देश

जनस्वास्थ्यबारे यथार्थ र वर्तमान अवस्था


काठमाडौँ — सर्वप्रथम जनस्वास्थ्यबारे विस्तृत रुपमा जानु भन्दा अगाडि मैले जनस्वास्थ्य नै किन रोज्न पुगेँ भन्नेबारे छोटो चर्चाबाट सुरुवात गर्न चाहन्छु । स्वास्थ्य भन्ने शब्द सानैदेखि सुन्दै आए पनि ‘जनस्वास्थ्य’ भन्ने शब्द मैले पहिलोपटक Health Assistant (PCL General Medicine) पढ्दा सन् २०१३ मा सुनेको थिएँ। त्यो बेला C.E.A. Winslow ले तय गरेको जनस्वास्थ्यको परिभाषा “Public health is the science and art of preventing disease, prolonging life, and promoting physical health and efficiency through organized community efforts” पढेर जनस्वास्थ्य बारे जानकारी हांसिल गरेको हुँ। जनस्वास्थ्य शब्द नै प्यारो लाग्ने, सबै तिर जनस्वास्थ्य जोडिएको छ, जनस्वास्थ्यकै भुमिका छ जस्तो लाग्ने गर्दछ । अहिले आएर नेपाल सरकारको एक जनस्वास्थ्यकर्मी एवम् जनस्वास्थ्य संकाय विद्यार्थीका रुपमा आफुलाई चिनिन पाँउदा गर्व महसुस हुन्छ । मैले यस लेखमा एउटा जनस्वास्थ्यकर्मी एवम् जनस्वास्थ्य संकायको विद्यार्थीका रूपमा आफुले जनस्वास्थ्य सम्बन्धि जानेका, बुझेका र देखेका विषयवस्तुबारे प्रस्तुत गर्ने जमर्को गरेको छु ।

जनस्वास्थ्यको अवधारणा र परिचय

सर्वप्रथम स्वास्थ्य के हो? यसमा हाम्रो धारणा एक नासको छैन । कसैलाई स्वास्थ्य भनेको रोग नलाग्नु, बलियो हुनु, फूर्तिलो हुनु, त कसैलाई मोटोघाटो खाइ लाग्दो हुनु भन्ने लाग्दछ । जनप्रतिनिधिलाई स्वास्थ्य के हो भनेर सोधे डाक्टर, औषधी, अस्पताल, एम्बुलेन्स आदी नै स्वास्थ्य हो भन्ने बुझाइ पाइन्छ । यसैगरी जनस्वास्थ्य भनेको के हो? भनेर धारणा बुझेमा धेरैलाई स्वास्थ्य र जनस्वास्थ्य भनेको एकै हो भन्ने नै छ । जान्ने बुझ्नेले पनि जनस्वास्थ्य भनेको पोषण, खोप, परिवार नियोजन, महामारी नियन्त्रण, स्वास्थ्य अभियान कार्यक्रम चलाउने कार्यालय हो भन्ने बुझाइ रहेको पाइन्छ । यी बुझाइहरु पूर्णतः गलत नभए पनि अपूर्ण वा अधूरा छन् ।

विश्व स्वास्थ्य संगठन (WHO) ले गरेको परिभाषा अनुसार कुनै व्यक्तिलाई रोग नलाग्नु मात्र स्वस्थ्य हुनु होइन, स्वस्थ्य हुनु भनेको शारीरिक, मानसिक र सामाजिक एमव् आध्यात्मिक रूपले तन्दुरूस्त रहनु हो । यसरी यो परिभाषाले कुनै व्यक्तिको एउटा यस्तो अवस्थाको निर्धारण गरेको छ, जसमा जीवनका चारै आयामहरू जस्तै शरीर, मन, समाज र आत्माको तन्दुरूस्ती रहन्छ । यस परिभाषाले स्वास्थ्य भनेको कुनै साधनबाट एकपटक हासिल हुने वस्तु वा अवस्था नभएर यो दिगो अवस्था हासिल गर्न व्यक्तिको अनुकूल जीवनशैलीतर्फ संकेत गर्दछ । कुनै एक व्यक्तिको स्वास्थ्य निर्धारणमा परिवार र समाजको पनि असर र प्रभाव पर्दछ । जबसम्म परिवार र समाज वा देशको वातावरण स्वस्थ हुँदैन तबसम्म व्यक्तिको स्वस्थ्य अवस्था क्षणिक हुन जान्छ । यसैले स्वास्थ्य अवस्था कायम राख्न परिवार, समाज र राज्यको सामूहिक भूमिका अनिवार्य छ । यहि महत्त्वलाई ध्यान दिएर जनस्वास्थ्यको अवधारणा विकसित भएको हो ।

