Breaking

सहकारी ठगी प्रकरण : रविसहित ७ जनाको मुद्दामा थुनछेक बहस सुरू


काठमाडौं — पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछानेसहित ७ जनाको बयान सकिएको छ । बयान सकिएसँगै कारागार बसेर मुद्दा लड्ने कि तारेख वा धरौटीमा छुटेर मुद्दा लड्ने भनेर थुनछेक बहस सुरू भएको छ। जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा बयान सकिएसँगै थुनछेक बहस सुरू भएको हो।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने, पूर्वडिआइजी छविलाल जोशी, लिला पछाई, रामप्रसाद खनाल, मिना गुरूङ, आरती गुरूङ र कृष्णबहादुर गुरूङ मुद्दाका प्रतिवादीमा छन्। उनीहरूसँग बयान सकिएसँगै थुनछेक बहस सुरू भएको हो ।

ुथुनछेक बहसमा सरकारी वकिल र सहकारी पीडितका कानुन व्यवसायीले अभियुक्तहरूलाई थुनामा राखेर मुद्दा अघि बढाउनुपर्ने बहस गर्नेछन् भने अभियुक्तहरूका तर्फबाट वकालत गर्ने कानुन व्यवसायीहरूले धरौटी वा तारेखमा छाडेर मुद्दा अघि बढाउन जिकिर गर्ने सहकारी पीडितका कानुन व्यवसायी अधिवक्ता युवराज पराजुलीले जानकारी दिए। उनीहरूविरूद्ध जिल्ला सरकारी वकिलको कार्यालयले पुस ७ गते अदालतमा मुद्दा दायर गरेको थियो।

सूर्यदर्शन सहकारी ठगीमा मुछिएका सहकारी संचालक लगायत व्यक्तिविरूद्ध सुरूमा दर्ता गरिएको मूल अभियोग, थप अभियोग र रवि लामिछाने जोडिएको पूरक अभियोग गरी ८ वटा कम्पनीसहित ६३ जनालाई प्रतिवादी बनाइएको छ। उनीहरूसँग १ अर्ब ५१ करोड बढी रकम बिगो माग गरिएको छ। जसमा रवि लामिछानेसँग सहकारी ठगी अभियोगमा ३ करोड ३७ लाख ६५ हजार र सम्पत्ति शुद्धीकरणतर्फ २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैया बिगो असुल गर्न माग गरिएको छ।