सरकारको धरातल दुई तिहाइको रहँदा देखिने गरी काम गर्नुपर्ने गृहमन्त्री रमेश लेखक आफ्नै नेताहरुको घेराबन्दीमा परेका छन् । नागरिकका नजरमासमेत रवि लामिछानेका कारण प्रश्नमा रहेका उनी प्रधानमन्त्रीकोसमेत साथ पाइरहेका छैनन् । जसमा कांग्रेसभित्रको गुटगत राजनीतिको प्रभाव सबैभन्दा बढी देखिँदा कस्तो छ त उनीविरुद्धको घेराबन्दी ?
मिति २०८१ साल पुस १४ गते । स्थान महोत्तरी क्षेत्र नम्बर ३ जलेश्वर । आफ्नो पार्टी सरकारमा भएकै कारण सहकारी काण्डमा छुट पाएको आक्षेप खेप्दै आएका कांग्रेस उपसभापति धनराज गुरुङले गृहमन्त्री रमेश लेखकमाथि प्रश्न उठाए । क्षेत्रीय भेलालाई सम्बोधन गर्दै रवि लामिछानेप्रति लगाइएको सम्पत्ति शुद्धीकरण मुद्दामा प्रश्न उठाएका उनले सरकारको यो कदममा असन्तुष्टि जनाए । एक दुई जना नेतालाई सम्पत्ति शुद्धीकरण मुद्दा चलाएर सुशासन कायम नहुने बताएका उनी सो अभिव्यक्तिमा सरकारविरुद्ध प्रतिपक्षीभन्दा कडा सुनिए । केही दिनअघि काँग्रेसकै माननीय चन्द्र भण्डारीले यस्तै प्रश्न उठाएका थिए ।
रिस्क नलिने गृहमन्त्रीले पहिलोचोटीसहकारीमा कडा कदम चालेको भाष्यकाबीच आफ्नैले प्रहार गर्नु गज्जब छ । जुन लाइनमा काँग्रेस सांसद डा.सुनिल शर्मासमेत छन् । यी सबैलाई माथ खुवाउने काम त अर्का नेता डा.शेखर कोइरालाले गरिरहेका छन् । रवि प्रकरणका धेरै विषयमा सरकारविरुद्ध फरक मत राखेका उनले सरकारले आशातित काम गर्न नसकेको आरोप लगाउँदै आएका छन् । वर्तमान सरकारको काम सन्तोषजनक नरहेको बताउँदै आएका उनले राजनीतिक स्थायित्वका साथै देशमा सुशासन कायम गर्नदुई ठूला दल मिलेर सरकार बनाएपनि त्यो स्प्रिरिट अनुरुप सरकार हिँड्न नसकेको उनको भनाइ छ । अर्थात सत्ताका अघि विपक्षी लम्पसार परेको वर्तमान अवस्थामा कांग्रेसकै नेता विपक्षीको भूमिकामा प्रस्तुत भइरहेका छन् । यसरी सरकारमाथि प्रश्न उठाउनेहरु सबै कोइराला गुटका नेताहरु हुन् ।
गज्जब त के छ भने, सभापति शेरबहादुर देउवाले सही मुद्दा उठाएको भन्दै महामन्त्री गगन थापालाई स्याबासी दिएको विषय हो सहकारी काण्ड । अर्थात उनीहरु बीचको बढ्दो निकटताको एक आधार यही काण्ड बनेको थियो । जहाँ अहिले यो मुद्धाले सबैभन्दा चर्चामा रहेका पात्र समेत गगन नै रहँदा शेखर कोइराला पक्षले यसै मुद्दालाई लिएर सरकारमाथि प्रश्न गर्नुमा संयोगमात्र मान्न सकिने अवस्था छैन । जहाँ धेरै कानुन हेर्ने गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीकोसमेत साथ नपाउने गरेका गृहमन्त्री लेखकले रवि पक्राउमै पनि अलमल गरेका थिए । यसबाहेक सोझै हस्तक्षेप गर्ने ओलीको प्रवृत्तिबाट बच्नुपर्ने अर्को चुनौतीमा समेत रहेका उनी सरकारले काम गरेको देखाउने मन्त्रालयमा छन् । त्यसमा दुई तिहाइको धरातलका कारण बलियोसमेत देखिएका उनी अपजस आफू बोक्नु पर्ने फाइदा प्रधानमन्त्री र काँग्रेसले लुट्ने अवस्थाको सामना गरिरहेका छन् ।
हुन पनि असोजमा लगातारको वर्षापछि आएको विपद्को विषय होस या संविधान संशोधनको काम शुरु नभएको विषय होस्, उत्तर गृहमन्त्रीले दिनु पर्दैछ । जब कि असोजमा आएको विपदको घटनाको प्रश्नको जवाफ तत्कालीन कावा प्रधानमन्त्री प्रकाशमान सिहं र संविधान संशोधनको विषयमा ओली देउवा बोल्नुपर्ने हो ।यसले समेत लेखकमाथिको घेराबन्दी प्रष्ट हुँदा मन्त्री हेरफेरको चर्चामासमेत उनकै नाम पर्ने गरेको छ । फलतः चर्चा अगावै यो हल्ला मात्र भएको प्रष्टीकरण दिन बाध्य उनी गुटका नाममा,फरक पार्टीका नाममा र गृहमन्त्रीको कर्तव्य निभाएकै भरमा घेराबन्दी भोगिरहेक छन् । यसले गर्दा उनी दुई तिहाइको सहज सरकारमा समेत असहज परिस्थितिको सामना गर्न बाध्य बनिरहेका छन् ।।
प्रतिक्रिया