जनस्वास्थ्य के हो ? जनस्वास्थ्य भनेको त्यस्तो विज्ञान र कला हो जसले व्यक्ति र समुदाय, निजी र सरकारी, तथा समुदायलाई सुसूचित गराई सामुहिक पहलद्वारा रोगको रोकथाम, स्वास्थ्यको प्रवर्द्धन गरि मानिसको आयु बढाउने पहल गरिन्छ, भनेर सि.इ.ए. विन्स्लो (C.E.A. Winslow) ले जनस्वास्थ्यलाई परिभाषित गरेका छन् । प्रस्तुत परिभाषाले जनभावना, जनआकांक्षा र जनसहभागिता समेटेको छ । यसमा व्यक्ति, समुदाय र राज्य साथै निजी वा गैरसरकारी संस्थाको भुमिकालाई पनि संकेत गरेको छ । यस परिभाषा अनुसार जनस्वास्थ्य बहुआयामिक विषय हो यसले ‘म’, ‘हामी’, ‘समाज’ अनि ‘वातावरण’ सबैलाई एकै सञ्जालमा बाँधेको हुन्छ। कुनै एक तत्वको अस्तित्व अर्को कुनै एक बिना सम्भव हुँदैन। जनस्वास्थ्य जीवन जिउने पद्धति ‘वे अफ लिभिङ’ हो, यसले हामीलाई कसरी बाँच्ने, अझ भनौँ कसरी शारीरिक, मानसिक, सामाजिक, मनोवैज्ञानिक तथा आध्यात्मिक रुपमा स्वस्थ भई बाँच्ने भनेर सिकाउँदछ।

माथि उल्लेखित दुई परिभाषालाई दिमागमा विम्बको रूपमा स्थापित गर्न म एउटा उदाहरण राख्दैछु । स्वास्थ्य स्थिति भनेको रोग नलागेको सप्रेको बाली हो भनेर हामी एकछिनलाई बुझौं । यदि बालीमा रोग लागेमा किटनाशक विषादी छर्नु भनेको उपचारात्मक सेवा हो । बालीलाई पशुपंक्षीबाट जोगाउन गरिने घेराबारा भनेको रोगबाट बचाउने प्रतिकारात्मक सेवा जस्तै हो । यसैगरी बालीबाट राम्रो उत्पादन लिन हालिने मल, गोडमेल भनेको स्वास्थ्य प्रबर्धन अर्थात् प्रबर्धनात्मक स्वास्थ्य सेवा जस्तै हो ।

माथि विषादी छिट्काउ गरेर किरा मार्नुलाई स्वास्थ्यको उपचारात्मक सेवासंग तुलना गर्न सकिन्छ । यसैगरी पशुपंक्षीबाट बचाउन घेराबारा गरे जस्तै रोगबाट बचाउने कार्यलाई स्वास्थ्यमा प्रतिकारात्मक सेवा भनिन्छ र बालीलाई मलजल वा गोडमेल गरेजस्तै स्वास्थ्यमा प्रबर्धन गरिने कार्य वा सेवालाई प्रबर्धनात्मक सेवा भनिन्छ । यसरी बिरामी पर्दा गरिने उपचार भनेको उपचरात्मक सेवामा पर्दछ । रोग नलागिकन रोगबाट बच्ने उपाय गर्नु वा स्वास्थ्य मजबूत बनाउने पहल गर्नु क्रमसः प्रतिकारात्मक र प्रबर्धनात्मक स्वास्थ्य सेवा हुन् । यसैले चिकित्सा विज्ञान भनेको बढी उपचारात्मक सेवामा केन्द्रीत हुन्छ भने जनस्वास्थ्यले उपचारात्मक लगायत प्रतिकारात्मक र प्रबर्धनात्मक सेवालाई समेट्दछ ।

