समाचार

बालविवाह अन्त्यका लागि अभियानमा जुट्दै प्रदेश मन्त्रीहरु


काठमाडौं —प्रदेश मन्त्रीहरुले बालविवाह अन्त्यका लागि अन्तरक्रिया र गोष्ठी नभई तीन तहका सरकारले जिम्मेवार भएर अभियान सञ्चलान गर्न जरुरी रहेको बताएका छन्। आज ललितपुरमा बालविवाहमुक्त नेपाल अभियान सञ्चालनका लागि आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रदेश मन्त्रीहरुले बालविवाह न्युनिकरणका लागि समाजसँग प्रत्यक्ष सरोकार राख्ने स्थानीय सरकारलाई सक्रिय बनाउनुपर्नेमा जोड दिएका छन् । बालविवाह अन्त्यका लागि सबै तहका सरकारले आ–आफ्नो ठाउँबाट महत्वपूर्ण भुमिका खेल्न जरुरी रहेको प्रदेशमन्त्रीहरुले बताए । कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले बाल विवाहको अन्त्यको लागि अन्तरक्रिया नभई अभियानको थालनी गर्नुपर्ने बताए ।

त्यस्तै मधेस प्रदेशका खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोदकुमार जयसवालले बालविवाहको समस्याले समग्र देश प्रताडित बनेको बताए । उनले मधेस प्रदेश सबैभन्दा धेरै बाल विवाहको समस्या झनै विकराल बन्दै गइरहेको उल्लेख गर्दै बालविवाह मुक्त अभियानको थालनी गर्न नहुने बताए । कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले बालविवाह न्युनिकरणका लागि तीनै तहको सरकारले सहकार्य र समन्वयकारी भुमिका खेल्न जरुरी रहेको बताए ।