समाचार

धपक्क बलेको टुँडिखेलको ‘तमू ल्होसार’, गुरुङको भेषभुषामा युवायुवती


गुरुङ समुदायले आफ्नो मुख्य चाड तमू ल्होसार भव्यताका साथ मनाउँदै नयाँ वर्षलाई स्वागत गरेका छन् । सर्प वर्गको स्वागत गरेर गरुड वर्षको बिदाइ गर्दै गुरूङ समुदायले तमू ल्होसार मनाएका हुन् ।

गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै ‘तमु ल्होसार’ मनाएका छन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई गुरूङ समुदायले ल्होसार पर्व विशेष महत्वका साथ मनाउँदै आएका छन् । तमु पात्रोअनुसार यस वर्षबाट मुप्री ल्हो (गरुड वर्ग)लाई बिदाइ गरी सप्री ल्हो (सर्प वर्ष) को स्वागत गरिएको छ । प्रत्येक वर्ष पुस १५ मा मनाइने तमु ल्होसारमा गुरुङ समुदायका किशोर÷किशोरीदेखि बालबालिका तथा वृद्धवृद्धाहरूले यो चाड हर्षोल्लासका साथ मनाउने गर्छन् । तमु ल्होसार गुरुङ समुदायको बसोबास रहेको स्थानमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाउँदा काठमाडौंमा छरिएर बसोबास गर्नेहरूले भने टुँडिखेलमा उत्वसकै रुपमा मनाएका छन् ।

तमु ल्होसारमा विशेष गरी गुरुङ समुदायले एकआपसमा भेटघाट, शुभकामना आदानप्रदान, घरमा पूजा, सांस्कृतिक विधिसहित मनाउने गर्छन् । पुस १५ को मध्यराति नै आफ्ना पितृलाई सम्झेर पूजाआजा गर्ने परम्परा रही आएको यस समुदायका अग्रजहरू बताउँछन् । यसमा अन्य पर्वहरू जस्तो विशेष केही विधि नभएता पनि विभिन्न कार्यक्रम र धेरै समयसम्म भेट नभएकाहरूबीच भेटघाट गरेर रमाइलो गर्ने गरिन्छ ।

तमु ल्होसारको आफ्नै विशिष्ट इतिहास र परम्परा रहेको जानकारहरु बताउँछन् । अन्य समुदायले तिथिअनुसार आफ्नो ल्होसार पर्व बनाउने भए पनि गुरूङ जातिले भने निश्चित एउटै मितिमा मात्रै ल्होसार मनाउने हुँदा यो अरुकोभन्दा फरक रहेको उनीहरुको भनाइ छ ।

तमु समुदायले यस पर्वलाई परम्परा, धर्म, संस्कार र संस्कृतिका साथै आर्थिक उन्नति एवम् प्रगतिका रूपमा पनि लिने गरेको छ । तमु पात्रो अनुसार विभित्र १२ वटा जीवहरूका नामबाट १२ महिनाको गणना गरिन्छ । आदिमकालमा कुनै वैज्ञानिक गणना पद्धतिको विकास नहुँदाको समयमा पनि यस समुदायका पूर्वजहरूले विभिन्न जीवजन्तुलाई आधार बनाइ वर्ष भरीको १२ महिनाको गणना गर्ने पद्धतिको विकास गरेको गुरूङ समुदायको मान्यता छ । त्यही परम्पराको निरन्तरताको रूपमा आजको दिनलाई गुरुङ जातिले तमु ल्होसारका रूपमा निरन्तरता दिँदै आएको हो ।

सरकारले तमु ल्होसारको अवसरमा सार्वजनिक बिदा पनि दिने गरेको छ । राष्ट्र प्रमुखदेखि कार्यकारी लगायतका अन्य उच्च ओहोदामा बसेकाले पनि यस अवसरमा शुभकामना दिने गरेका छन् । जसले जातीय तथा धार्मिक सहिष्णुता अभिवृद्धिमा सहयोगी भूमिका खेल्दै आएको छ । नेपाल विविध जातजाति, सम्प्रदाय, भाषाभाषी, धर्म र संस्कृतिक समूहहरु मिलेर बसेको साझा देश हो । सबै समुदायहरूबीच रहिआएको सह–अस्तित्व, पारस्परिक सहयोग र सहिष्णुताका साथै मौलिक संस्कृति र सभ्यता नेपालीको साझा पहिचान र गौरव बन्दै आएको छ ।