जनस्वास्थ्य के हो? भन्दा पनि जनस्वास्थ्य के हैन? जटिल प्रश्न हुन सक्छ। जनस्वास्थ्यले सन्तुलित भोजन गर्ने, सरसफाइ गर्ने, खोप लगाउने, स्तनपान गराउने, परिवार नियोजन गर्ने, व्यायाम गर्ने, कुलत छोड्ने, स्वस्थ जीवनशैलीको अनुशरण गर्ने, सरुवा तथा नसर्ने रोगविरुद्ध सावधानी अपनाउने, अस्पताल वा स्वास्थ्य संस्था गएर स्वास्थ्य जाँच गर्ने, रोगको उपचार गर्ने, तनाव नलिने, जोखिममा रहेकाहरुको स्वास्थ्यमा विशेष ख्याल पुर्‍याउने, स्वास्थ्य क्षेत्रमा आर्टिफिसिअल इन्टेलिजेन्स प्रयोग गर्ने, आफ्नो तथा परिवारको स्वास्थ्य बीमा गर्ने आदि सबै कुराहरुलाई समेट्छ। यसरी जनस्वास्थ्यको कार्यक्षेत्र भित्र रोगको उपचार देखि रोग लाग्न नदिन गरिने रोकथाम, नियन्त्रण र प्रबर्धन कार्यहरु पर्दछ ।

जनस्वास्थ्य र चिकित्सा । (Public Health and Medical)

“जन” (जनता) र “स्वास्थ्य” दुई शब्दबाट बनेको जनस्वास्थ्य भन्नाले सबै जनताको स्वास्थ्य अवस्था माथि उकास्नका लागि अध्ययन गरिने विज्ञान हो। जस्तै समुदायमा धेरै मानिसहरु हुन्छन् ; जो रोगी हुँदैनन् उनीहरुको स्वास्थ्य प्रबर्धनका लागि कुनै पनि प्रकारको रोकथाम अपनाईएन भने उनीहरुलाई कुनै प्रकारको स्वास्थ्य समस्या वा रोगी हुन्छ, त्यसपछि मात्र उपचारको लागि अस्पताल वा स्वास्थ्य सस्थामा जान्छ र उसले आफ्नो स्वास्थ्य राम्रो बनाउनको लागि उपचार गराउँछ भने चिकित्साले मात्र कुनै पनि बिरामीको अध्ययन गर्दछ, यसले धेरै मानिस/Population (रोग नलागेका जनता/ हेर्दा स्वस्थ तर रोग लुकेर रहेका जनता ) को स्वास्थ्यको कुरा गर्दैन।

चिकित्सा विज्ञान र जनस्वास्थ्यलाई एकै ठाउँमा राखेर एउटा प्रश्न गरौँ, ‘तिमी कसलाई स्वस्थ बनाउन खोज्दैछौ?’
चिकित्सा विज्ञानले बिरामीको अनुहार स्पष्टसँग सम्झिन्छ र ‘यो वा यो-यो व्यक्तिको’ भनेर उत्तर दिईहाल्छ तर जनस्वास्थ्यले व्यक्तिको नाम लिँदैन, जनस्वास्थ्यले पुरै समाज देख्दछ। चिकित्सा विज्ञानले बिरामीको स्वास्थ्यबारे कुरा गर्छ तर जनस्वास्थ्यले बिरामीमात्र नभए पुरै समाजको स्वास्थ्य बारे कुरा गर्दछ ।

यी दुई बीचमा थप के के भिन्नता छन् नियालौं । चिकित्सा विज्ञानले बिरामी व्यक्तिलाई उपचार गर्दछ तर जनस्वास्थ्यले मानिस बिरामी नहुँदै भविश्यमा हुने खतरालाई पूर्वानुमान गरेर रोकथामका उपाय गर्दछ । चिकित्सा विज्ञानको कार्यक्षेत्र भनेको अस्पताल भित्र हुन्छ, जति पनि परिक्षण र उपचार सबै अस्पतालभित्र गरिन्छन् तर जनस्वास्थ्यको कार्यक्षेत्र भनेको अस्पताल लगायत समुदाय र राष्ट्रिय तथा अन्तराष्ट्रिय अभ्यास र चलन समेत पर्दछ । चिकित्सा विज्ञानमा स्वास्थ्य हासिल गर्नलाई व्यक्ति स्वयम् वा परिवारले पहल गर्दछ तर जनस्वास्थ्य हासिल गर्न व्यक्ति, समाज र राज्यको सामूहिक पहल अपरिहार्य पर्दछ । यति मात्रले नपुगेर निजी वा गैरसरकारी क्षेत्रको भूमिका पनि आवश्यक पर्दछ ।

जनस्वास्थ्यकर्मीहरुले कहाँ कहाँ काम गर्दछन् त ?

