अन्तर्राष्ट्रिय

जिमी कार्टर : ह्वाइट हाउस छोडेपछि झनै सफल, सय वर्ष बाँचे


अमेरिकाका पूर्व राष्ट्रपति जिमी कार्टरको निधन भएको छ । अमेरिकाको पूर्व राष्ट्रपतिका रुपमा सबैभन्दा लामो उमेर बाँचेका कार्टरको आइतबार सय वर्षको उमेरमा निधन भएको हो ।


अमेरिकाको पूर्व राष्ट्रपतिका रुपमा सबैभन्दा लामो उमेर बाँचेका जिमी कार्टरको आइतबार सय वर्षको उमेरमा निधन भएको छ । कार्टरको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने छ भने अमेरिकामा आगामी जनवरी ९ मा राष्ट्रिय शोकको घोषणा गरिएको छ ।

कार्टरको निधनप्रति दु.ख व्यक्त गर्दै राष्ट्रपति जो बाइडेनले विश्वले एक ‘असाधारण नेता, राजनीतिज्ञ र मानवतावादी’ गुमाएको र आफूले एक प्रिय मित्र गुमाएको बताएका छन् । सन् १९२४ अक्टुबर १ मा अमेरिकाको जर्जियास्थित प्लेन्समा जन्मिएका उनको आइतवार आफ्नै निवासमा निधन भएको हो । झन्डै सात वर्ष नौसेनामा रहेर सेवा गरेका उनले १९५३ मा लेफ्टिनेन्ट कमाण्डरको जागिर छोडेर जर्जिया फर्किएपछि पारिवारिक व्यवसायमा सक्रिय भएका थिए । यो अवधिमा उनी जर्जियाको स्टेट सिनेट भएर काम गरेका थिए ।

१९७१ मा जर्जियाको गर्भनरमा उनी निर्वाचित भए । १९७६ मा डेमोक्रेट पार्टीबाट अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुँदै उनले सत्तारोहण गरेका थिए । बदाम किसान कार्टर आर फोर्डलाई हराएर अमेरिकाको ३९ औं राष्ट्रपति बन्न सफल भएका थिए । कार्टरले राष्ट्रपतिको रूपमा एक कार्यकाल सेवा गरे ।

तर सन् १९८० को चुनावमा रोनाल्ड रेगनसँग उनी नराम्ररी पराजित भएका थिए । त्यसबेला उनले जम्मा ६ वटा राज्यमा मात्रै जित हात पारेका थिए । यद्यपि, उनी ह्वाइट हाउस प्रवेश गर्ने नैतिकवान नेतामध्येमा पर्छन् । अर्को पद र पहुँचमा नहुँदा पनि व्यक्तिले चाहे धेरै काम गर्न सक्छन् भन्ने उदाहरणीय व्यक्ति भित्र उनी पर्छन् । ह्वाइट हाउसको कार्यकालपछि कार्टर सेन्टरमार्फत सामाजिक सेवामा सक्रिय उनले विश्व शान्ति, मानव अधिकार, चुनावको पर्यवेक्षण लगायत सेवामा पु¥याएको योगदानको जति नै चर्चा गरे पनि अपुग हुनेछ । विश्व शान्ति, जलवायु परिवर्तन र मानवअधिकारमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै सन् २००२ मा कार्टरलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो । क्याम्प डेभिड सम्झौतासहित इजरायल–अरब शान्ति सन्धिको नेतृत्व, पनमा नहर पानामालाई फिर्ता दिने निर्णय अझै पनि ऐतिहासिक मानिन्छ । अन्तर्राष्ट्रिय स्तरमा उनले इजरायल र इजिप्टबीच शान्ति सम्झौता गराउन महत्वपूर्ण भूमिका खेलेका थिए । यद्यपि, इरानमा बन्धक सङ्कट र अफगानिस्तानमा सोभियत सङ्घको आक्रमणजस्ता मुद्दामा उनले संघर्ष गर्नुपरेको थियो ।

चीनसँग कुटनीतिक सम्बन्ध स्थापना गरेका कार्टर नेपाल र अमेरिकाबीचको सम्बन्धलाई प्रगाढ बनाउने पात्रमध्येमा पर्दछन् । नेपालको दश वर्षे सशस्त्र द्वन्द्व टुंगोमा पु¥याउन शान्ति प्रक्रियामा उनको संस्था कार्टर सेन्टरले महत्वपूर्ण भूमिका खेलेको थियो । यसक्रममा उनी नेपालसमेत आएका थिए । उनले पाँच पटक नेपालको भ्रमण गरेका थिए । यस्तै, नेपालको संविधानसभाको चुनावदेखि भूकम्पपछिको पुनर्निर्माण र राहतकार्यमा समेत उनको संस्थाले खेलेको सहयोगी भूमिकालाई नेपाली जनतालाई बिर्सिएका छैनन् । व्यापारी, नौसेना अधिकारी, राजनीतिज्ञ, शान्ति वार्ताकार, लेखक, सिकर्मी जस्ता विभिन्न परिचयले परिचित कार्टर विश्वका लागि उदाहरणीय पात्र हुन् ।