचटिएसद्वारा नोभेम्बर २७ मा सुरु गरिएको ११ दिनको अप्रत्याशित आक्रमणपछि राष्ट्रपति बसर अल–असद देशबाट मस्को भाग्न बाध्य भए ।
नम्बर ४. रुस–युक्रेन युुद्ध
सन् २०२२ फेब्रुअरी २४ मा रुसको आक्रमणपछि युक्रेनले अगस्टमा रुसको कुस्र्क क्षेत्रमा आश्चर्यजनक आक्रमण सुरु गर्यो । यद्यपि पूर्वी युक्रेनको लडाइँबाट रुसी सेनालाई विचलित गर्ने आफ्नो लक्ष्यमा युक्रेन असफल भएको छ । रुसले घातक आक्रमणका साथ जवाफ दियो । किएभको सेना विशेषगरी पूर्वी डोनबास क्षेत्रमा रुसी सेनाको स्थिर प्रगति रोक्न संघर्ष गरिरहेको छ ।
नम्बर ५. युरोपेली युद्धमा उत्तर कोरियाली सैनिक
यसवर्ष ११ हजारभन्दा बढी उत्तर कोरियाली सैनिकको तैनाथीले रुस–युक्रेन युद्धलाई वास्तवमै विश्वव्यापी संघर्षमा परिणत गर्यो । उत्तर कोरियालीहरु पहिले भाषा सिक्न र आफ्ना नयाँ साथी सैनिकहरुको सञ्चालन कार्यप्रणाली बुझ्न रुसी अड्डाहरुमा तालिमका लागि तैनाथ भएका थिए । रुसको कुस्र्क प्रान्तमा युक्रेनी फौजलाई पछि धकेल्ने प्रयास गर्दै वर्षको अन्तिम साताहरुमा तिनीहरु युद्धमा होमिए । युक्रेन र अमेरिकी अधिकारीहरुका अनुसार सयौँ उत्तर कोरियाली सैनिक लडाईंमा मारिए वा घाइते भएका छन् ।
नम्बर ६. रुसमा पुटिन फेरि राष्ट्रपति
रूसी राष्ट्रपतिमा भ्लादिमिर पुटिन पुनः निर्वाचित भए । उनले आफ्ना तीन जना प्रतिस्पर्धीलाई पछि पार्दै राष्ट्रपतीय चुनावमा निर्वाचित भएका हुन् । त्यसो त उनले चुनाव जित्ने पक्का थियो । निर्वाचन जितेसँगै ७१ वर्षीय उनी पाँचौं पटक राष्ट्रपति बनेका छन् । पुटिन सन् १९९९ देखि निरन्तर सत्तामा छन् । उनी रूसको इतिहासमा सबैभन्दा लामो सरकार चलाउने नेतासमेत बनेका छन् ।
नम्बर ६. दक्षिण कोरियामा मार्सल ल
यसै वर्षको अन्त्यमा दक्षिण कोरियाका तत्कालीन राष्ट्रपति युन सुक–योलले देशमा मार्सल ल लागू गर्ने घोषणा गरे । तर, मार्सल कानुन घोषणा भएको दुई घण्टाभन्दा कम समयपछि नै बहुमत सांसदले उनको आदेशविरुद्ध मतदान गरे । मार्शल ल लगाउने उनको प्रयासलाई लिएर सोलको एउटा अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । दक्षिण कोरियाली सञ्चारमाध्यमका अनुसार दक्षिण कोरियामा पहिलो पटक कुनै पनि राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो ।
सन् २०२४ मा घटेका यी राजनीतिक तथा युद्धका घटनाले विश्वकै ध्यान खिच्यो । मध्यपूर्व तथा रुस–युक्रेन युद्धले भने विश्व समुदायलाई नमिठो चोट दिए पनि अझै युद्ध अन्त्यको संकेत नदेखिँदा यसले सन् २०२५ मा पनि संकट निम्त्याउने सम्भावना उत्तिकै देखिन्छ ।
प्रतिक्रिया