नेपालको स्वास्थ्य प्रणालीमा पक्का जनस्वास्थ्यकर्मीहरु लोकसेवाले लिने गर्दछ र उनीहरुको दरबन्दी स्थानीय तहको नगरपालिका वा सो भन्दा माथिल्लो तहमा रहेको छ । स्थानीय तहको नगरपालिकामा जनस्वास्थ्य अधिकृत सातौं/आठौं तहलाई स्वास्थ्य प्रमुख, उप/महानगरपालिका जनस्वास्थ्य प्रशासक नवौं/ दशौं तहलाई स्वास्थ्य प्रुमुख, त्यसैगरी प्रदेश अन्तर्गत स्वास्थ्य/जनस्वास्थ्य कार्यालयमा जनस्वास्थ्य अधिकृत सातौं/आठौं तहलाई स्वास्थ्य/जनस्वास्थ्य प्रमुख (पहिलाको जिल्ला स्वास्थ्य/जनस्वास्थ्य प्रमुख वा जिल्ला स्वास्थ्य अधिकारी) र उप/महामगरपालिका अवस्थित जिल्लाहरुमा जनस्वास्थ्य प्रशाशक नवौं/दशौं तहलाई स्वास्थ्य/जनस्वास्थ्य कार्यालय प्रमुख, प्रदेश मन्त्रालय/सामाजिक विकास मन्त्रालयहरुमा जनस्वास्थ्य प्रशासक नवौं तह देखि प्रमुख जनस्वास्थ्य प्रशासक एवम् निर्देशक एघारौं तहको पदमा स्वास्थ्य/जनस्वास्थ्य प्रमुख र स्वास्थ्य सचीव, त्यसैगरी स्वास्थ्य निर्देशनालय (क्षेत्रीय निर्देशनालय) हरुमा प्रमुख जनस्वास्थ्य प्रशाशक/निर्देशक एघारौं तहलाई स्वास्थ्य निर्देशकमा खटाइनेछ ।

त्यसैगरी संघीय मन्त्रालय, विभाग, केन्द्र, महाशाखा लगायत शाखाहरुमा जनस्वास्थ्य अधिकृत सातौं/आठौं देखि प्रमुख जनस्वास्थ्य प्रशासक/निर्देशक एघारौं तह, स्वास्थ्य महानिर्देशक र स्वास्थ्य सचीव सम्मको जिम्मेवारीमा समेत पुग्नेछ । त्यसैगरी हाल अस्पतालहरुमा छुट्टै जनस्वास्थ्य विभाग स्थापना गरेर जनस्वास्थ्य सम्बन्धि कार्य एवम् स्वास्थ्य सम्बन्धि अनुसन्धान गर्ने गरि संरचना निर्माण गरि जनस्वास्थ्यकर्मीहरु पुर्याउने बारे स्वास्थ्य मन्त्रालयले गृहकार्य गरिरहेको अवस्था छ । यसरी जनस्वास्थ्यकर्मीहरुले स्वास्थ्य मन्त्रालयदेखि स्थानीय तह सम्म कार्यहरु गर्दैछन् ।

यसैगरी संघीय संरचना अनुसार जनस्वास्थ्यकर्मीहरु नगरपालिका त्यो भन्दा माथिल्लो तहहरुमा मात्र छन् भने नेपालमा सबैभन्दा धेरै स्थानीय तहमा गाँउपालिका (४६० ) रहेका छन् जसमा जनस्वास्थ्यकर्मीहरु भन्दा नि जुनियर स्वास्थ्यकर्मीहरु रहेका छन् । यसरी हाल पक्का जनस्वास्थ्यकर्मीहरुको दरबन्दी नगरपालिका वा सो भन्दा माथिल्लो तहमा रहने भएकाले देशको सबैभन्दा धेरै स्थानीय तह रहेको गाउपालिका (४६० ) मा पक्का जनस्वास्थ्यकर्मीहरु नहुदाँ भने सोचेजस्तो स्वास्थ्य परिणाम पाउन नसकेको अवस्था छ।

जनस्वास्थ्यकर्मीहरुले के के काम गर्दछन् त ?

अहिले जनस्वास्थ्यकर्मीहरुले स्वास्थ्य मन्त्रालयदेखि प्रत्येक स्थानीय तह सम्म :-
१)) आवश्यक स्वास्थ्य संरचना तयार गर्ने
२) आवश्यक स्वास्थ्य नीति, नियम, रणनीतिहरुको तर्जुमा गर्ने
३) आवश्यक स्वास्थ्य सम्बन्धि योजना तर्जमा लागू गर्ने
४) स्वास्थ्य प्रशासन संचालन, स्वास्थ्य जनशक्ति व्यवस्थापन गर्ने ।
५) स्वास्थ्यकर्मीहरुलाई तालिम उपलब्ध गराउने
६) अस्पताल लगायत स्वास्थ्य संस्थाहरुको अनुगमन, निरीक्षण र निर्देशन दिने ।
७) महामारी तथा प्राकृतिक प्रकोपको तयारी वा नियन्त्रण गर्ने
८) लागूऔषध, कुलत लगायत सामाजिक विकृति नियन्त्रण सम्बन्धी आवश्यक स्वास्थ्य नीति, नियम, रणनीतिहरुको तर्जुमा गर्ने
९) स्वास्थसम्बन्धी अनुसन्धान गर्ने
१०) समुदायका मानिसहरुको दैनिक जीवनयापनले स्वास्थमा पार्ने असरहरुको स्वास्थ्य शिक्षा दिने
११) समुदायका मानिसहरुको स्वास्थ्य प्रबर्धनका लागि वकालत गर्ने तथा स्वास्थ्य प्रबर्धन गर्ने
१२) समुदायका मानिसहरुलाई रोगविरुद्धको प्रतिरक्षा सुरक्षित गर्ने
१३) पोषणसम्बन्धी योजना तर्जमा एवम्
खाध सुरक्षा सुनिश्चितता गर्ने
१४) जनतालाई आधारभूत स्वास्थ्य सेवाको सुनिश्चितता गर्ने
१५) विद्यालयमा स्वास्थ्य सुधारको लागि स्वास्थ्य प्रबर्धन गर्ने
१६) स्वास्थ्यसम्बन्धी तथ्यांकहरुको प्रयोग, विश्लेषण र पृष्ठपोषण प्रदान गर्ने आदि धेरै कार्यहरू गर्दछन् ।

जनस्वास्थ्यको अवस्था कस्तो छ त ?

संसारका धेरै विकसित राष्ट्रहरुले जनस्वास्थ्यलाई सबैभन्दा धेरै लगानी र प्राथमिकता दिन्छन् फलस्वरुप ती विकसित राष्ट्रका मानिसहरुको स्वास्थ्य अवस्थामा सुधार हुन्छन ।
जस्तै; जर्मनी, जापान र नेदरल्याण्डमा मातृ मृत्युदर ४ प्रति लाख छ भने नेपालको २०२१ को जनगणना अनुसार १५५ प्रति लाख छ । त्यसैगरी विकसित राष्ट्रहरुमा नवजात शिशु मृत्यु दर पनि एकदम कम हुन्छ, रोग लागेका मानिसहरुको सङ्ख्या कम हुन्छ, खानपिनको गुणस्तर हुन्छ इत्यादी ।

हाम्रो जस्तो विकाशिल राष्ट्रहरुले समुदायका मानिसहरुको जनस्वास्थ्यलाई प्राथमिकता दिन सकिरहेको अवस्था छैन जसको फलस्वरुप मातृ मृत्युदर, नवजात शिशु मृत्युदर, रोग लागेका मानिसहरुको सङ्ख्या एकदम धेरै हुन्छ, खानपिनको गुणस्तर चेकजाँच हुँदैन । रोगको भार धेरै हुन्छ । अस्पताल र चिकित्सा स्वास्थ्यकर्मीको मात्र आवश्यकता महसुस हुन गई जनस्वास्थ्यकर्मीहरुको आवश्यकतालाई अझै प्राथमिकता दिन सकिरहेको अवस्था छैन । यसरी भोलि यदि स्वास्थ्य सेवा भनेको उपचार सेवा मात्र हो जुन चिकित्सा विज्ञानबाट हासिल गर्न सकिन्छ भन्ने भ्रम नीति निर्मातामा रहिरहन गयो भने यसले प्रतिकारात्मक र प्रबर्धनात्मक सेवामा ध्यान नपुग्न सक्छ ।

फलस्वरूप कालान्तरमा उपचारात्मक सेवा समेत अस्तव्यस्त हुनपुग्छ । हामीले हासिल गरेको बालमृत्युदर, मातृमृत्युदरमा आएको कमी, सरदर आयुदरमा भएको बृद्धि लगायत सुधार हुने क्रममा रहेका स्वास्थ्य परिणामहरु पुनः उल्टिनेछ । एउटा आहान छ “रोग लाग्नु भन्दा रोग लाग्नै नदिनु राम्रो हो।” यहि सिद्धान्तमा जनस्वास्थ्य अवधारणा र कार्यक्रम आधारित हुन्छ । नेपालले SDG 2030 (Sustainable development Goals) सम्मको लागि एकदम महत्वकांक्षी लक्ष्यहरु राखेपनि त्यो प्राप्तिका लागि धेरै कुराको आवश्यकता पर्दछ जसमा स्वास्थ्यको सम्पूर्ण लक्ष्यहरु पूरा गर्न अस्पताल र चिकित्सा स्वास्थ्यकर्मीहरु मात्र भएर हुँदैन त्यसका लागि जनस्वास्थ्यमा लगानी तथा जनस्वास्थ्यकर्मीको अपरिहार्य हुन्छ ।

चिकित्साको अवस्था के छ त ?

नेपालमा चिकित्सा विज्ञान व्यापकरुपमा विकास भएको पाइन्छ, जुन हामीले अस्पतालहरुको स्थापना र चिकित्सक एवम् नर्सिङ जस्ता स्वास्थ्यकर्मी जनशक्ति उत्पादन भैरहेको देख्छौँ । नेपालको स्वास्थ प्रणालीमा उनीहरुको पनि चौथो तह देखि सुरु भई पाचौं, छैटौं, सातौं, आठौं, नवौं, दशौँ र यसमाथि तह हुने भएकाले उनीहरुको दरबन्दी स्वास्थ्य चौकी देखि स्थानीय अस्पताल, जिल्ला अस्पताल, प्रादेशिक अस्पताल, संघीय अस्पताल देखि विभाग र मन्त्रालय सम्म रहेको छ।

अन्त्यमा, जनस्वास्थ्य बहुआयामिक विषय हो । यसैले यसलाई विज्ञान मात्र नभनेर कला पनि भनिएको हो । जनस्वास्थ्यको व्यवहारिक अनुवाद एउटा कुशल व्यवस्थापनले मात्र सम्भव हुन्छ । एउटा अस्पतालको व्यवस्थापन जस्तो होइन जनस्वास्थ्यको व्यवस्थापनमा सामाजिक नेतृत्व गर्ने क्षमता आवश्यक पर्दछ । जनस्वास्थ्यकर्मी एउटा प्राविधिक मात्र हैन, प्रशासक हो, व्यबस्थापक हो, योजनाकार हो, अनुसन्धाता हो र एउटा सामाजिक नेता पनि हो । प्राविधिक ज्ञान मात्र पर्याप्त छैन, शीप र शैलीको पनि जनस्वास्थ्यमा महत्व छ । बैज्ञानिक प्रविधि र ज्ञानलाई समुदायमा पुर्याउन एक्लै सम्भव छैन, यसको लागि विभिन्न साझेदारहरूसित सहभागिता जुटाएर समन्वय कायम राख्न कलात्मक सोंच र सिर्जनशीलताको खाँचो पर्दछ । यी सबै कुरा सम्पन्न गर्न जनस्वास्थ्य क्षेत्रको लक्ष्य, योजना, नीति, रणनीति र कार्यक्रमहरु बनाई जनताको स्वास्थ्य अवस्थामा सुधार ल्याउन शैक्षिक रूपले दक्ष जनस्वास्थ्यकर्मीबाट मात्र सम्भव हुन्छन् ।

ङिमा शेर्पा जनस्वास्थ्य निरीक्षक अधिकृत, नेपाल सरकार, जनस्वास्थ्य विद्यार्थी राजर्षी जनक विश्वविद्यालय, जनकपुरधाम, धनुषा 9860253666